डिआइजीसहित दुई हजार चार सय ६४ प्रहरी कारबाहीमा

काठमाडौँः एक वर्षमा डिआइजीसहित दुई हजार चार सय ६४ प्रहरी कारबाहीमा परेका छन् । गम्भीर किसिमको भ्रष्टाचारमा संलग्न तीन सय ७५ जनालाई सेवाबाट हटाइएको छ भने ३९ जना प्रहरीलाई गृह मन्त्रालयले बर्खास्त गरेको छ ।

आर्थिक वर्ष ०७१/७२ मा कारबाहीमा पर्ने डिआइजी गोपाल भण्डारी हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी प्रमुखमा कार्यरत रहँदा भ्रष्टाचार गरेकोमा उनी निलम्बनमा छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

एक एसएसपी पनि कारबाहीमा परेका छन् । राप्ती अञ्चल प्रहरी प्रमुख एसएसपी रमेशप्रसाद पाण्डे कारबाहीमा परेका हुन् । नेतृत्व क्षमताको अभाव र आर्थिक अनियमितता आरोपमा उनलाई नसियत दिइएको छ ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार तीन एसपी पनि कारबाहीमा परेका छन् । शेखर कोइराला, प्रदीप श्रेष्ठ र देवबहादुर बोहरालाई प्रहरी मुख्यालयले कारबाही गरेको छ । बाँकेको प्रहरी प्रमुख हुँदा एसपी कोइरालालाई अख्तियारको निर्देशनमा निलम्बन गरिएको थियो । उनको निलम्बन फुकुवा भइसकेको छ । त्यस्तै, एसपीद्वय बोहरा र श्रेष्ठलाई रेकर्डमा जनिने गरी विभागीय कारबाही गरिएको छ ।Nepal-police-logo

गत आर्थिक वर्षमा नौजना डिएसपी कारबाहीमा परेका छन् । रमेश तामाङ, योगबहादुर पाल, दिनेशकुमार आचार्य, रमेश पोखरेल, रामेश्वर यादव, सागर दुवाललगायत डिएसपी कारबाहीमा परेका हुन् । डिएसपी तामाङलाई अख्तियारले घुससहित रंगेहात पक्राउ गरेकोमा उनीविरुद्ध मुद्दा दायर भइसकेको छ । डिएसपी आचार्यलाई भने नियोजित रूपमा फसाउन खोजेको खुलेपछि निलम्बनको एक महिनापछि अख्तियारले फुकुवा गरेको थियो ।

त्यस्तै, २६ जना इन्स्पेक्टर, एक सय २९ सइ, एक सय ६३ असइ, ३ सय ७७ हवल्दार र एक हजार सात सय १७ जना जवानमाथि विभिन्न प्रकारको कारबाही भएको छ । २८ जना कार्यालय सहयोगीसमेत कारबाहीमा परेका नयाँ पत्रिकामा समाचार छ । गत आर्थिक वर्षमा तीन हजार ६६ प्रहरी पुरस्कृत भएका छन् । पुरस्कृत हुनेमा तीन एआइजी छन् । एआइजी रमेशशेखर बज्राचार्य र प्रतापसिंह थापा पुरस्कृत भएका थिए । अवकाशप्राप्त एआइजी डा रामनाथ सिंह पनि पुरस्कृत भएका थिए ।

चार डिआइजी, १३ एसएसपी, २० एसपी, ८७ डिएसपी र दुई सय ३९ जना इन्स्पेक्टर राम्रो काम गरेबापत पुरस्कृत भएका छन् । तीन सय ६९ जना सइ, चार सय २९ असइ, एक हजार एक सय ६३ हवल्दार, सात सय ३० जवान र ११ जना कार्यालय सहयोगी पनि पुरस्कृत भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित