संविधानमा धार्मिक स्वतन्त्रता राखेपुग्छ: सागर बैजु

संविधानको पहिलो मस्यौदा सार्वजनिक भएसँगै नेपाललाई हिन्दु राष्ट्र, धर्मनिरपेक्षता र धार्मिक स्वतन्त्रता के राख्ने भन्ने विवाद चुलिएको छ । मस्यौदाको सुझावमा समेत जनताहरुले यहीँ विषयमा धेरै चर्चा गरेका छन् । जनताको सुझावसँगै नेपाललाई हिन्दु राष्ट्र बनाउनु पर्छ भन्दै केहि राजनितिक दलहरुले दवावमुलक कार्यक्रम समेत आयोजना गरेका छन् । हिन्दु समुदायका संघ, संस्था र राजनितिक दलहरु नेपललाई हिन्दु राष्ट्र बनाउन दवाव दिइरहेका बेला किश्चियन समुदायहरुले पनि सार्वजनिक कार्यक्रमकै आयोजना गरेर नेपाललाई धर्मनिरपेक्षता नै राख्नु पर्ने दवाव दिएका छन् । के अब नेपालमा धार्मिक वाक् युद्ध सुरु भएको हो ? धर्ममा गरिएको राजनिति र जनताको मनस्थिति यिनै विषयमा केन्द्रित रहेर निर्मल दाहालले अनुग्रह विजय चर्चका पास्टर सागर बैजुसँग गरेको कुराकानीः

संविधानको प्रारम्भिक मस्यौदा कस्तो लाग्यो ? मस्यौदा राजनितीक पार्टीको आफ्नो मुख पत्र मात्रै समावेश गरेको दस्तावेज बनेको छ । संविधानमा विभिन्न राजनितिक पार्टीहरुले आफ्नै वादहरु समावेश गरेका छन् । संविधानमा माओबादका कुराहरु छन्, लेलिनबादका कुरा छन अझ भनौँ बि पि बादका कुरा पनि समावेश छन। यद्यपी यो संविधानमा जनताबादलाई वास्ता गरिएको छैन । अझै पनि संविधान जनतालाई पूर्ण अधिकार दिन मञ्जुर भएको छैन ।

प्रारम्भिक मस्यौदामा धर्मनिरपेक्षतानै आएको छ यद्यपी नेताहरुले यो शव्दको ठाउँमा धार्मिक स्वतन्त्रता राख्ने भनेका छन् यी दुई शव्दमा केहि अन्तर छ र ? धर्म निरपेक्षता र धार्मिक स्वतन्त्रता यी दुई शव्दमा संविधानमा जुन कुनै शव्द राखेपनि फरक पदैन यी दुवै शव्दको अर्थ एउटै हो । तर अल्पमतमा परेका धार्मिक समुदायहरुका धर्म र संस्कृतिलाई सम्मान पूर्वक हेर्न हो भने धर्मनिरपेक्षता भन्ने शव्द आवश्यक छ । दुई शव्द उस्तै उस्तै भएपनि राजनितिक दलहरु धर्मनिरपेक्ष र धार्मिक स्वतन्त्रता भन्ने शव्दमा खेलिरहेका छन् । आखिर देशको त कुनै धर्म हुदैन तर दलहरु यीनै शव्दहरुलाई प्रयोग गदै राजनितिक गरिरहेका छन् । अहिले राजनितिक दलहरुले जनता भाड्ने काम गरेका छन् । एक र अर्काप्रतिको धर्मप्रति वितृष्णा फैलाउने काम भएको छ । देशमा भएको धार्मिक सहिष्णता भङ्ग गराउने काम राजनितिक पार्टीहरुले गरेका छन् ।

