घरमै फोहोर व्यवस्थापन हुने भए सिसडोल कसरी भरिन्थ्यो र ?
काठमाडौं । काठमाडौंलगायत उपत्यका विगत दुई सातादेखि दुर्गन्धित बनिरहेको छ । काठमाडौं महानगरपालिकाले फोहर व्यवस्थापन गर्न नसक्दा शहरका विभिन्न चोक तथा बजार दुर्गन्धित बन्दा रोगको संक्रमण बढ्ने देखिएकोे छ। यसै वर्षि वर्षातको समय, त्यसमाथि पनि सडकमा फोहोरको डंगुर अब आफै सोच्नुस् कस्तो होला काठमाडौं । धान रोप्न मिल्ने राजधानीको बाटो त झन छंदैछ ।
चोकमा थुपारिएका फोहर सडेगलेर निस्केको दुर्गन्धबाट पैदलयात्री, बटुवालगायतलाई मात्र समस्या भएको छैन, नजिकैका सडक पसलेदेखि ठूला व्यवसायीलाई पनि खपिनसक्नुभएको छ। फोहरलाई तत्काल व्यवस्थापन गर्न नसके हैजा, टाइफाइड तथा श्वासप्रश्वाससम्बन्धी रोगको संक्रमण फैलिन सक्ने चिकित्सकले बताएका छन्।
महानगरपालिकाले फोहर व्यवस्थापन गर्दै आएको सिसडोल र त्यस आसपास क्षेत्रमा वर्षाले सडक अवरुद्ध भएको भन्दै समस्या उत्पन्न भएको जनाएको छ। महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सडकमा संकलन भएका फोहरलाई छिटो व्यवस्थापनका लागि प्रयास भइरहेको जानकारी दिँदै सर्वसाधारण नागरिकले घरबाट निस्कने फोहरलाई अहिले सडकमा जथाभावी नमिल्काउन आग्रह गरेका छन्।
मेयर शाक्यले भनेजस्तो घरमा चाहिं फोहोर कतिदिनसम्म राख्ने नि ? समस्या यता पनि छ । बल्खु, कुलेश्वर, कालीमाटी, कलंकी, टंकेश्वर, त्रिपुरेश्वर, बालकुमारी, बानेश्वर, शान्तिनगर, बागबजारलगायत स्थानमा करीब दुई सातादेखि घरबाट दैनिक निस्कने फोहर नउठेका कारण चोकचोकमा फोहरका डंगुर थुप्रिएको छ। काठमाडौंमा मात्र दैनिक करीब ५०० मेट्रिक टन फोहर उत्पादन हुने गरेको महानगरपालिकाले जनाएको छ।
उपत्यकाको फोहोर फाल्ने नुवाकोट, सिसडोलको बाटो बिग्रिएकाले समस्या आएको भन्दै काठमाडौं र ललितपुर महानगरपालिकाले तत्काललाई घर–घरमै फोहोरमैला व्यवस्थापन गर्न सर्वसाधारणसँग अपिल गरेका छन्। घरको फोहोर घरमै व्यवस्थापन गर्ने सक्ने हो भने सिसडोल किन भरिन्थ्यो होला र ?
तर, समस्या बाटोमा मात्रै होइन् । अब सिसडोलले काठमाडौंको फोहोर तीन महिना मात्र धान्न सक्ने देखिन्छ । त्यसपछि पूरै भरिने हुँदा महानगरले अहिलेसम्म पनि अर्को विकल्प खोज्न सकेो छैन । विकल्पमा ककनी गाउँपालिका–२ को बञ्चरेडाँडा प्रस्ताव गरिएको छ। तर त्यहाँ कुनै तयारी छैन।
सकेसम्म घरको फोहोर घरमै व्यवस्थापन गर्नु राम्रो पक्ष हो । तर, उपत्यकामा जत्रो जग्गा उत्रै घर बनाउँदा समस्या देखिएको हो । नकुहिनेको त कुरै छार्डौं । कुहिने फोहोरको पनि उपत्यकाबासीले प्रयोगमा ल्याउन सक्दैनन् । अनी कसरी हुन्छ घरमै व्यवस्थापन ? यस्ता निर्णय भने तत्काल लागू हुँदैनन्, तर भविश्यमा भने यसले फरक अवश्य पनि पार्न सक्छ । प्रत्येक घरमा कम्तिमा सानो करेसाबारीमात्रै हुन्थ्यो भने पनि कुहिने फोहोर त व्यवस्थापन हुन्थ्यो । महानगरले यता पनि ध्यान दिने हो कि ?
प्रतिक्रिया