काठमाडौँः
पशुपति क्षेत्र विकास कोषले निर्माण गरेको नेपालकै पहिलो विद्युतीय शवदाह गृह असोज १ देखि सञ्चालनमा आउदै छ । पशुपति गौशालास्थित पिङ्गलस्थान पुल नजिक बाग्मती नदी किनारमा निर्माण भएको विद्युतीय शवदाह गृहमा दुईवटा शवदाह यन्त्र जडान गरिसकिएको छ भने अर्को यन्त्र जडानका लागि पूर्वाधार निर्माण भइसकेको छ । हाल दुईवटा विद्युतीय शवदाह यन्त्र सञ्चालन गरी पछि अर्को यन्त्र जडान गर्ने तयारी गरिएको छ । हाल दाउराबाट चितामा शवदाह गर्दा सरदर एउटा शवदाह गर्न तीन घन्टा समय लाग्ने गरेकामा विद्युतीय शवदाह गृहबाट ४५ मिनेटमै एउटा शवदाह गर्न सकिने भएको छ ।
चिताबाट शवदाह गर्दा एउटा घाटमा दैनिक आठदेखि नौवटा शवदाह गर्ने गरिएकामा विद्युतीय शवदाह गृहबाट शवदाह गर्दा एक दिनमा एउटै यन्त्रबाट २४ देखि ३० वटासम्म शवदाह गर्न सकिने छ । अहिले कम्तीमा पनि पशुपति आर्यघाटमा दैनिक ३० वटा शव आउने गरेका छन् । बढीमा ७० वटासम्म शव आर्यघाटमा ल्याइने गरिएको पाइन्छ । हाल आर्यश्वरेश्वरघाट र भष्मेश्वरघाटमा गरी १४ वटा घाट सञ्चालनमा रहेका छन् ।
वायुमण्डलीय दृष्टिले पनि विद्युतीय शवदाह गृहबाट शवदाह गर्दा प्रदूषण नहुने, मलामीको आँखा पोल्ने तथा टाउको दुख्ने समस्या नहुने र बाग्मतीमा जलाइएका दाउरालगायतका फोहर नजाने भएकाले बाग्मतीको सफाइमा पनि राम्रो हुने कोषको दाबी छ ।
साथै दाउराबाट भन्दा विद्युतीय शवदाह गृहबाट शवदाह गर्दा खर्च घट्नेछ । हाल दाउराबाट शवदाह गर्दा सरदर रु १५ हजार लाग्ने गरेकामा विद्युतीय शवदाह गृहबाट शवदाह गर्दा नौ हजारमै कार्य सम्पन्न हुनेछ ।
प्रतिक्रिया