आफ्नै जीवन रक्षाको माग गर्दै निर्मला बलात्कार काण्डको छानबिनमा संलग्न उपसचिवले दिए राजिनामा

nirmala kanda

  काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्या छानबिनमा खटिएका उपसचिव वीरेन्द्र केसीले शक्तिशाली अपराधीबाट आफ्नो हत्या हुन सक्ने भन्दै जीवन रक्षाको माग गर्दै समितिबाट राजिनामा दिएका छन् ।

सोमबार समितिबाट राजीनामा दिएका प्रदेश सातका आन्तरिक मामिला मन्त्रालयका उपसचिव केसीले आफूलाई ज्यानको डर भएको भन्दै सुरक्षा माग समेत गरेका छन् । उनले जीवन रक्षाका लागि राष्ट्रिय मानवअधिकार आयोगलाई गुहारेका छन् ।

पत्रकार सम्मेलनमा केसीले भने–‘समय थप्दा एकातिर अभियुक्त थुनामा राख्ने म्याद सकिन्छ अर्कातिर डिएनए परीक्षणको रिपोर्ट पनि जटिल हुन्छ भन्ने मेरो कुरा हो, तर पनि समय थपियो । म्याद थप्दा दुर्घटना हुने र अपराधी उम्कन सक्ने कुरा बारम्बार राखे पनि त्यसको सुनुवाइ नभएपछि समितिबाट अलग भएँ।’

यस समितिमार्फत् निर्मला र उनको परिवारलाई न्याय दिन असम्भव देखिएको भन्दै उनले समितिबाट अलग भएको बताएका छन् । उनले समितिमा बसेर प्रतिवेदन तयार पार्दा झन् ठूलो सुरक्षा खतरा हुने देखिएकाले अलग भएको बताए। तर। उनले कोबाट सुरक्षा खतरा छ भन्ने विषय भने खुलाएनन् ।

भदौ ७ मा सरकारले घटनाको छानबिन गर्न कारागार व्यवस्था विभागका महानिर्देशक सहसचिव हरि मैनालीको नेतृत्वमा पाँच सदस्य छानबिन समिति गठन गरेको थियो। सरकारले घटनाको अनुसन्धान गर्न आइतबार १५ दिन म्याद थप गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित