आजबाट नारायणगढ–मुग्लिन सडक दैनिक ६ घण्टा बन्द
काठमाडौं । निर्माणाधिन नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि पुनः दिउँसोमा ६ घण्टा बन्द गरिने भएको छ । निर्माण कार्य अन्तिम चरणमा पुगेको उक्त सडक खण्डलाई पूर्णता दिन अब दैनक छ घण्टा बन्द गर्न लागेको जनाइएको छ । आयोजनाले शनिवार एकदिन नयाँ वर्षका लागि भनेर दिनभर सडक खुल्ला गरेको थियो ।
विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सडक बन्द गरी निर्माणको कामलाई निरन्तरता दिइने आयोजनाले जनाएको छ । विहान १० बजेअघि जुगेडी पार गरिसकेका सवारी साधनलाई जान दिइनेछ । नारायणगढबाट जाने सवारी साधानलाई जुगेडी, भतेरीको जंगल रामनगर र आँपटारीमा रोकिने छ भने, मुग्लिनबाट आउने सवारी साधनलाई मुग्लिन, आँबुखैरहनीका विभिन्न क्षेत्रमा रोकिने छ ।
सडकको हालसम्म ८८ प्रतिशत काम सकिएको छ । आगामी मे ३० तारीखसम्म निर्माणको काम सकिसक्ने गरी अन्तिम समयावधि थप गरिएको छ । भरतपुरको आँपटारीबाट मुग्लिनसम्म ३३.२ किलोमिटर रहेको सडकको २८.५ किलोमिटर सडक पहिलो तह पिच भैसकेको छ । दोस्रो तह २५ किलोमिटर र तेस्रो तह ५.५ किलोमिटर पिच भएको छ ।
प्रतिक्रिया