युद्धविराममा सहमति नहुँदा सिरिया झन समस्यामा

काठमाडौं । सिरियामा केही दिनदेखि जारी संघर्ष रोक्ने संयुक्त राष्ट्र संघको प्रयास असफल भएको छ । युद्धविरामको प्रयास स्वरुप बिहीवार बसेको सुरक्षा परिषदको बैठक विना निस्कर्ष सकिएपछि समस्या झन बढ्ने संकेत देखिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बैठकमा सिरियामा चलिरहेको संघर्ष रोक्नका लागि ३० दिनको युद्धविराम सम्बन्धी प्रस्तावबारे छलफल भएको थियो । तर, रुसको कारण यो प्रस्ताव पास हुन सकेन । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद सीरियामा मानवतावादी युद्धविरामका लागि राजी नभएको रुसको भनाई छ । स्वीडेन र कुवेतले युद्धविराम सम्वन्धी प्रस्ताव राखे पनि रुसले त्यसमा संसोधन राखेको थियो।

संयुक्त राष्ट्रमा रुसका प्रतिनिधि वेस्ली नेबेनज्याले रुसले यस प्रस्तावको ग्यारेन्टी चाहेको भन्दै पेश गरिएको प्रस्ताव ग्यारेन्टीको आधार नभएको बताए ।

यसैबीच, सीरियाका विद्रोहीहरुलाई दबाउन रुसले सरकारलाई साथ दिएको छ । रुस समर्थित सीरियाका सेनाले हालै गुटा क्षेत्रमा रकेट तथा हवाई आक्रमण गर्दा ४ सय बढीको ज्यान गइसकेको छ । मारिनेमा बालिबालिका र सर्वसाधारण धेरै छन् । पश्चिमी मुलुकका प्रतिनिधिले रुसको यो रबैयाको विरोध गरेका छन् ।

सिरियाली सरकार एवं विद्रोहीको कब्जा भएको क्षेत्रमा पछिल्लो पाँच दिन देखि लगातार बमबारी भइरहेको छ । यो घटनामा ४०० भन्दा बढीको मृत्यु भइसकेको र लगभग ३ लाख ९३ हजार मान्छे फसेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

पूर्वी क्षेत्रमा प्रभावितहरुका लागि सहयोग गरिरहेका एजेन्सीहरुले यस क्षेत्रको हालत खराब रहेको प्रतिक्रिया दिएका छन् । सहयोगी एजेन्सी आईसीआरसीका प्रवक्ताका अनुसार युद्धग्रस्त क्षेत्रको हालत अत्यन्त नाजुक छ ।

सिरियाली सेनाले भने यो रिपोर्टको खण्डन गरेको छ । अलेप्पोका सांसद फारिस शहाबीले सीरियाली सरकारले चरमपन्थीमाथी हमला गरेको दाबी गर्दै भनेका छन्–‘ हामीले निर्दोषलाई केही गरेका छैनौं ।’ एजेन्सी

प्रतिक्रिया

सम्बन्धित