प्रविधि विनाको जीवन कल्पना पनि गर्न सकिंदैन

सूचना प्रविधिको विकासले यतिबेला विश्वलाई नै एउटा गाउँमा सिमित बनाइसकेको छ । इन्टरनेटको अहिलेको अवस्थामा हरेक क्रियाकलाप हामी मोवाइलको माध्यमबाट नै घरमै बसेर थाहा पाउन सक्छौं । सूचना प्रविधिविनाको जीवन यतिबेला कल्पना पनि गर्न सकिदैन । दिनप्रतिदिन भइरहेको सूचना प्रविधिको विकाससँगै विकृति र विसंगति पनि बढ्दै गएका छन् । तर, विकृति बढ्यो भन्दैमा त्यसलाई अंगाल्न नै छाड्ने भन्दा पनि समाधानको उपाय खोज्नुपर्ने बताउनु हुन्छ शारदा आइटी सर्भिस प्रालिका कार्यकारी निर्देशक सुरेश तण्डुकार । सूचना प्रविधिको विकास र विस्तार गर्न सके व्यक्ति, परिवार मात्र होइन देशको नै भविश्य उज्ज्वल हुने तण्डुकार बताउनु हुन्छ । शारदा आइटी सर्भिस, त्यसले गर्ने काम, नेपालमा सूचना प्रविधीको विकासलगायत विविध विषयमा कार्यकारी निर्देशक तण्डुकारसँग mynewsnepal.com का लागि कुमार भण्डारीले गरेको कुराकानी :

suresh tandukarसुरेश तण्डुकार, कार्यकारी निर्देशक – शारदा आइटी सर्भिस प्रा. लि.

० शारदा आइटी सर्भिसको स्थापना कहिले भएको हो ? – हामीले आइटी क्षेत्रमा केही नयाँ काम गर्नका लागि सन् २०१३ मा शारदा आइटी सर्भिसको स्थापना गरेका हौं । म र मेरा साथी दिपेश नकर्मी मिलेर शारदाको स्थापना गरेका हौं ।

० शारदा आइटी सर्भिसको शुरुवात कसरी गर्नुभयो ? – हामीले शारदा आइटी सर्भिसको काम सर्वप्रथम त आफ्नै घरबाट नै शुरु गरेका हौं । आफैसँग भएको ल्यापटप र इन्टरनेटको सुविधालाई नै प्रयोग गरेर काम शुरु गरेका हौं । अहिले सबैले के भन्ने गर्छन् भने व्यापार गर्न वा जुनसुकै काम गर्न पनि लगानी गर्नुपर्छ । रुपैयाँको आवश्यकता पर्छ । तर, म के भन्छु भने लगानी गर्नुचाहिं पर्छ नै तर, त्यसमा रुपैयाँलाई नै प्रमुख मान्दिन । लगानी भनेको रुपैयाँ मात्र हुदैन । आफ्नो परिश्रम र मेहनत पनि हो । कुनैपनि कामप्रति लगाव हुने हो भने आफूसँग भएको स्रोत साधनलाई पनि प्रयोग गरेर काम गर्न सकिन्छ । हामीले पनि आफैसँग भएको स्रोत साधनलाई प्रयोग गरेर शारदा आइटी सर्भिसको स्थापना गरेका हौं । यतिसम्मकी हामीले कार्यालय स्थापना गर्दा आवश्यक पर्ने सामाग्रीहरु घरबाट नै ल्याएका थियौं । म अर्कै आइटी कम्पनीमा काम गर्थे । सोही शिलशिलामा दिपेश नकर्मी सँग भेट भयो । उहाँले काम लिएर आउनु हुन्थ्यो, म घरमै बसेर काम गर्थे । त्यसरी काम गर्दै जाँदा काम पनि धेरै नै आउन थाल्यो र अब हामीले केही नयाँ गर्नुपर्छ भनेर नै शारदा आइटी सर्भिसको स्थापना गरेर काम गर्दै आइरहेका छौं । वर्तमान अवस्थाको कुरा गर्ने हो भने अहिले हामीसँग धेरै जना साथीहरु आवद्ध हुनुहुन्छ । हाम्रो भाग्य नै भन्नुपर्छ हामीले यस्ता कर्मचारीहरु पायौं जो एकदमै सहयोगी र व्यवहारीक हुनुहुन्छ । त्यसैले पनि हामीलाई काम गर्न सहज भएको छ ।

० शारदा आइटी सर्भिसले अन्य के–के काम गर्छ ? – हामीले अनलाईनबाट र अनालईनमा हुने सम्पूर्ण कामहरु गर्छौं । हामीले फेसबुक विज्ञापनको काम, वेभसाइटको डिजाइन र डेभलभमेन्ट तथा कुनै पनि कार्यालयलाई आवश्यक पर्ने वेभ एप्लिकेशन निर्माण, ग्राफिक्स डिजाइन, वेभसाइटका लागि एनिमेटेड विज्ञापनहरुको निर्माणलगायतका कामहरु गर्दै आएका छौं । त्यस सँगसँगै अहिले प्रविधिमा देखिएको सुरक्षा समस्याको समाधानका लागि पनि काम गर्दै आएका छौं । अर्को हामीले गर्ने महत्वपूर्ण काम भनेको भर्खरै मात्र हामी गुगल एप्स फर वर्कमा पार्टनर पनि भएका छौं । हामी नेपालको दोस्रो कम्पनी हौं, जसले गुगलसँग सहकार्य गरेर काम गरिरहेको छ । जसले गर्दा हामीले गुगलको आधिकारिक विक्रेता भएर गुगल एप्सको नेपालमा रिसेल गर्न पाउँछौं ।० तपाईहरुले स्वदेश र विदेशका काममध्ये कसलाई बढी प्राथमिकता दिनुहुन्छ ? – मैले अघि पनि भने यस अघि म आफै अन्य आइटी कम्पनीमा काम गर्थै । धेरै विदेशी काम पनि गरे । तर, हामीले नेपाली ग्राहकहरुलाई पनि आइटीसँग वेल फेमिलियर बनाएर काम गर्ने र यो क्षेत्रमा केही नयाँ कुरा ल्याउने मुख्य उद्देश्य लिएर नै शारदा आइटी सर्भिसको स्थापना गरेका हौं । नेपालमा पनि आइटीको विस्तार गर्नुपर्छ भनेर नै हामीले यसको स्थापना गरेका हौं । त्यसैले पनि हामीले बाहिरको कामलाई भन्दा स्वदेशी कामलाई नै बढी प्राथमिकता दिन्छौं । म के भन्छु भने हामीले गर्ने काम र अन्य आइटी कम्पनीले गर्ने काममा धेरै नै फरक छ ।० धेरै फरक छ भन्नुभयो, अन्य आइटी कम्पनी र शारदाले गर्ने काममा कस्तो भिन्नता छ त ? – हुनत नेपालमा धेरै आइटी कम्पनीहरु छन् । धेरैले नेपाली भन्दा पनि विदेशी कामलाई बढी महत्व दिइरहेको हामी सबैलाई थाहा नै छ । त्यसैले पनि उनीहरुले गर्ने काम र हामीले गर्ने काममा धेरै अन्तर छ । पहिले कुरा त हामीले नेपाली कामलाई नै बढी महत्व दिन्छौं । गा्रहकको कार्य सानो र ठूलो भनेर भिन्नता नराखी दूवैलाई उत्तिकै प्राथमिकता दिई काम गर्ने हाम्रो विशेषता हो । हामीले सबै कामलाई उत्तिकै महत्व दिन्छौं र ग्राहकले खोजे भन्दा अझै राम्रो काम गर्ने कोसिश पनि गरिरहेका हुन्छौं । हामीले गा्रहकको कार्यलाई कसरी नयाँ रुप र सोचले गर्न सकिन्छ भनेर उचित सल्लाह र सुझाब पनि दिने गरेका छौ । आइटीको बारेमा सबैले बुझ्न सक्नु भएको छैन । जस्तै : हामीकहाँ एकजना वेभसाइट निर्माण गरिदिनु प-यो भनेर कोही आउनु भयो भने सबैभन्दा पहिले हामीले उहाँलाई आइटीको बारेमा सोध्छौं । उहाँले आईटीलाई कसरी बुझ्नु भएको छ, वेभसाइटको बारेमा कत्तिको ज्ञान छ, उहाँको चाहना के हो, सुरक्षाका लागि के सोच्नु भएको छ ? त्यसपछि मात्र हामी के सल्लाह दिन्छौं भने तपाईले यस्तो वेभसाइट बनाउनु भयो भने यस्ता फाइदाहरु हुन्छन् । सुरक्षाका लागि यो उपाय अपानाउनु पर्छ भनेर सम्पूर्ण विषयमा जानकारी गराइसकेपछि मात्र बल्ल हामी काममा लाग्दछौं । अर्को, कुरा हामीले उहाँहरुलाई आइटीमा पनि लगानी गर्नुस् जसले गर्दा कार्यालयको काम सहज रुपमा गर्न सकिन्छ भनेर आग्रह गर्छौं । जसरी विज्ञापनमा लगानी गरिन्छ, त्यसरी नै आइटीमा पनि लगानी गर्ने हो भने प्रविधिसँग खेल्न सकिन्छ भने काम गर्न पनि सहज हुन्छ । यस्ता कुरामा पनि जानकारी गराएर हामीले काम गर्दै आएका छौं । अहिले के छ भने कोही ग्राहक मलाई यस्तो काम गरिदिनु प¥यो भनेर कही जान्छ भने उसले त्यही मात्र पाउँछ । तर, शारदामा त्यस्तो हुँदैन । उहाँले जे खोज्नु भएको छ, त्यसको शुरुदेखि अन्त्यसम्मको ज्ञान शारदाले प्रदान गर्दछ र भविश्यमा देखिन सक्ने समस्याको बारेमा पनि बुझाउन कोशिस गर्दछ । हामीले सेक्युरिटीलाई नै बढि प्राथमिकता दिएर त्यससँग सम्बन्धित विषयमा सुझाव दिएर काम गर्छौं ।० नेपालमा अहिले सूचना प्रविधिको अवस्था कस्तो छ ? – सूचना प्रविधिको विकासले अहिले विश्व नै गाउँमा सिमित भइसकेको अवस्था छ । हरेक कुरा अहिले हामी इन्टरनेटको माध्यमबाट मोवाइलमा नै पाउन सक्छौं । जुन आइटीको विकासले नै संभव भएको हो । आइटी क्षेत्र भनेको यति राम्रो क्षेत्र हो कि, जुन काम गर्न बाहिर जानु पर्दैन र पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने पनि छैन । घरमै बसेर पनि काम गर्न सकिन्छ । यस्तो क्षेत्रको विकास र विस्तारले व्यक्ति, परिवार मात्र होइन देशको नै भविश्य उज्ज्वल हुन्छ । यो कुरा, जापान, अमेरिका, चाइनालगायतका देशलाई हेर्ने हो भने पनि प्रमाणित हुन्छ । जहाँ आइटीको विस्तार दिनप्रतिदिन नयाँ–नयाँ कुराबाट हुदै आएको छ । नेपालमा आइटीको कुरा गर्ने हो भने विस्तारै विकास हुदै गएको छ । तर, आवश्यकता अनुसार हुन सकेको मैले पाएको छैन । आइटीमा विश्व बजार यति अगाडि बढिसकेको अवस्थामा नेपाल अझै धेरै पछाडि नै छ । अहिले हरेक कुरा अनलाईनको माध्यमबाट हुन्छन् । तर नेपालमा त्यो अवस्था अझै आएको छैन । आइटी क्षेत्रमा नीति र नियमको पनि खाँचो छ । जस्तैः हामीले सर्भर र डोमेन पर्चेज गर्नु प¥यो भने अझै पनि नेपालमा कानुनी मापदण्ड तयार भएको छैन । अहिले पनि नेपालमा नै बसेर पर्चेज गर्नु प¥यो र काम गर्नुप¥यो भने अन्य विदेशी व्यक्तिको कार्ड प्रयोग गरेर पेमेन्ट गर्नुपर्ने अवस्था छ । त्यसैले माथिल्लो स्तर जसले नीति नियम बनाउने हो, त्यस ठाउँमा आइटी सम्बन्धि ज्ञान भएको व्यक्ति पुग्ने हो भने केही राम्रो हुन्थ्यो कि भन्ने आशा चाहिं हो ।० आइटीको विकास सँगसँगै विकृति पनि बढ्दै गएका छन् नि ? – हो, आइटीको विकास सँगसँगै विकृति पनि बढ्दै गएका छन् । कुनै पनि कुराको निर्माण प्रयोग गर्नका लागि नै गरिन्छ । तर त्यसलाई गलत तरिकाले प्रयोग ग-यो भने त त्यसले दिने परिणाम पनि गलत नै हुन्छ नि । जस्तैः मुसा मार्नका लागि प्रयोग गरिने विष मानिसले खायो भने त मानिस मर्छ नी । त्यसैले जुन कुरा जे का लागि निर्माण भएको हो, त्यसमा नै प्रयोग गर्नुपर्छ । आइटीले गरेर कति कुरा सहज भएका छन् नि होइन र ? जस्तै मोवाइलको नै कुरा गर्नुस् न । जसले हामीलाई कति सहज भएको छ । विकृति बढ्दै गयो भन्दैमा आइटीलाई अँगाल्न भने छाड्नु हुँदैन । त्यस्ता विकृति तथा विसंगतिलाई हटाउने बाटो खोज्दै हामी अघि बढ्नुपर्छ र विकास र प्रविधिलाई जहिले पनि सँगसँगै लिएर जानुपर्छ । अहिले भन्ने हो भने आइटी विनाको जीवन अब हामी कल्पना पनि गर्न सक्दैनौं । अनलाईन सेक्युरेटिलाई बलियो बनाएर अघि बढ्नु नै अहिलेको आवश्यकता हो ।० भर्खर आइटी क्षेत्रमा प्रवेश गरेका र आइटी पढ्न चाहने युवा पिढींलाई के भन्नुहुन्छ ? – आफूलाई जुन कुरामा बढि इच्छा छ, त्यसलाई नै बढि महत्व दिनुपर्छ  । म उहाँहरुलाई के भन्छु भने यदि तपाईहरु आइटी क्षेत्रमा काम गर्न चाहनु हुन्छ भने प्रत्येक दिन आइटीको बारेमा अपडेट चाहिं भइरहनु पर्दछ । नयाँ प्रविधिसँग फेमिलियर हुनै पर्दछ । यदि त्यस्तो हुन सक्नु भएन भने तपाईसँग भएको एक्सपेरियन्स ले कुनै पनि काम गर्दैन । किनकी आइटीमा प्रत्येक दिन केही न केही नयाँ कुरा भइरहेका हुन्छन् नै । अहिले जुनसुकै कुरा पनि इन्टरनेटको माध्यमबाट पाउन सकिन्छ । त्यसैले आफू जान्न इच्छुक चाहिं हुनुपर्छ । आइटी भनेको अरुले सिकाउने कुरा होइन, आफैले जान्न खोज्ने कुरा हो । पहिले नै पैसालाई प्राथमिकता दिने भन्दा पनि ज्ञान कसरी बढाउने भन्ने कुरा बढि महत्व हुन्छ । यो क्षेत्रमा कमाइ राम्रो हुन्छ, तपाईहरुले सोचेभन्दा बढी नै आम्दानी हुन्छ । तर, मेहनत चाहिं अन्य क्षेत्रमा भन्दा बढी नै गर्नुपर्छ ।० यस विषयमा केही भन्नु छ कि ? – सूचना प्रविधिमा थोरै मात्रको दक्षता हासिल गर्दा कुनै पनि कार्यालयको काम धेरै सहज र सरल तरिकाले गर्न सकिन्छ । साथसाथै समय र मिहिनेत पनि कम खर्चिने हुनाले, हामी सबैलाई सूचना प्रविधिमा लगानी गर्न प्रोत्साहन गर्दछौ ।

प्रतिक्रिया

सम्बन्धित