बिजुली बाचा अपुरै,पोल गाडियो मिटर छैन

महेश गौतम,काठमाण्डौंः पर्सा जिल्ला सदरमुकाम बिरगंज देखि ६८ किलोमिटर पश्चिममा पर्ने ठोरी गाविसमा पोल गाढेको वर्षौ बितिसक्दा पनि विजुली बल्न सकेको छैन । विद्युतीय पोल,तार,ट्रान्सफर्मर लगायतका विद्युतीय समान जडान गरि तारको प्रविधिक परीक्षण समेत भईसक्दा पनि अन्तिम समयमा आएर बिरगंज वितरण केन्द्रले मिटर बक्सको अभाव देखाउँदा ठोरीमा बिजुली बल्न अझै केही समय लाग्ने भएको हो ।

बिरगंज वितरण केन्द्र प्रमुख नरेश पाण्डेले केन्द्रमा नै मीटर अभाव भएकाले भदौ भित्र मिटर आयात भई जडान प्रक्रिया अगाडि बढाइने र त्यस लगत्तै प्रसारण लाइन जोडिने जानकारी दिए । जिल्लाको विद्युत वितरणको अवस्था र वर्तमान समस्याका सन्दर्भमा बिरगंजमा आयोजित कार्यक्रममा पाण्डे सँग विद्युत कर्मचारी युनियनका केन्द्रिय अध्यक्ष राम प्रसाद रिमाल र सचिव कपिल गौतमले ठोरीको विद्युतीकरणको विषयमा चासो देखाए पछि वितरण केन्द्र प्रमुख पाण्डेले ठोरी जिल्ला कै अन्तिम गाविस भएको र भौगोलिक कारणले समेत समयमा काम गर्न नसकिएको बताएका थिए । उनले ठोरीमा भदौ भित्रै बिजुली बाल्न आफू लागि पर्ने बताएका छन ।

Bijuli

कार्यक्रममा विद्युत प्रधिकरण कर्मचारी युनियनका केन्द्रिय अध्यक्ष राम प्रसाद रिमालले लामो समय बितिसक्दा पनि ठोरीमा विद्युतीकरण कार्य पुरा हुन नसक्नु दुखद भएको बताएका थिए । सचिव कपिल गौतमले केन्द्रमा मिटर बक्स आयात गर्ने काम भइरहेको र केही मिटर आइसकेकाले परीक्षणमा रहेको भन्दै छिट्टै ठोरीका लागि मिटर पठाउन लागिपर्ने बताए । निर्मल ठोरी विद्युतीकरण अन्तर्गत ०६३/६४ मा नै भारतीय दुतावासको सहयोगमा १ करोड ८९ लाख १३ हजार रुपैयामा डेढ वर्ष भित्र काम पुरा गर्ने गरि हेटौंडाको जनमुखि कन्स्ट्रक्सनले ठेक्का पाएको थियो । त्यस पछि विजुलीको पोल गाड्ने स्थान विवादित भएको भन्दै भारतीय सीमा सुरक्षा बल एसएसबी ले अवरोध गरे पछि सुरु भएको काम समेत रोकिएको थियो । पछिल्लो समयमा विवादित स्थान भन्दा ५ सय मीटर उत्तर तर्फ परेवा भित्ता डाँडा हुँदै काम अगाडी बढाइएको थियो । जिल्ला विकास समिति को १३ लाख को आर्थिक सहयोगमा १४ ओटा फोल्डिङ्ग फलामे पोल र ५ सय मीटर इन्सुलेटेड तार उपलव्ध भए पछि तार हाल्ने र ट्रान्सफर्मर जडान गर्ने काम अगाडि बढेको थियो ।

हाल आएर मीटरका लागि सर्वसाधारणले फारम भर्न भर्न थाले पछि मीटरको बहाना देखाएर फेरी ठोरीका जनताको विजुली बाल्ने चाहनालाई पछाडी धकेल्न खोजिएको विद्युत उपभोक्ता समितिका अध्यक्ष हरि प्रसाद खनालले जानकारी दिए । उनले अब पनि जनतालाई झुक्याउन प्राधिकरण लागि रहे ठोरीका जनता प्राधिकरणका विरुद्व उत्रन बाध्य हुने बताए ।

प्रतिक्रिया

सम्बन्धित