भाटभटेनी सुरपमार्केटमा लागेको आगो नियन्त्रणमा
बुटवल । भाटभटेनी सुपरमार्केटमा लागेको आगो नियन्त्रणमा आएको छ। झण्डै पाँच घण्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको हो। आगोका कारण सुपरमार्केटको पाँचौं तल्लामा पूर्ण रूपमा क्षति पुगेको छ। बुटवल उपमहानगरपालिका वडा नम्बर ८ सुख्खानगरमा रहेको भाटभटेनी सपुरमार्केटको पाँचौं तल्लाबाट आगोलागी सुरू भएको हो।
अहिले क्षतिको विवरण संकलन भैरहेको रूपन्देही प्रहरीले जनाएको छ। विद्युत् सट भएर आगो लागेको अनुमान गरिएको छ । नेपाली सेना, प्रहरी, दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। सुपरमार्केटको पाँचौ तल्लामा इलेक्ट्रोनिक्स सामान रहेको बताइएको छ ।
बिहान चार बजेदेखि आगलागी भए पनि रुपन्देहीमा दुईवटा मात्र दमकल भएका कारण आगो नियन्त्रणमा समस्या भएको थियो। तत्काल बुटवल र भैरहवाबाट आएका दुईवटा दमकलले मात्र आगो नियन्त्रण गर्न नसकेपछि नवलपरासीको रामग्राम, कपिलवस्तु र पाल्पाबाट समेत दमकल बोलाइएको थियो।
सुपरमार्केट बन्द भएको समयमा आगोलागी भएका कारण मानविय क्षति भने नभएको ईलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ।
सुपरमार्केट बुटवलमा गत वर्ष बैशाख १ गतेदेखि सञ्चालनमा आएको थियो। यसैबीच प्रदेश नमबर पाँचका मुख्यमन्त्री शंकर पोखरेलले पनि आगलागी भएको स्थलको अवलोकन गरेका छन् ।
प्रतिक्रिया