प्रधानमन्त्रीलाई यसरी बचाए सभामुखले, मन्त्रीहरुले नै गैरकानुनी काम गरेकोप्रति आपत्ति

minendra

   काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘नयाँ राजा’ को संज्ञा दिएको छ । कांग्रेस नेता डा. मिनेन्द्र रिजालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बिभिन्न निकायहरुको व्यवस्था गरेर प्रधानमन्त्री ओली ‘नयाँ राजाको अवतार’ को रुपमा देखिएको दावी गरेका हुन् ।


उनले मन्त्रीहरुले कानून मिचेर जथाभावी गर्ने गरेको भन्दै नियन्त्रण गर्न पनि प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन् ।
गृहमन्त्री रामबहादुर थापा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी र कानून मन्त्री शेरबहादुर तामाङले कानून मिचेर कर्मचारी र सर्वसाधारणलाई समेत आतंकित बनाएको भन्दै रिजालले मन्त्रीहरुलाई नियन्त्रणमा राख्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा खर्च कटौतीको प्रस्ताव पेश गर्दै नेता रिजालले गृहमन्त्री थापाले कानून मिचेर ठेकेदारहरुलाई कारबाही गर्ने गरेको भन्दै आपत्ति जनाए ।

उनले मूल्य बृद्धिको विरोध गरेका आफ्ना पार्टीका कार्यकर्तालाई सरकारले दमन गरेको भन्दै आक्रोश समेत व्यक्त गरे ।

यता, प्रधानमन्त्रीलाई प्रश्न समेत गर्न नदिएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ । संसदमा चीन भ्रमणबारे जानकारी गराउन उपस्थित भएका प्रधानमन्त्री केपी शर्मा ओलीमाथि सभामुख कृष्णबहादुर महराले प्रश्न राख्न समेत दिएनन् । जसका कारण प्रतिपक्षी कांग्रेस आक्रोशित बनेको हो ।

आफ्नो चीन भ्रमणको उपलब्धीबारे प्रधानमन्त्री ओलीले आठ मिनेट भाषण गरे । सार्वजनिक महत्वको विषयमा प्रधानमन्त्रीले आफ्नो भनाइ राखिएसकेपछि, संसद नियमावली अनुसार सांसदहरुले प्रश्न राख्न पाउँछन् । तर, सभामुख महराले ‘प्रधानमन्त्री ज्यूको समय र कामको चापलाई मध्यनजर गर्दै एकजना सदस्य विषयबस्तुमा केन्द्रित रहेर १ मिनेटमा प्रश्न गर्न सक्नुहुन्छ’ भन्दै काँग्रेस सांसद दिलेन्द्र बडुलाई १ मिनेटमा आफ्नो प्रश्न राख्न समय दिए । उनले चिनसँगको व्यापार सम्झौताको विषयमा प्रश्न उठाए पछि लिपुलेकबारे प्रश्न उठाउँदै गर्दा १ मिनेट सकियो । महराले समय सकियो भन्दै प्रधानमन्त्रीलाई बोल्न दिए । प्रधानमन्त्री ओलीले चीनसँग भएका २२ वटा सहमतिको कुरा उठाए, आउँदो जुलाइसम्म चीनसँग व्यापार लगायताको विषयमा सम्झौता हुने र आफ्नो सीमानाको रक्षा गर्ने विषयमा जानकारी गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित