खाना लिएर पारसलाई भेट्न नर्भिक पुगे ज्ञानेन्द्र
काठमाडौंः मुटुमा समस्या देखिएपछि नर्भिक अस्पतालमा भर्ना भएका छोरा पारसलाई भेट्न पूर्वराजा ज्ञानेन्द्र आइतबार साँझ नर्भिक अस्पताल पुगेका छन् । अचानक मुटुमा समस्या देखिएपछि नर्भिकमा भर्ना गरेर पेस मेकर राखिएका पारसलाई भेट्न ज्ञानेन्द्र खाना लिएर अस्पताल पुगेका हुन् ।
पारसको मुटुको अप्रेशन गरी नर्भिकका चिकित्सक रमेश रावतसहितले पेस मेकर राखेपछि उनी खतरामुक्त भइसकेका छन् । विरामी छोरालाई भेट्न यसअघि आइतबार दिउँसै आमा कोमल नर्भिक पुगिसकेकी थिइन् । उनी अप्रेशनपछि आराम गरिरहेका छोरालाई रुँघेर नर्भिकमै दिनभरी बसिन् ।
पत्नी हिमानी पनि कोमलसँगै पतिलाई भेट्न दिउँसै नर्भिक पुगेकी थिइन् । उनी पनि सासु कोमलसँगै पतिलाई रुँघेर दिनभर नर्भिकमै बसिन् । परिवारका सबै सदस्य नर्भिक पुगेपछि राति आठ बजे ज्ञानेन्द्र आफैं कार हाँकेर नर्भिक पुगेका हुन् । यसअघि पारस आइतबार मध्यान्ह १२ बजे छोरा हृदयन्द्रलाई साथमा लिएर आफैं कार हाँकी नर्भिक पुगेका थिए ।
नर्भिकका चिकित्सकहरुले स्वास्थ्य जाँच गरेपछि मुटुलाई सामान्य अवस्थामा चल्न दिनका लागि पेस मेकर राख्नुपर्ने जनाएपछि आजै सानो शल्यक्रिया गरी पारसको मुटुमा पेस मेकर राखिएको हो ।
तीन वर्ष थाइल्यान्डमा बसेर नेपाल फर्केका पारसलाई पूर्वराज परिवारले पहिलो पटक भेटेका हुन् । यसअघि पारससँग उनका छोराछोरीले मात्र भेट्दै आएका थिए । पूर्वराज परिवारले पारस र थाई युवतीबीचको सम्बन्धलाई लिएर शंका जनाएपछि पारसले निर्मल निवासमा समेत प्रवेश पाएका थिएनन् । यसअघि थाइल्यान्डमा बस्ने क्रममा पनि पारसलाई हृदयघात भएको थियो । हृदयघातको लामो उपचारपछि मात्रै पारस सन्चो भएका थिए । अन्नपूर्णमा समाचार छ ।
प्रतिक्रिया