छोरा र छोरीलाई लिएर पशुपति पुगिन् हिमानी, यस्तो छ साउने सोमबारको महत्व
काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाहले सोमबार बिहान पशुपति दर्शन गरेकी छन् । हिमानी साउनको पहिलो सोमबारका दिन दुई छोरी र छोरासँगै दर्शनका लागि पशुपति पुगेकी हुन् । उनीसँग केही सहयोगी पनि रहेका थिए ।
धर्मकर्म र सामाजिक सेवामा रुची राख्ने हिमानीले आफ्नो अलि बढि समय पूजा–आजामा बिताउने गरेको यस अघि नै बताइसकेकी छन् । हिमानी ट्रस्ट नामको संस्था खोलेर समाजिक सेवा गरिरहेकी हिमानीको पति पारशसँगको सम्बन्ध भने त्यति सुमधुर छैन । र, पनि उनी बाहिर भने प्रशन्न मुद्रामा देखिन्छिन् ।
साउन महिनामा विशेषत नेपाली महिलाहरु धर्मकर्ममा लाग्ने गरेको पाइन्छ । अझै सोमबार त दिनभर ब्रत बसेर शिवको आरधाना र पूजा अर्चना गर्ने चलन छ । साउन महिनामा पाँच वटा सोमबार परेको समय भने शिब मन्दिरहरुमा ब्रतालुहरुको अझै बढि भिड लाग्ने गर्दछ ।
साउने सोमबार भगवान् शिवको विशेष पूजा–आराधना गर्ने परम्परा छ। यो वर्षको पहिलो साउने सोमबार काठमाडौंका पशुपतिनाथ, कुम्भेश्वरलगायत मुलुकभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ। ज्योतिषशास्त्रअनुसार सोमवारको स्वामी भगवान् शिव भएकोले यो दिनको शिवोपासना विशेष मानिन्छ।
चन्द्रमा शिवको शिरमा बसेका हुनाले उनको बार (सोम अर्थात् चन्द्रमा)। त्यसैले सोमवार गरिने शिवको व्रत पूजा विशेष फलदायी मानिएको छ। यो वर्ष साउनमा चार वटा सोमबार परेको छ। यो सौर गणनाको हिसाबले हो। तर व्रत गर्दा धार्मिक कार्यका लागि चान्द्र तिथिबारको प्रयोग गर्नु भन्ने निर्देश छ।
चान्द्र र सौर दुवै मिलेको भए अझै राम्रो। अर्थात् साउनको व्रत लिँदा चान्द्र पनि श्रावण नै होस्, सौर पनि साउन नै। शिवको अर्थ कल्याण भएकाले विधिपूर्वक आराधना गर्दा उनी खुशी हुन्छन् र मनोकामना पूर्ण गरिदिन्छन् भन्ने विश्वास गरिन्छ। सुख प्रदान गर्ने, पाप नाश गर्ने र भक्तलाई कल्याण गर्ने रूपमा शिवको उपासना गरिएको छ।
पौराणिक ग्रन्थहरूमा ब्रह्मालाई सृष्टि, विष्णुलाई रक्षा र शिवलाई संहारका देवता मानिएको छ। शिवलाई सम्पूर्ण देवताका पनि देवता (देवाधिदेव) महादेव भनिएको छ। साउनमा रुद्री लगाउने चलन भने नेपालीसमजमा चलेको देखिन्छ। विभिन्न कामना राखेर श्रावण महिनामा रुद्री गर्ने परम्परा छ। विशेषगरी सोमवार, नजुरे अन्य दिनहरुमा पनि ब्राह्मणहरूद्वारा रुद्राभिषेक गराइन्छ।
प्रतिक्रिया