श्रीमतीको हत्या गरी फरार भएका अनिल पक्राउ
काठमाडौं । महानगरीय अपराध महाशाखाले आफ्नै श्रीमतीको हत्या गरी फरार भएका एक युवालाई पक्राउ गरेको छ ।
महाशाखाको टोलीले गत भदौं १३ गते काठमाडौंको बसुन्धारास्थित स्पिड गेष्ट हाउसमा १८ वर्षिया श्रीमती लक्ष्मी परियारको हत्या गरी फरार भएका खोटाङ मौवाबोटे–१ का २२ वर्षिया अनिल परियालाई पक्राउ गरेको हो ।
पोखरा महानगरपालिका–७ माछापुच्छ«े टोलबाट पक्राउ परेका परियारले श्रीमतीको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । महाशाखा प्रमुख एसएसपी धिरजप्रताम सिंहले अनिललाई कर्तव्य ज्यानमा मुद्दा चलाइने माइन्यूज नेपाललाई बताए ।
यस्तो छ घटना विवरण
१८ वर्षीया लक्ष्मी र २२ वर्षीय अनिल परियारको चिनजान फेसबुकबाट भयो। दुबै जना रोजगारीको सिलसिलामा विदेशमा थिए। अनिल र लक्ष्मीको सम्बन्ध बिस्तारै प्रेममा परिणत भयो। केही समयमै उनीहरू नेपाल फर्के र विवाह बन्धनमा बाँधिए।
खोटाङको बराह पोखरी गाउँपालिका ६ का अनिल श्रीमती लिएर गाउँ पुगे। गाउँमा करिब एक महिनाको बसाइपछि उनीहरू काठमाडौं फर्किए। काठमाडौंमा उनीहरू वसुन्धरामा रहेको स्पिड गेस्ट हाउसमा बसे। सोही गेस्ट हाउसमा अनिलकी श्रीमती लक्ष्मी भदौ १५ गते बेलुका साढे ६ बजे मृत भेटिइन्। कोठा नम्बर १०१ नम्बरमा उनी मृत फेला परेपछि अनिलको खोजी शुरु भयो। अनिल भेटिएनन्।
लक्ष्मीको शव पोस्टमार्टम गरियो। रिपोर्टले हत्या भएको देखायो। लगत्तै प्रहरीले फरार रहेका अनिललाई खोजी थाल्यो।
घटना भएको झन्डै दुई महिनापछि भेटिए अनिल। अनिलले श्रीमतीको हत्या गरेको स्वीकार गरेका छन्। उनले प्रहरीसँग श्रीमतीसँगको विवादको कारण हत्या गरेको बयान दिएका छन् । प्रहरी नियन्त्रणमा रहेका परियारले श्रीमतीको घाँटी थिचेर हत्या गरेको बताएका छन्।
प्रतिक्रिया