प्रधानमन्त्रीद्धय ओली र मोदीबीचको 'सरप्राइज' भेटमा के-के भयो ?

oli and modi indiaकाठमाडौं । तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच सरप्राइज भेट भएको छ । दुई प्रधानमन्त्रीबीच शनिबार भेटघाट गर्ने कार्यक्रम तय भएको भए पनि शुक्रबार साँझै एक घण्टाभन्दा बढी एक्लाएक्लै (वान अन वान) भेटवार्ता भएको हो । भेटपछि प्रधानमन्त्रीद्धयले खुसी व्यक्त गरेका छन् ।

ओली र मोदीबीच मोदी निवास लोककल्याणकारी मार्गमा शुक्रबार साँझ करिब डेढ घन्टा एक्लाएक्लै भेटवार्ता भएको थियो । मोदीलाई भेटेपछि ओली नेपाली राजदूतावासले उनको सम्मानमा आयोजना गरेको रात्रिभोजमा सहभागी भएका थिए ।

भेटपछि भारतीय समकक्षी नरेन्द्र मोदीले ट्वीट गर्दै भनेका छन्– ‘नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर प्रसन्न छु ।’ यता प्रधानमन्त्री केपी शर्मा ओलीले पनि भ्रमण फलदायी भएको प्रतिक्रिया दिएका छन् । भेटपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने,
‘भेटघाट मुलुकलाई समृद्ध बनाउनेमा केन्द्रित र फलदायी रह्यो । मेरो उहाँ (प्रधानमन्त्री मोदी) सँग नेपाल–भारत सम्बन्धलाई कसरी थप मजबुत बनाउन सकिन्छ भन्नेमा छलफल भयो । उहाँ पनि नेपालसँग राम्रो सम्बन्ध राखेर भारत अघि बढ्न चाहनेमा स्पष्ट हुुनुहुन्थ्यो ।’

प्रधानमन्त्री ओलीले दुई देशको सम्बन्ध सधैं मित्रभावमा र सबै स्तरमा अघि बढाउनेबारे समेत छलफल भएको जानकारी दिए ।

ओलीले शनिबार दिनभर महत्वपूर्ण राजनीतिक भेटघाट र औपचारिक कार्यक्रममा भाग लिनेछन् । ओली र मोदीबीच साढे ११ बजे हैदरावादहाउसमा द्विपक्षीय औपचारिक भेटवार्ता हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित