काठमाडौँः
संयुक्त राष्ट्रसङ्घीय महासचिव बान कि मुनले टर्कीमा सोमबार बिहान भएको भीषण आतङ्ककारी आक्रमणको निन्दा गर्नुभएको छ । आक्रमणमा परी कम्तीमा २८ व्यक्तिको मृत्यु हुनुको साथै १०० जना भन्दा बढी व्यक्ति घाइते भएका थिए । सर्वसाधारण नागरिकलाई लक्ष्यगरी गरिएको यस आक्रमण अत्यन्तै निन्दनीय भएको भन्दै यस्तो मानवताविरुद्धको अपराधको जतिसुकै निन्दा गरेपनि नपुग्ने बताउनुभएको बानका प्रवक्ताद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।
स्थानीय समयअनुसार सोमबार दिउँसो करिब १२ बजे सिरिया र टर्कीको सिमानामा अवस्थित सुरुक सहरको आमारा सांस्कृतिक पार्कमा उक्त आत्मघाती आक्रमण भएको जनाइएको छ । यो सहर कुर्दिसहरुको बलियो प्रभाव रहेको सहरको रुपमा चिनिन्छ । यहाँ टर्कीको सैनिकले पनि समय समयमा सैन्य कारबाही गर्ने गरेको थियो । महासचिव बानले यस्तो जघन्य अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न पनि सम्बद्ध पक्षसँग आग्रह गर्नुभएको छ ।
प्रतिक्रिया