सुशानको पुरस्कारले जगत हँसायो

kpolin

  यो सरकारसँग जनताले जे अपेक्षा राखेका थिए, त्यो पाउन सकेका छैनन् । दुई तिहाईको सरकार हुँदा पनि प्रधानमन्त्री केपी ओलीले काम गर्न सकेका छैनन् । उनका सारथीहरू उपयुक्त छैनन् । मन्त्रीहरू काममा भन्दा पनि भाषणमा धेरै ध्यान दिन्छन् । कमिशन कताबाट आउँछ त्यसतर्फ केन्द्रित हुन्छन् ।

आफ्नै दलका नेता तथा कार्यकर्ताबाट समेत कमिशन खान्छन् । काम लिएर आउने कार्यकर्ताको कामलाई मन्त्रीहरूले अल्झाएर राखिदिन्छन् । सरकारलाई कांग्रेसले भन्दापनि आफ्नै दलका नेता कार्यकर्ताले विरोध गरिरहेका छन् । ओलीलाई आफ्नै कर्मचारीहरूले टेरेका छैनन् । खटाएको ठाउँमा कर्मचारी जान मान्दैनन् । सरकारी कार्यालयहरूमा भ्रष्टाचार व्याप्त छ । उच्च तहका कर्मचारीहरू भ्रष्टाचारको रकमसहित धमाधम पक्राउ परिरहेका छन् । मुलुकमा सुशासन कहिले आउँछ भनेर जनता आजित बनेका छन् ।

प्रमुख विपक्षी दल नेपाली कांग्रेसले बेला–बेला सरकारको आलोचना गर्ने गरेको छ । तर, कांग्रेसको आलोचनालाई ओली सरकारले ध्यान दिएको छैन । सरकारको कार्यशैलीबाट आफ्नै कार्यकर्ताहरू समेत सन्तुष्ट नभएका बेला ओलीले क्रिश्चियन धर्म प्रचारक महिलाको हातबाट सुशासनको पुरस्कार पाएका छन् । यो पुरस्कारलाई लिएर ओली हास्य पात्र बनेका छन् । ओलीलाई उनकै दलका नेताहरू भीमबहादुर रावल, घनश्याम भुसालहरूले आलोचना गरेका छन् ।

आफ्नै नेताहरूको आलोचना खेप्दै आएका ओलीका अबका दिनहरू कठिन छन् । सरकार बनेको नौ महिना भैसकेको छ । ओलीले जनतालाई राहतभन्दा पनि आहत दिएका छन् । उनको कार्यशैलीबाट कोही पनि सन्तुष्ट छैनन् । ओली दिन प्रतिदिन अलोकप्रिय बन्दै गएका छन् । आलोचकहरूले ओलीका दिनगन्ती शुरु भएको भनेर आलोचना पनि गरिरहेका छन् । निर्मला पन्तका हत्यारा पक्राउ गर्न नसक्नु, क्रिश्चियनको धर्म प्रचार कार्यक्रममा सहभागी हुनु जस्ता कार्यले यो सरकार झन् आलोचित बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित