भलिबल संघलाई एफएनसिसिआईको १ करोड २० लाख

काठमाडौं । नेपाल भलिबल संघ (एनभिए) र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) बीच महिला र पुरुषको राष्ट्रिय प्रतियोगिता गर्ने सम्झौता भएको छ। भलिबललाई विकास गर्ने उद्देश्य राखेर सम्झौता गरिएको एफएनसिसिआईले जनाएको छ ।

आइतबार एफएनसिसिआई र एनभिएबीच ३ वर्षको लागि वार्षिक १ करोड २० लाखको सम्झौता भएको हो। सम्झौतापत्रमा एनभिएका तर्फबाट अध्यक्ष मनोरन्जन रमण शर्मा र एफएनसिसिआईको तर्फबाट उपाध्यक्ष उमेशलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि एनभिएका अध्यक्ष मनोरन्ज रमण शर्माले भलिबल राष्ट्रिय खेल घोषणा भएपछि प्रायोजकहरु बढिरहेको र यसले प्रेरणा मिल्ने बताए। नेपालको भलिबल इतिहासमा यो अहिलेसम्मकै सर्वाधिक रकमको प्रायोजन हो। यसअघि एनभिएले नेपाल स्याटलाइट कम्युनिकेशनसँग २ वर्षको लागि ४० लाखको सम्झौता गरेको थियो।

सम्झौतासँगै नेपाल भलिबल संघको आयोजना तथा एफएनसिसिआईको प्रायोजनमा आगामी चैतमा एफएनसिसिआई कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको समेत घोषणा भएको छ। उक्त प्रतियोगिता चैत २० देखि २७ गतेसम्म सञ्चालन हुने र त्यसमा नेपालका सात प्रदेशको एक एक टिमले प्रतिस्पर्धा गर्ने एनभिएका महासचिव जितेन्द्र बहादुर चन्दले जानकारी दिए। माघ २० देखि फागुन १० सम्म गाउँपालिका, नगर उपमहानगर महानगरपालिका सम्मिलित जिल्ला छनोट प्रतियोगिता गर्ने र त्यसपछि फागुन १० देखि चैत १० सम्म प्रदेश छनोट स्तरिय प्रतियोगिता गर्ने त्यसबाट प्रत्येक प्रदेशको एक(एक महिला र पुरुष टिम चयन गरिने र राष्ट्रिय स्तरको प्रतियोगिता गरिने चन्दले बताए।

उक्त प्रतियोगिताको लागि एफएनसिसिआईबाट रविन श्रेष्ठ संयोजक रहनेछन् भने एनभिएका महासचिव चन्द सह संयोजक रहनेछन्।
यसैबीच एफएनसिसिआईका अध्यक्ष भवानी राणाले आर्थिक विकाससँगै सामाजिक रुपान्तरणमा समेत एफएनसिसिआईको महत्वपूर्ण भूमिका रहेको बताउँदै भलिबलमार्फत नायँ कार्यको थालनी भएको बताएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित