बल्ल घैंटाेमा घाम लाग्याे महानगरकाे, सार्वजनिक स्थानमा अत्याधुनिक ट्वाइलेट
काठमाडौं । वास्तवमा भन्ने हो भने काठमाडौं उपत्यका नाम मात्रको राजधानी र महानगरपालिका हो भन्दा फरक नपर्ला । उपत्यकामा जताततै फोहोर, धुलो र हिलोमात्र देखिन्छ । त्यतिमात्र होइन राजधानी जस्तो ठाउँका सार्वजनिक स्थानहरुमा शौचालय समेत छैन । बाटोमा हिड्ने वटुवाहरुले शौचालयका कारण धेरै दुःख भोग्नु परेको अवस्था छ । यदि बाटोमा हिड्दा दिसा–पिसाब लागेमा कि रेष्टुरेन्ट कि त सपिङ मल पस्नु पर्ने बाध्यता छ । तर, बल्ल अहिले आएर काठमाडौं महानगरको घैंटोमा घाम लागेको छ । महानगरपालिकाले ७० स्थानमा अत्याधुनिक शौचालय बनाउने भएको छ ।
झण्डै तीन वर्ष अघिको यो योजनामा लगानीकर्ताको अभावमा हुँदा काम हुन सकेको थिएन । तर अहिले भने महानगरले आफ्नै लगानीमा शौचालय बनाउने भएको हो । महानगरपालिकाले आफ्नै खर्चमा ६ स्थानमा शौचालयको निर्माण गर्न लागेको छ । सार्वजनिक निजी साझेदारी कार्यक्रमका इकाई प्रमुख महेश काफ्लेका अनुसार बानेश्वर, त्रिपुरेश्वर, चाबहिल बबरमहल, गोंगबु र बसन्तपुरमा रोटोमोल्डिङ प्रविधिबाट निर्माण भएका शौचालय राख्न लागिएको छ ।
डिजाइन तयार भएको छ भने लागतबारे अध्ययन थालिएको छ । ५ लाखमा निर्माण गर्न सकिने यस्तो शौचालय चीनमा निकै प्रचलनमा आएको छ ।
रोटोमोल्डिङ प्रविधिबाट निर्माण भएको यस्तो शौचालय १ सय १० केजी तौलको हुन्छ । यसमा राखिएको पानीको ट्याङ्की १ सय ६० लिटरको हुन्छ भने फोहरको ट्याङ्की क्षमता २ सय ९० लिटरको हुन्छ । यसमा सौर्य उर्जाबाट चल्ने पंखा र बत्ति हुन्छ । साथै पुरुषहरुको लागि छुट्टै युरिनल समेत राखिएको हुन्छ । हात धुने बेसिन, ट्वाइलेट पेपर स्ट्याण्ड र ऐना पनि राखिएको हुन्छ । यसै वर्षभित्र ६ स्थानमा शौचालय राख्ने गरी प्रक्रिया अघि बढाइएको सार्वजनिक निजी साझेदारी कार्यक्रमका इकाई प्रमुख महेश काफ्लेले जानकारी दिए ।
प्रतिक्रिया