समाज सेवामा एक्सपर्ट फाउण्डेसन भूमिका महत्वपूर्ण छ

नेपाली बिद्यार्थीहरुलाई उच्च शिक्षाका लागि विदेशमा पठाउँदै आएका शैक्षिक परामर्श दातृ संस्थाहरुले निभाएको भूमिका सह्राहनिय छ । ति परामर्श दातृ संस्थाहरुकै कारण विद्यार्थीहरुले विना कुनै झण्झट विदेशमा अध्ययन गर्न जान पाइरहेका छन् । संस्थाहरुले हजारौंको संख्यामा रोजगारी प्रदान गरिरहेका छन् भने अर्थोपार्जन पनि राम्रै गरिरहेका छन् । तर, छोटो समयमा धेरै कमाउन खोज्नेहरुका कारण भने यो क्षेत्र विवादित पनि बनेको छ । जसले जति आम्दानी गरे पनि सबैले आ–आफ्नै लागि खर्च गर्ने हो । तर, यसबीचमा एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज जस्तो परामर्श दातृ संस्था पनि छ, जसले सामाजिक सेवा पनि गर्दै आएको छ । एक्सपर्टले एजुकेशनले ‘एक्सपर्ट फाउण्डेसन’ नामको अर्को संस्था स्थापना गरेर सामाजिक सेवा गर्दै आएको छ । स्थापना भएको एक वर्ष पनि नपुगेको फाउण्डेसनले हालसम्म १७ लाख भन्दा बढि रकम सामाजिक सेवामा खर्च गरिसकेको छ । भर्खरै प्रथम अधिवेशन गरेको फाउण्डेसनको स्थापना, उद्देश्य, आर्थिक स्रोत तथा उसले गरेको सामाजिक कार्य र सहयोगलगायतका विषयमा mynewsnepal.comका लागि फाउण्डेसनका अध्यक्ष देवीप्रसाद लम्सालसँग कुमार भण्डारीले गरेको कुराकानी :

देवीप्रसाद लम्साल, अध्यक्ष – एक्सपर्ट फाउण्डेसन

० एक्सपर्ट फाउण्डेसन कस्तो संस्था हो ? – एक्सपर्ट फाउण्डेसन विल्कुलै सामाजिक सेवा गर्नका लागि स्थापना भएको संस्था हो । यसले प्राकृतिक प्रकोप तथा विभिन्न खालका समस्यामा परेकाहरुलाई सहयोग गर्दै आएको छ ।

० यसको स्थापना कहिले भएको हो ? – एक्सपर्ट औपचारिक रुपमा २०७३ साल चैत्र ३१ बाट सञ्चालनमा आएको हो । तर, हामीले त्यस अघि देखि नै एक्सपर्टको नाममा सामाजिक कार्य भने गर्दै आइरहेका थियौं । हामीले २०७२ सालको महाभूकम्पमा परेकाहरुलाई आर्थिक सहयोग गरेका थियौं ।

० एक्सपर्ट फाउण्डेसन स्थापनाको मुख्य उद्देश्य के हो ? – हामीले सामाजिक सेवा गर्नका लागि नै एक्सपर्टको स्थापना गरेका हौं । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजमा आवद्ध सम्पूर्ण कर्मचारी मिलेर एक्सपर्ट फाउण्डेसको स्थापना भएको हो । उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई शैक्षिक परामर्श, तयारी कक्षा सञ्चालनदेखि डकुमेन्टेसनको काम गर्दै आएको एक्सपर्ट एजुकेशनका लगानीकर्ता र सम्पूर्ण कर्मचारीहरु मिलेर सामिाजक सेवा सँगसँगै पिछडिएका र विपन्न वर्गलाई सेवा गर्ने उद्देश्यले एक्सपर्ट फाउण्डेसनको स्थापना गरिएको हो ।

० तपाईहरुले आर्थिक स्रोत कसरी जुटाउनु भएको छ त ? – हामीले एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजका कर्मचारीहरुबाट नै आर्थिक स्रोत जुटाउँदै आएका छौं । आफूले कमाएका रकमको केही अंश सामाजिक सेवामा खर्च गर्नका लागि हाम्रा कर्मचारीहरु पनि राजी नै हुनुहुन्छ । एक्सपर्ट एजुकेशनको अष्ट्रेलिया, नेपाल, भारत र बंगलादेशमा गरेर १७ स्थानमा शाखा कार्यालयहरु रहेका छन् । ति १७ शाखामा सञ्चालक र कर्मचारी गरेर तीन सय भन्दा बढि कर्मचारीहरु आवद्ध छन् । तिनै तीन सय जना कर्मचारीबाट नै हामीले आर्थ संकलन गरेर सामाजिक सेवा गर्दै आएका छौं । अर्को हामीले एक्सपट एजुकेशनका प्रत्येक शाखाहरुबाट उच्च शिक्षाका लागि विद्यार्थीहरुलाई अष्ट्रेलिया पठाएबापत प्रत्येक एक विद्यार्थी बराबर एक हजार रुपैयाँ फाउण्डेसनमा जम्मा गर्ने गरेका छौं । त्यसैगरी हामीले सदस्यताबाट पनि आर्थिक संकलन गरिरहेका छौं ।

० एक्सपर्ट बाहेक अन्य कतैबाट पनि आर्थिक संकलन गर्नु भएको छ कि ? – हामीले एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजमा आवद्ध कर्मचारी बाहेक अन्य कहि कतैबाट पनि आर्थिक संकलन गरेका छैनौं र गर्दैनौं पनि । हाम्रो चाहना भनेको आफूले कमाएको रकमको केही अंश सामाजिक सेवामा खर्च गर्ने भन्ने नै भएको हुँदा सकेसम्म आफ्नै स्रोतबाट उठेको रकमलाई नै सामाजिक कार्यमा लगाईरहेका छौं ।

० संस्थाको सदस्यता चांहि कसरी वितरण गर्नु भएको छ नि ? – हामीले तीन किसिमका सदस्यहरु बनाएका छौं । हामीले संरक्षक सदस्य, आजीवन सदस्य र साधरण सदस्य भनेर छुट्याएका छौं । पाँच लाख रुपैयाँ प्रदान गर्नेलाई हामीले संरक्षक सदस्य बनाएका छौं । जसमा सञ्जिव शर्मा र बद्रि अर्याल सरले सदस्यता लिनु भएको छ । त्यसैगरी ५१ हजार सहयोग गर्नेलाई हामीले आजीवन सदस्य बनाउँछौं । जुन वर्तमान कार्य समितिले लिने भएको छ । बाँकी सम्पूर्ण कर्मचारीहरुलाई भने हामीले साधरण सदस्यता प्रदान गरिरहेका छौं ।

० फाउण्डेसनले अहिलेसम्म कुन–कुन स्थानमा कति सहयोग ग-यो त ? – औपचारिक रुपमा दर्ता भई सञ्चालनमा आएपछि हामीले यसै वर्ष आएको बाढिबाट पीडित बनेकाहरुलाई हाम्रो विभिन्न शाखाको माध्यमबाट पाँच लाख ७५ हजार सयोग गरेका छौं । जसमा इटहरी शाखाबाट एक लाख, विर्तामोडबाट एक लाख ५० हजार, चितवनबाट एक लाख, दाङबाट एक लाख र धनगढिबाट एक लाख २५ हजार सहयोग गरियो । त्यसअघि नै हामीले २०७२ सालको महाभूकम्पमा परेको सिन्धुपाल्चोकको सेला माविलाई १० लाख रुपैयाँ, महाविर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई एक लाख रुपैयाँ प्रदान गरिएको थियो । त्यसैगरी पूर्व मिस नेपाल अश्मि श्रेष्ठद्धारा सञ्चालित ट्रस्टलाई पनि एक लाख प्रदान गरिएको थियो ।

० तपाईहरुले कुन क्षेत्रमा कसरी सहयोग गर्नुहुन्छ त ? – हामीले जति पनि रकम जम्मा गर्छौं, त्यसको ५० प्रतिशत केन्द्रिकृत योजनामा सहयोग गर्ने र बाँकी ५० प्रतिशत रकम शाखा कार्यालयको माध्यामबाट सामाजिक कार्यहरुमा सहयोग गर्ने निर्णय गरेका छौं । अहिले नै हामीले सहयोग कहाँ गर्ने भनेर क्षेत्र तोकेका छैनौ । प्राकृतिक विपत परेमा हामीले त्यसैबेला निर्णय गरेर सहयोग गर्छौं भने शाखा कार्यालयहरुबाट कुन ठाउँमा सहयोग गर्दा उपयुक्त हुन्छ भन्ने निक्र्यौल गरेर योजना तयार गरिन्छ र सहयोग पनि गर्ने निर्णय गरेका छौं । केन्द्रिकृत सहयोग गर्न चाँहि सबैलाई सहयोग हुने तरिकाले कार्यसमितिले निर्णय गर्नेछ ।

० फाउण्डेसनको प्रथम साधरणसभाले के–के निर्णय ग-यो त ? – साधरणसभाले गत वर्ष सहयोग गरिएको रकमलाई अनुमोदन गर्दै आगामी वर्षको कार्ययोजना तयार गरेको छ । हामीले यसै वर्ष सम्पूर्ण कर्मचारीहरुलाई साधरण सदस्यता पनि वितरण गर्ने लक्ष्य लिएका छौं । हामीले जति पनि रकम जम्मा गर्छौं, त्यसको ५० प्रतिशत केन्द्रिकृत योजनामा सहयोग गर्ने र बाँकी ५० प्रतिशत रकम शाखा कार्यालयको माध्यामबाट सामाजिक कार्यहरुमा सहयोग गर्ने निर्णय गरेका छौं ।

० फाउण्डेसनको नयाँ कार्यसमितिमा को–को रहनु भएको छ ? – हामीले सात जनाको कार्यसमिति तयार गरेर संस्था स्थापना गरेका थियाौं । तर, प्रथम अधिवेशनबाट भने नौ जनाको कार्य समिति बनाएका छौं । मेरो अध्यक्षतामा बनेको कार्य समितिको उपाध्यक्षमा रोशन कँडेल, सचिवमा डिल्लीराम अधिकारी, कोषाध्यक्षमा कल्पना अधिकारी, सहसचिवमा सुजन पाठक रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा जयराम अर्याल, रमेश थापा, कृष्ण खतिवडा र सञ्जु बस्नेत रहनु भएको छ ।

० एक्सपर्ट फाउण्डेसनको अध्यक्षको हैसियतले एक्सपर्ट एजुकेशनमा कार्यरत कर्मचारीहरुलाई के भन्नुहुन्छ ? – म एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजका अष्ट्रेलिया, नेपाल, भारत र बंगलादेशमा रहेका शाखाहरुमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई दिल खोलेर सामाजिक कार्यमा सहयोग गर्न आग्रह गर्दछु । सामाज सेवाको उद्देश्यले हामीले फाउण्डेसनको स्थापना गरेका हौं । त्यसैले हामीले छुट्याएको सदस्यहरुमध्ये एक सदस्यता लिएर सक्दो सहयोग गर्न आग्रह गर्दछु । हामीले तपाईहरुबाट संकलन गरेको रकम कुनै पनि स्थानमा फजुल खर्चमा प्रयोग नगरि सम्पूर्ण रकम सामाजिक सेवामा खर्च गरिने हुँदा सहयोगको लागि अपिल गर्दछु ।

प्रतिक्रिया

सम्बन्धित