नेपाली जनतालाई जापानको बधाई
काठमाडौं, ४ असोज । संविधानसभाबाट २०७२ असोज ३ गते नेपालको नयाँ संविधान जारी गरिएकामा जापान सरकारले त्यसको स्वागत गरेको छ । संविधानको घोषणा वास्तविक लोकतान्त्रिक मुलुकतर्फको नेपाली जनताको नयाँ कदम भन्दै जापानले एक विज्ञप्तिमार्फत नेपाली जनतालाई बधाई ज्ञापन गरेको छ ।
नयाँ संविधानकै आधारमा नेपालले आउँदा दिन राजनीतिक स्थायित्व हासिल गर्दै गरेको र लोकतन्त्र, शान्ति बहाली र आर्थिक विकासमा प्रगति गर्दै गरेको हेर्ने आशा जापान सरकारले राखेको पनि जापानी विदेशमन्त्री फुमियो किशिदाद्वारा जारी वक्तव्यमा उल्लेख छ ।
जापान–नेपाल सम्बन्धलाई थप मजबुत बनाउने र दक्षिण एसिया क्षेत्रकै स्थिरता र समृद्धिका लागि निरन्तर योगदान गर्ने चाहना पनि जापानले व्यक्त गरेको छ । साथै, जापान सरकारले एक असल मित्रका नाताले नेपालको पुनःनिर्माणलाई मूर्त रूप दिने अभियानमा सक्दो सहयोग गर्ने वचनबद्धता पनि प्रकट गरेको छ ।
प्रतिक्रिया