प्रचण्डको सिंगापुर बसाईपछि नयाँ समिकरण
काठमाडौं । पूर्व एमाले र पूर्व माओवादी केन्द्रका नेताहरूबीच दिल जोडिन सकेको छैन । दोस्रो तहका नेताहरूले दिएका अभिव्यक्तिबाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र केही न केही पाकेको गन्ध बाहिर आइरहेको छ । प्रचण्डको दुई साता लामो सिंगापुर बसाइँपछि नेकपाभित्र नयाँ खालको समीकरण बनेको चर्चा हुन थालेको छ ।
महासचिवबाट हटाइएका ईश्वर पोखरेलले आफूलाई सिध्याउन व्यक्तिमाथि राजनीति गरेको आरोप लगाएका छन् । मनभित्र कुण्ठा राखेर बसेका पोखरेलले ‘राजनीति गर्न हिँडेको मान्छेमाथि नै राजनीति गर्नु उचित होइन’ भनेका छन् । उनको यो अभिव्यक्तिले नेकपाका नेताहरूलाई एकले अर्कालाई सिध्याउन के–केसम्म हुँदो रहेछ भन्ने देखाएको छ ।
टोपबहादुर रायमाझी पनि मौन बसेका छन् । उनलाई पनि प्रचण्डले अगाडि ल्याउन रुचाएका छैनन् । लो प्रोफाइलमा बसेका रायमाझीले आफ्नै खालको संगठन गर्दै आएका छन् । सुरुवाती दिनमा पार्टी एकीकरणमा उत्साहित देखिएका रायमाझीले जिम्मेवारी बाँडफाँटमा चित्त दुखाएका छन् । रायमाझीका धेरै साथीहरूलाई प्रचण्डले साइजमा राखेका छन् । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली पनि आफूलाई कसरी फाइदा हुन्छ भनेर गुट सञ्चालन गरिरहेका छन् । ओलीको गुटलाई विष्णु रिमालले सञ्चालन गर्दै आएका छन् । रिमालले ओलीलाई कठपुतली बनाएको भनेर पूर्व एमालेका नेताहरूले बताउने गरेका छन् । हुन पनि ओलीलाई भेट्न वा काम लिनका लागि रिमालको पूर्व स्वीकृति लिनुपर्ने अवस्था छ ।
प्रचण्डले पनि मुलुकको राजनीतिलाई अब आफूमा केन्द्रित गराउँदै छन् । सिंगापुरमा रहँदा विभिन्न पक्षसँग भेट गरेका उनले ओलीलाई दवाव दिएर पार्टीको केन्द्रीय सचिवालय बैठक बोलाएका छन् । सचिवालय बैठकमा प्रचण्ड हाबी हुँदै ‘म नहुँदा पार्टी नै सिथिल भयो’ भन्ने सन्देश दिएका छन् । प्रचण्डको यो रवैयाबाट ओली हच्किएको एक नेताले बताए ।यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ
प्रतिक्रिया