सरकार सर्वसत्ताबादतर्फ अग्रसर : उपसभापति निधि

bimalendra nidhi

  काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले उपसभापति नियुक्त भएको दुई महिनापछि पदभार ग्रहण गरेका छन् । ज्योतिषीको सल्लाहअनुसार उनले शुक्रबार बिहान ७ः५५ बजेको साइतमा पार्टी मुख्यालय सानेपामा पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहणपछि उपसभापति निधिले पार्टीमा अहिले नेतृत्वको नभई नीतिको बहस आवश्यक भएको बताएका छन् । पार्टीका नेताहरु कार्यालय नै नजाने गरेको गुनासो आएपछि आफूले हरेक दिन विहान साढे ८ देखि साढे १२ बजेसम्म कार्यालयमा बस्ने योजना बनाएको निधिले जानकारी दिए ।

सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै उपसभापति निधिले संघीयता, गणतन्त्र लगायतका परिवर्तनका उपलब्धीहरुको पक्षमा जनमत बनाउनु पर्नेमा जोड दिए । कांग्रेसमा अहिले नेतृत्व परिवर्तनको बहस भइरहेको भन्दै उनले भने–‘नेतृत्व होइन, नीतिको बहस गरौं । संघीयता गणतन्त्र लगायतका परिवर्तनको पक्षमा कांग्रेसका सबै नेता प्रष्ट र प्रतिवद्ध हुन जरुरी छ ।’

पार्टी विधानले दिएको जिम्मेवारी अनुसार नीति निर्माण र प्रशिक्षणमा जुट्ने पनि उनले बताए । उपसभापति निधिले नेपाली काँग्रेसमा अब चुनावी हारबारे समीक्षा गरेर आरोप प्रत्यारोप गरिरहनु नपर्ने बताउँदै सहमतिमा घोषणापत्र जारी भएपछि अब हारको समीक्षा गर्ने नाममा समय खेर नफाल्न पनि सुझाव दिए ।

उनले काँग्रेस शोकबाट मुक्त भइसकेको स्पष्ट पार्दै हेटौंडा भेलाले नेताहरुलाई फ्रेस बनाएको पनि बताए । उनले काँग्रेसलाई सशक्त बनाउन सातै प्रदेश र ७५३ वटै स्थानीय तहका साथै वडादेखि बुथसम्म काँग्रेसको प्रशिक्षण कार्यक्रम ल्याउन लागेको पनि बताएका छन् ।

उपसभापति निधिले सरकार सर्वसत्ताबादतर्फ अग्रसर भएकाले यसको भण्डाफोर गर्नुपर्ने बेला आएको बताए । सरकारले गर्ने गलत प्रवृत्ति विरुद्ध कांग्रेस एक जुट भएर लाग्ने बेला आएको पनि उनले बताए । सरकारले काँग्रेसको औचित्य छैन भनेर प्रचार गर्दै हिंडेको भन्दै निधिले केपी शर्मा ओली नेतृत्वको सरकार तानाशाही शासन शैलीमा अगाडि बढेको आरोप लगाए ।

प्रतिक्रिया

सम्बन्धित