मेस्सीबिनाको एल क्लासिकोमा स्वारेजको ह्याट्रिक, लज्जास्पल हार ब्यहोर्यो रियलले
काठमाडौं । लुइस स्वारेजको ह्याट्रिकसँगै बार्सिलोनाले आइतबार राति रियल मड्रिडमाथि ५–१ को विजय हासिल गरेको छ । स्पेनिस ला लिग एल क्लासिकोमा पराजित भएसँग रियलका प्रशिक्षक युलेन लोप्टेगुइको जागिर संकटमा परेको छ । हात भाचिँएका कारण लियोनल मेसी मैदान बाहिर रहे पनि साविक विजेता बार्सिलोनाले उत्कृष्ट सुरुआतसँगै घरेलु मैदानमा सुखद अन्त्य गर्यो । लिगमा रियालले जित निकाल्न सकेको यो लगातार पाँचौ खेल हो ।
जोडी अल्बाको पासलाई पेनाल्टी क्षेत्रमा कसैको निगरानीमा नरहेका फिलिपे कौटिन्होले गोल गर्दै बार्सिलोनालाई ११औं मिनेटमा अग्रता दिएका थिए । घरेलु टोलीको दोस्रो गोलमा भिडियो सहायक रेफ्री (भार) सहयोगी बन्यो । रियाल रक्षक राफायल भरानले पेनाल्टी क्षेत्रमा स्वारेजलाई लडाएका थिए । रेफ्रीले शुरुमा बार्सिलोनालाई पेनाल्टी दिएका थिएनन् । घरेलु टोलीका खेलाडीले अपिल गरेपछि रेफ्रीले भारको सहयोग लिने निर्णय गरेका थिए । भारको निर्णय बार्सिलोनाको पक्षमा गएपछि प्राप्ट पेनाल्टी अवसरलाई स्वारेजले कुनै गल्ती नगरी गोलमा परिणत गरे ।
लगातार तीन च्याम्पियन्स लिगको उपाधि जितेको रियालले खेलमा पूनरागमन गर्ने भरपुर प्रयत्न गरेको थियो । तथापी सफल हुन सकेन । दोस्रो हाफको सुरुमै रियालका रक्षक मार्सेलोले गरेको गोल भ्रमणकारी टोलीका लागि सान्त्वना बन्यो । मार्सेलोले ५०औं मिनेट गरेको गोलबाट रियालले पुनरागमनको प्रयास गरेको थियो । तर ७५औं मिनेटमा सर्जियो रोबर्टो पासमा स्वारेजले हेडबाट गोल गरे । त्यसको आठ मिनेट वित्न नपाउँदै स्वारेजले ह्याट्रिक पुरा गरे । खेल सकिन तीन मिनेट बाँकी रहँदा अर्टुरो भिडालले अर्को गोल थपेपछि बार्सिलोनाले चिर प्रतिद्वन्द्वीविरुद्ध सहज जित निकाल्यो ।
१९९४ मा रोमारियोपछि एल क्लासिकोमा बार्सिलोनाबाट ह्याट्रिक गर्ने स्वारेज पहिलो (मेसीबाहेक) खेलाडी बने । मेसीलाई बाहिर राख्ने हो भने २००६ मा रोनाल्डिन्हो पनि एल क्लासिकोमा पेनाल्टीमा गोल गर्ने पनि स्वारेज पहिलो खेलाडी हो । २०१४÷१५ मा बार्सिलोनाबाट डेब्यू गरेपछि स्वारेजले रियालविरुद्ध ९ गोल गरिसकेका छन् ।२०१० नोभेम्बरपछि ला रियाल मड्रिडले प्रतिस्पधात्मक खेलमा ५ गोल खाएको पनि यो पहिलो हो ।
जितसँगै बार्सिलोना लिगको शीर्ष स्थानमा उक्लिएको छ । दश खेलमा ६ जित, ३ बराबरी र एक खेलेको बार्सिलोना २१ अंकका साथ शीर्ष स्थानमा छ । समान खेलबाट १९ अंक जोडेको एट्लेटिको मड्रिड दोस्रो स्थानमा छ । १४ अंक जोडेको रियाल नवौं स्थानमा झरेको छ । ला लिगाकै अर्को खेलमा गेटाफेले रियाल बेटिसलाई २–० ले हरायो ।
प्रतिक्रिया