फेरि थाल्यो इजरायलले हमासविरुद्ध आक्रमण

israil

  काठमाडौं । इजरायलले गाजामा रहेका हमास लडाकुविरुद्ध पुनः आक्रमण सुरु गरेको छ । इजरायलका अनुसार ९० भन्दा धेरै रकेट हमलाको जवाफमा हमासका दर्जनौं स्थानमा आक्रमण गरिएको छ । यो अक्रमण चार वर्ष यताकै सबैभन्दा ठूलो भएको पनि बताइएको छ । सन् २०१४ मा हमासविरुद्ध भएको लडाइँपछि यो सबैभन्दा ठूलो आक्रमण रहेको बीबीसीले जनाएको छ ।

प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरुका अनुसार गाजा शहरमा भएको हवाइ हमलामा दुई जनाको मृत्यु र १२ जना घाइते भएका छन् । इजरायलको रक्षाबल आईडीएफका अनुसार गाजाका हमास प्रभावित क्षेत्र, उनीहरुले प्रयोग गर्ने स्थान, बेट लाहियाको बटालियनको एक मुख्यालय, उत्तरी गाजाको एक ठूलो भवनमा रहेको तालिम केन्द्र, हतियार भण्डारण र रकेट लन्चरलाई निशाना बनाइएको छ ।

आईडीएफले ट्वीटरमा लेखेको छ,‘पछिल्लो एक घण्टामा आईडीएफका लडाकु विमानहरुले गाजापट्टिमा हमासका चार सैन्य इलाकाका दर्जनौं स्थानमा आक्रमण गरेका छन् । यी हवाई हमलाको केन्द्र बेट लाहियाको हमास बटालियनको मुख्यालय थियो ।’

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले कारवाही अझै जारी रहने बताएका छन् । उनले भनेका छन्–‘यदि आवश्यक परेमा हमासको आतंकी हमलाको प्रतिक्रियाको दायरा बढाउन सकिन्छ । यदि हमासलाई आज हाम्रो सन्देश प्राप्त भएन भने भोलि प्राप्त हुने छ ।’ गाजा क्षेत्रको स्वामित्वलाई लिएर इजरायल र प्यालेस्टाइनबीच लामो समयदेखि विवाद छ ।

प्रतिक्रिया

सम्बन्धित