इन्द्रजात्रा मनाईंदै, तीन वर्षपछि गद्दी बैठकमा राष्ट्रपति

indra jatra

 काठमाडौं । आज भाद्र शुक्ल चतुर्दशी अर्थात इन्द्र जात्रा । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आरधना गरी आज परम्परागतरुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । यो पर्व काठमाडौं उपत्यका बाहेक काभ्रे, दोलखालगायतका स्थानमा मनाइने भएपनि सरकारले भने आज काठमाडौं उपत्यकामा मात्र सार्वजनिक विदा दिएको छ ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ । भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ ।

यसअघि तान्त्रिक विधिद्वारा पूजा गरी काभ्रेको नालास्थित जङ्गलमा छोडिएको बोकाले छोएको रूख भाद्र शुक्ल द्वितीयाका दिन काटिन्छ । काटेपछि लिङ्गोलाई उपत्यका भित्राउन पनि साइत हेरिन्छ । उपत्यका भित्राएपछि एक रात भोटाहिटीमा राखी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ ।

आजको दिन मुख्यरूपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा नजर गर्ने परम्परा छ । राजतन्त्र रहुञ्जेल राजाबाट श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा नजर गर्ने परम्परा थियो । भूकम्पले भत्किएको गद्दी बैठक यस वर्ष पुनःनिर्माण सम्पन्न भएकाले त्यहीँ इन्द्रजात्राका कार्यक्रम गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित