भरतपुरलाई यौन पर्यटनको हब बन्न दिंदैनौं

पार्वती शाह, उपमेयर – भरतपुर महानगरपालिका भरतपुर महानगरपालिकामा मेयर र उपमेयर दुबै महिला नेतृ छन् । मेयरमा माओवादी केन्द्रकी नेतृ रेणु दाहाल छिन् भने उपमेयरमा नेपाली कांग्रेसकी नेतृ पार्वती शाह छिन् । स्थानीय तहको निर्वाचनमा यी दुबै महिला नेतृहरूले एमालेका उम्मेदवारहरूलाई पराजित गरेर जित निकालेका हुन् । मेयर र उपमेयरबीच बेलाबेला ठाकठुक पर्ने गरेको सुन्ने गरिएको छ । भरतपुर महानगरपालिकाको अहिलेको अवस्था, विकास र भावि योजनालगायतका विविध विषयमा उपमेयर शाहसँग mynewsnepal.comका लागि गरिएकाे कुराकानी :

० तपाईको विकास योजनाहरू के–के छन् ? – हामी भरखरै निर्वाचित भएर आएका छौं । प्रदेश र प्रतिनिधि सभाको निर्वाचनले गर्दा काम गर्न सकिएन । सोचेअनुसार विकासले गति लिन सकेन । हामीले भरतपुर महानगरपालिकामा विभिन्न तीन चरणका योजनाहरू बनाएका छौं । अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गरेर तीन चरणमा विकासका कार्यक्रमहरू अगाडि बढ्ने छन् । विकासका कार्यक्रमलाई अनुमोदन गराउन नगर सभाको तयारी भइरहेको छ । अहिले त्यसमा केन्द्रित छौं । त्यसपछि विकासका कार्यक्रमहरू अगाडि बढ्छन् ।

० तपाईले विकासका योजनाहरूमा कुन विषयलाई प्राथमिकता दिनु भएको छ ? – आधारभूत सबै विषयले प्राथमिकता पाएका छन् । विशेष गरेर भरतपुर महानगरपालिकाभित्रको फोहरलाई व्यवस्थित बनाउने, ढलको उचित व्यवस्थापन गर्ने कुराहरू अग्रभागमा छन् । कच्ची सडकमा ग्राभेल, ग्राभेल भइसकेका बाटोमा पिच गर्ने, सडक बत्ती राख्ने, खानेपानीको व्यवस्थापन गर्ने, आयमुलक रोजगारी, शिक्षा र स्वास्थ्य जस्ता विषयलाई मैले आफ्ना कार्यसूची बनाएको छ । यी विषयहरू साधारण देखिए पनि कार्यान्वयनमा चुनौती र कठिन छन् । तर, मैले स्थानीय जनताको साथ र समर्थन लिएर यी योजनाहरू पूरा गर्नेछु ।

० भरतपुर महानगरपालिकाभित्रको यातायात अस्तव्यस्त छ भन्ने गुनासाहरू पनि छन् नि ? – चितवन जिल्ला भएरै राजधानी जाने र आउने तथा अन्य जिल्लाहरू जाने मुख्यद्वार भरतपुर महानगरपालिका भित्र पर्छ । यस्तो अवस्थामा यातायातको चाप बढ्नु स्वभाविक हो । अहिलेसम्म यातायात व्यवस्थालाई सरोकारवाला निकायले साधन र स्रोतले भ्यासम्म काम गर्नुभएको छ । अबका दिनमा यो समस्यालाई महानगरले पनि आफ्नो समस्याका रुपमा लिएको छ । सबै निकायसँगको सहकार्य गरेर यातायात व्यवस्थालाई सहज बनाइनेछ । ट्राफिक व्यवस्था नियमन हुनेछ ।

० भरतपुर महानगरपालिकाका धेरै ठाउँमा सडकहरू कच्ची र भत्किएका रहेछन् है ? – हो, धेरै सडकहरूको स्तरउन्नती आवश्यक छ । पिच गर्नुपर्ने अवस्था छ । स्थानीयहरूको माग पनि सडकको स्तरउन्नती गर्नु रहेको छ । हामी जनप्रतिनिधिहरू भरखर निर्वाचित भएर आएका छौं । जनताका मागलाई सम्बोधन गर्ने छौं । ती सडकहरू मर्मत सम्भार हुनेछन् । जनताको गुनासालाई ढिलो चाँढो पूरा गरिनेछ । साधन स्रोतले भ्याएसम्म काम हुनेछ ।

० भतरपुर महानगरपालिकाले न्याय सम्पादनमा कसरी काम गरेको छ ? – ऐनले नै उपमेयर न्यायपालिकाको संयोजक रहने व्यवस्था गरेको छ । भरतपुर महानगरपालिकामा मैले नै न्याय सम्पादन हेर्ने गरेको छु । उपमेयर हुनु अगाडि पनि राजनीतिमा सक्रिय थिएँ । अहिले त झन् जनप्रतिनिधिका रुपमा जिम्मेवारी लिएर बसेको छु । मेरो टेबुलमा न्याय माग गरेर धेरै फाइलहरू आएका छन् । मेरो टेबुलमा न्याय माग गरेर फाइल आउनु अगाडि वडा कार्यालय र मेलमिलाप समितिमा जाने गरेको छ । सकेसम्म समितिमा मिल्नका लागि सल्लाह र सुझाव दिन्छौं । त्यहाँ सहमति हनु सकेन भने मात्रै मैले मुद्दा हेर्ने हो । महानगरपालिकामा पनि कुरा मिल्न सकेन भने हामीले न्यायका लागि अदालतमा जान सल्लाह दिने गरेका छौं । सकेसम्म महानगरपालिकाभित्रै न्यायसम्पादन हुने गरेको छ ।

० मेयर रेणु दाहालसँग तपाईको किन विवाद भएको हो ? – त्यस्तो विवाद केही होइन । हामी दुबैजना महिला हौं । हामीबीच व्यक्तिगत विवाद छैन र हुँदैन । विकासका कार्यक्रम र योजनाहरूलाई लिएर हुने गरेको छ । सबैसँग सल्लाह गरेर कार्यक्रमहरू गर्नुपर्छ भन्ने मान्यता मेरो छ । आगो बाल्न पनि अगुल्टो ठोस्नु पर्छ । हामी दुबैजना मेयर हाक्ने महिला छौं । महिला भएर उदाहरणीय काम गर्नुपर्छ । मेयरले एकलौटी विसकाका कार्यक्रम बनाउनु भएन भन्ने मात्रै हो ।

० पछिल्लो समय भरतपुर महानगरपालिकामा यौन व्यवसाय फस्टाएको आरोप छ नि ? – यो गुनासो र आरोपमा सत्यता छ । हामीसम्म पनि यो गुनासोहरू आइरहेको छ । भरतपुर महानगरपालिका ट्राञ्जिट भएकालेले यहाँ व्यवसाय गर्न अनेक व्यक्ति आएका छन् । त्योसँगै यौन व्यवसाय मौलाएको हुन सक्छ । तर, जसरी यौन व्यवसायको आरोप लागेको छ, त्यो सत्य होइन । यसलाई नियन्त्रण गर्न हामीले प्रहरी प्रशासनलाई दवाव दिइरहेका छौं । शान्ति सुरक्षा बनाउने प्रहरीले पनि यसलाई विशेष ध्यान दिनुपर्छ ।

० यौन व्यवसायलाई रोक्ने कुनै योजना बनाउनु भएको छैन ? – यसलाई नियन्त्रण गर्ने पक्षमा हामी छौं । प्रहरी, होटेल व्यवसायी, दोहोरी, व्यापारी जनप्रतिनिधि सबै मिलेर यसलाई नियन्त्रण गर्न लागेका छौं । भरखरै मात्र पनि सरोकारवाला निकायसँग यस विषयमा छलफल र सल्लाह भएको छ । हिजोका दिनभन्दा पछिल्लो समय यौन व्यवसाय धेरै हदसम्म नियन्त्रण हुँदै आएको छ । भरतपुरलाई यौन व्यवसायको हब बन्न दिँदैनौं । नियन्त्रण गर्छौं ।

० प्रसंग बदलौं, चितवनमा नेपाली कांग्रेसको संगठन भताभुंग भयो है ? – चितवनको मात्रै होइन समग्र देशभरि कांग्रेस केही कमजोर देखिएको छ । कांग्रेसमा देशभरि नै केही समस्या देखिएको हो । चितवनमा पनि केही समस्या देखिएको हो । तर, तपाईले भने जस्तो संगठन भताभुंग भएको होइन । केही कमिकमजोरी पक्कै भएको छ । पाठ सिकेर अब नयाँ ढंगले नेपाली कांग्रेसले चितवनमा संगठन गर्नेछ । माओवादीसँग मिलेर स्थानीय तहको निर्वाचन लडेको कुरालाई तपाईले जोड दिनुभएको जस्तो लाग्यो । माओवादीसँग मिल्नु मात्रै समस्या होइन । त्यो क्षतिलाई अब कसरी परिपूर्ति गर्ने हो त्यसमा हामी केन्द्रित भइसकेका छौं ।

० भरतपुर महानगरपालिकाभित्र रहेको पारस बसपार्क नियमित हुन सकेको देखिएन भनेर गुनासाहरू छन् नि ? – त्यसबारेमा हामीले आन्तरिक गृहकार्य सुरु गरेका छौं । भरतपुर महानगरपालिकाको बीचमा बसपार्क रहेकाले केही कठिनाइ भएका छन् । तैपनि व्यवसायी र यात्रुलाई कठिनाइ नहोस् भनेर सरोकारवाला निकायले सक्दो सुविधा दिने काम गरिरहेका छन् । तैपनि यो विषयमा पनि हाम्रो ध्यान केन्द्रित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित