हङकङसँग अंक बाँड्दा नेपाल डिभिजन टु मा घटुवा
काठमाडौं : विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र हङकङबिचको दोस्रो खेल वर्षाको कारण रद्द भएपछि दुवै टोलीले १/१ अंक बाँडेका छन् । अंक बाँडेसँगै नेपाल प्रतियोगिताको दुई खेल बाँकी रहँदै डिभिजन २ मा झरेको छ । आइतबार टाइफुन र वर्षाका कारण खेल हुन नसकेपछि वैकल्पिक दिन सोमबारलाई खेल सारिएको थियो । सोमबार पनि वर्षा नरोकिएपछि खेल सम्भव हुन सकेन । विश्व क्रिकेट लिग च्याम्पियनसिपको अंक तालिकामा नेपाल १२ खेलमा ९ अंक जोड्दै छैटौं स्थानमा छ । चौथो स्थानमा रहेको हङकङले १२ खेलमा १४ अंक जोडेको छ । नेपालले अन्तिम चरणको खेलमा संयुक्त अरब इमिरेट्स (युएइ)को सामना गर्दैछ । विश्व क्रिकेट लिगको शीर्ष ४ स्थानका टोली विश्वकप छनोटमा पुग्नेछन् भने पुछारका ४ टोली डिभिजन २ मा पुगे । घटुवासँगै नेपालले सन् २०१८ फेब्रुअरीमा नामिबियामा हुने डिभिजन २ खेल्नेछ । उक्त प्रतियोगिताको शीर्ष २ टोली विश्वकप छनोटमा सहभागी हुनेछन् ।
प्रतिक्रिया