कांग्रेसलाई सुध्रिन प्रधानमन्त्री ओलीको चेतावनी

kppuspa

 काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले मौरी जस्तो एकजुट भएर देशको हितको लागि काम गर्न नेता र कार्यकर्तालाई आग्रह गरेका छन् ।

पार्टी मुख्यालय धुम्बाराहीमा शनिबार आयोजित कार्यक्रममा ओलीले आफ्ना स्वार्थ त्यागेर देशका स्वार्थ केन्द्रमा राखेर काम गर्न आग्रह गरेका हुन् । उनले देशका स्वार्थकै लागि काम गर्न माओवादीसँग मिलेर चुनाव लडेको र पार्टी एकता गरेको बताए ।

‘हामी एकतावद्ध हुनुपर्छ भनेको तर्सिएर, झस्किएर उधुम नै भइहाल्यो’, प्रधानमन्त्री ओलीले भने, ‘आज मौरी भन्छु । कर्मी मौरीजस्तो एकजुटताका साथ अघि बढ्ने हो ।’

उनले मौरीको मह अरुले खोसेर खाइदिने गरे पनि आफूहरूले आर्जन गरेको मह बाँडेर खाने बताए । प्रतिक्रियावादीविरुद्ध अरिंगालजस्तो गरी हमला गर्न निर्देशन दिएर आलोचना खेपेका ओलीले आफ्नो सम्बोधनमा मौरीको कुरा गरेका छन् ।

‘बाँड्न सकिने गरी देशमा मह जम्मा गर्ने काममा हामी लाग्नुपर्छ’, ओलीले भने, ‘सहज ढंगले देश बनाऔं । सरकार प्रतिपक्षसँग मिलेर काम गर्न तयार छ ।’

प्रतिपक्ष कुखुराको चल्लाले सानो किरा फट्यांग्रा भेटे जसरी कुरै नबुझी किरा भेटेको चल्लाको पछि लागेको प्रधानमन्त्री ओलीको आरोप छ ।

ओलीले कांग्रेसको नाम नलिएर कुरै नबुझेर सरकारको आलोचना गर्ने गरेको आरोप लगाएका हुन् । उनले कांग्रेसलाई सुध्रिन चेतावनी पनि दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित