सन्दिपलाई सानिमाको साथ, ९ लाख ६० हजार दिने घोषणा
काठमाडौं । नेपाल विश्वकप छनोट क्रिकेटमा पुगेपछि नेपाली क्रिकेटरहरुको व्यावसायिक महत्त्व माथि उठेको छ । त्यसमा पनि सन्दीप लामिछाने छुटाउनै नहुने नाम हो । इन्डियन प्रिमियर लिग (आईपीएल) दिल्ली डेयरडेभिल्समा परेपछि सन्दीपको उचाइले त झन सगरमाथा नै चुमेको छ भन्दा फरक नपर्ला ।
त्यसैले पनि सानिमा बैंकले सन्दिपसँगको प्रायोजन सम्झौतामा दोब्बर वृद्धि गरेको छ । सन् २०१६ को फेब्रुअरीमा बंगलादेशमा सम्पन्न आईसीसी यू–१९ विश्वकप खेलेर आएपछि क्रिकेट खेलाडी संघ नेपाल (सीप्यान) मार्फत सन्दीपसँग सानिमाले प्रतिमहिना २० हजार दिने गरी सम्झौता गरेको थियो ।
तर, सानिमाले अहिले त्यसलाई दोब्बर बनाएको छ । दुईवर्षे नयाँ सम्झौतापछि सन्दीपले त्यसवापत् ९ लाख ६० हजार पाउने छन् । विहिबार आयोजित सम्झौता कार्यक्रममा बोल्दै सानिमाका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहालले भने–‘हाम्रोमा अभिभावकले सहयोग गरेसम्म मात्र खेल्ने वातावरण छ । तर, सन्दीपको ध्यान पूर्ण रूपमा खेलमा जाओस् र राम्रो खेल्ने वातावरण होस् भनेर हामी जोडिएका थियौं, अहिले पनि हाम्रो भनाइ त्यही नै हो ।’
दुई वर्षअघि सानिमाको सम्झौताले आफू उत्साही भएको बताउँदै सन्दीपले यो सहयोग आफ्नो मनमा रहिरहने बताए । सन्दीपसहित राष्ट्रिय टोलीका कप्तान पारस खड्कालाई सानिमा सदभावदूत मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले मायाको चिनो प्रदान गरे ।
प्रतिक्रिया