झण्डै ८५ प्रतिशत रहेको नेपाललाई हिन्दु राष्ट्र नभन्दा ति जनतालाई अन्याय होलानी ? म फेरि भन्छु देशको कुनै धर्म हुदैन । यो अहिले धार्मिक विषयमा जनता भन्दा पनि मन्दिरमा चढेर राजनितिक गर्ने राजनितिक दलहरुले बढि विवाद बढाइरहेका छन् । युरोपका देशहरु नै हेर्नुहोस न ९५ प्रतिशत किश्चियन भएपनि त्यहाँका देशहरु धर्मनिरपेक्ष नै छन् । के उनिहरुलाई अन्याय भएको छ त ? २ सय वर्ष भन्दा पहिला बनेको अमेरिकाको संविधान हेर्नुहोस जिसेज क्राइष्ट भनेर लेखेको कहाँ छ ? विश्वका प्रजातान्त्रिक मुलुकहरुमा धर्मनिरपेक्ष संविधान उत्कृष्ट ठहरीएकै छन् । के ति सबै संविधानले जनतालाई अन्याय नै गरे त ? फेरि कम जनसङ्ख्या भयो भन्दैमा अन्य समूदायलाई अल्पमतमै राख्नु पर्छ भन्ने विचारलाई लोकतान्त्रिक विचार कसरी भन्ने । नेपाल लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसकेपछि राजाका सबै कुरालाई फाल्न सक्छौ तर धर्मको कुरालाई किन फाल्न सक्दैनौँ ? हामी एकल जातिय राज्यको विरोध गछौँ तर तिनै पार्टीहरु के भन्छन भने यो देश चाँही हिन्दु हुनुपर्छ । यस्तो पनि कुनै तर्क हुन सक्छ ?

तपाईले अलोकतान्त्रिक विचार भनेपनि जनता त तिनै राजनितिक दलहरुप्रति आर्कषित बनिरहेका छन त ? यो एउटा क्षणिक र आवेशमा जुटेको जनसहभागीता मात्रै हो । म दावाका साथ भन्न सक्छु जात र धर्मका नामबाट गरिएको राजनिति दिर्घकालिन हुँदैन । २०६४ सालको चुनावलाई हेर्नुहोस न राप्रपा नेपालमा अध्यक्ष कमल थापा ४ सिटमा थिए । तर यसपटक धर्मकै नाममा २६÷२७ सिट ल्याए । धर्मको नाममा राजनिति गरेर ७० सालमा आएको सिट धर्मकै नामबाट आगामी चुनावमा त्यति नै सिट ल्याउन म कमल थापालाई चुनौति दिन्छु । २०६४ सालमा माओवादीले पनि जातिय भोट पाएको थियो नि तर ७० सालमा त सकियो । धर्म र जातको राजनितिक गर्ने दलहरु यसरीनै बढारिन्छन ।

धर्म निरपेक्षतासँगै देशमा धर्म किन, बेच पनि भयो नि हैन ? धर्म कसैले कसैलाई परिवर्तन गराएर परिवर्तन हुन सक्ने कुरा होइन । धर्म कुनै चिज होइन जस्ले किन बेच गर्न सक्छ । धर्म आस्था हो । मान्छे नास्तिक बन्न हुदैन, मान्छे कम्युनिष्ट बन्नु हुँदैन । देशमा दिनानुदिन मान्छेहरु नास्तिक बन्दै गइरहेको छन । धर्ममाथी अझ भनौँ मन्दिर र चर्च माथी घोडा चढेर राजनितिक गर्ने मान्छेहरु धेरै भइसकेका छन् । तपाईले पनि किश्चियनले पैसा दिएर धर्म परिवर्तन गराए भन्न खोज्नु भएको होला तर नेपालमा कुनै पनि किश्चियन पैसा दिएर धर्म परिवर्तन गराउने हैसियत छैनन् । किश्चियनहरु पैसा बाड्छन भन्ने आरोप आरोप मात्रै हो । यदि पैसाले धर्म परिवर्तन गराउन सक्ने भए नेपालभरीका ब्रामणहरु सबैभन्दा पहिला धर्म परिवर्तन गरेर बस्थे ।

संविधानमा धर्मको विषयलाई कसरी प्रस्तुत गर्नु पर्ला ? पहिलो कुरा त राज्यले कुनै पनि धर्मलाई हस्तक्षेप गर्न भएन र प्रोत्साहान पनि गर्नुभएन । यस्तो कानुन ल्याउनु प¥र्यो जहाँ कसैले कसैको धर्मलाई अपमान गर्न पाइने छैन । कसैले लोभमा पारेर धर्म परिवर्तन गराउँछ भने त्यसलाई कानुनीरुपमै कारबाही गर्नुपर्छ । संविधानले सबै धर्मलाई सम्मान गरोस भन्ने मेरो कामना हो ।

प्रतिक्रिया

सम्बन्धित