छविलाल थुनामा गएसँगै गंगामायाको अनशन तोडाउने प्रयास

gangamaya

   काठमाडौं । छोराको हत्या गर्नेमाथि कारबाहीको माग गर्दै पछिल्लो पटक जेठ १५ देखि वीर अस्पतालमा अनशनरत गंगामाया अधिकारीको अनशन तोड्ने प्रयास सुरु भएको छ । अधिकारीका छोरा कृष्णप्रसादको हत्याको आरोप लागेका अभियुक्तलाई पुर्पक्षका लागि जेल चलान गरिएपछि उनको अनसन तोड्ने प्रयास भएको हो ।

मानवअधिकारकर्मीहरु, सरोकारवाला निकाय र सरकारको पहलमा अनशन तोडाउने प्रयास भइरहेको बताइएको छ । गंगामायाका छोरा कृष्णप्रसाद अधिकारीको हत्याका अभियुक्त भनिएका गोरखा फुजेलका ७८ वर्षीय छविलाल पौडेलले आइतबार सर्वोच्चमा आत्मसमर्पण गरेका थिए । अदालतको आदेशमा उनलाई आइतबार नै डिल्लीबजार सदरखोरमा पठाइएको छ ।

पौडेललाई जेल चलान गरिए पनि विगतमा जस्तै अदालतबाट छुट्ने आशंका गर्दै गंगामायाले कारवाहीको सुनिश्चितता नभएसम्म अनशन जारी राख्ने अडान लिएपछि तत्कालका लागि अनसन तोडाउन लागिएको बताइएको छ ।

यसअघि छविलाललाई जिल्ला र तत्कालीन पुनरावेदन अदालतले पर्याप्त प्रमाण नपुगेको भन्दै रिहा गरेको थियो । तर, सर्वोच्च अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि फरार थिए ।

२०६१ जेठ २४ गते तत्कालीन विद्रोही माओवादीले कृष्णप्रसादको हत्या गरेका थिए । छोराका हत्यारालाई कारवाहीको माग गर्दै अनशन बसेका कृष्णका बुबा नन्दप्रसादको अनशनरत अवस्थामै चार वर्ष अघि मृत्यु भइसकेको छ । नन्दप्रसादको शव अहिलेसम्म शिक्षण अस्पतालमै छ ।

प्रतिक्रिया

सम्बन्धित