यसरी आयोजना हुँदै छ दाता सम्मेलन

काठमाडौँः भूकम्पपछिको पुनःनिर्माण, पुनःस्थापना तथा नवनिर्माणका निम्ति बाह्य सहायता जुटाउन बिहिबार देखि आयोजना हुने ‘नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलनको तयारी पुरा भएको छ । सम्मेलनमा सहभागी हुन केहि देशका प्रतिनिधीहरु नेपाल आईसकेका छन् । यस्तै सम्मेलनमा आउने अधिकांश सहभागीको टुङ्गो लागेको छ ।

सम्मेलनमा चीन र भारतका विदेश मामिला मन्त्रीहरु क्रमशः वाङ वी र सुष्मा स्वराज सहभागी हुने निश्चित भएको छ । यसैगरि बङ्गलादेशका अर्थमन्त्री अबुल माल अब्दुल महिथ र नर्वेका अन्तर्राष्ट्रिय विकास मन्त्री हेक्की होलाम्स सहभागी हुने निश्चित भएको छ ।

त्यसैगरी, एसियाली विकास बैंकका अध्यक्ष, विश्व बैंकका उपाध्यक्ष र जापानका राज्यमन्त्रीले सम्मेलनमा भाग लिने जनाइएको छ । त्यस्तै, युरोपेली सङ्घबाट उच्च अधिकारीले सम्मेलनमा सहभागिता जनाउनेछन् । सरकारले निमन्त्रणा पठाएका द्विपक्षीय दातृ निकाय तथा मुलुकहरु अस्ट्रेलिया, अस्ट्रिया, बङ्गलादेश, बेल्जियम, भुटान, ब्राजिल, चीन, डेनमार्क, संयुक्त अधिराज्य, फिनल्यान्ड, फ्रान्स, जर्मनी, इजरायल, जापान, नर्वे, विकासका लागि साउदी कोष, श्रीलङ्का, स्विडेन, स्विट्जरल्यान्ड, थाइल्यान्ड, नेदरल्यान्ड, संयुक्त राज्य अमेरिका, पोल्यान्ड, भारत, न्युजिल्यान्डले आजसम्म आफ्नो सहभागी हुने निश्चित गरिसकेका छन् ।

युरोपेली सङ्घ, अन्तर्राष्ट्रिय मुद्रा कोष , अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन, राष्ट्र सङ्घीय महिला सङ्गठन , राष्ट्र सङ्घीय विकास कोष , राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन , राष्ट्र सङ्घीय जनसङ्ख्या कोष, शरणार्थीका राष्ट्र सङ्घीय उच्चायोग, राष्ट्र सङ्घीय बाल कोष, संयुक्त राष्ट्र सङ्घ, संयुक्त राष्ट्र सङ्घ बसोबास केन्द्र, विश्व स्वास्थ्य सङ्गठन, विश्व बैंक, एसियाली विकास बैंक, विश्व खाद्य सङ्गठन लगायत बहुपक्षीय निकायले सम्मेलनमा सहभागी हुने प्रतिनिधिको टुङ्गो लगाइसकेका छन् ।

सम्मेलनमा प्रधानमन्त्री सुशील कोइरालाले मन्तव्यसहित उद्घाटन गर्नुभएपछि सहभागीहरुलाई भूकम्प अघि र पछिको नेपालका प्रमुख गन्तव्यस्थलको दृश्य समेटिएको वृत्तचित्र देखाइनेछ । सम्मेलनको उद्घाटनभन्दा कार्यसत्रलाई जोड दिइने र नेपालको तर्फबाट प्रस्ताव गरिने कार्ययोजना प्रस्तुत गर्दै दाताको सुझाव लिने प्रयास गरिनेछ ।

भूकम्पबाट मुलुकका प्रमुख पर्यटकीय गन्तव्य र त्यसका भौतिक पूर्वाधार सुरक्षित रहेका सन्देश प्रवाह गर्नु पनि सम्मेलनको अर्को उद्देश्य हो । सम्मेलनका सहभागीलाई भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक संरचना, विश्वसम्पदा सूचीमा सूचीकृत मठमन्दिर, दरबार र प्रभावित केही जिल्लाको स्थलगत अवलोकन गराइने अर्थ मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित