धरहराको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले भने–‘अबको धरहरा बुढापाकाले पनि चढ्न सक्छन्’

kp in dharahara

   काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ साल बैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण भत्किएको धरहरा पुनर्निर्माणको शिलान्यास गरेका छन् । सुन्धारामा आज आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले धरहरा पुनर्निर्माणको शिलान्यास गरेका हुन् । उक्त ९ तल्ले धरहरा भिमसेन थापाको पालामा बनेको थियो ।

प्रधानमन्त्री ओलीले अघिल्लो कार्यकालमा ‘मेरो धरहरा मै बनाउँछु’ अभियान सुरु गरेका थिए । तर, पुनर्निर्माण सुरु हुन सकेको थिएन । त्यसको झण्डै चार वर्षपछि प्रधानमन्त्री ओलीले नै पुनर्निर्माणको शिलान्यास गरेका हुन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरा पुनर्निर्माणको जिम्मा जीआईईटीसी–रमन जेभीलाई दिएको छ । भूकम्पले भत्किएको धरहरालाई सिसाभित्र राखेर संरक्षण गर्ने र त्यसकै छेउँमा पुरानै शैलीमा अत्याधुनिक सुविधासहित नयाँ धरहरा निर्माण हुने प्राधिकरणको सम्पदा विभाग प्रमुख राजुमान मानन्धरले जानकारी दिए ।

धरहरा पुनर्निर्माणको बिहीबार शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले भने–‘हामी फेरि हाम्रो गौरवपूर्ण धरहरा हाम्रो आँखा अगाडि देख्नेछौं । हामी वातावरण सुधारिएको, बाटाहरु सुधारिएको, हरियाली अलि बढाइएको काठमाडौं धरहराको टुप्पाबाट हेर्नेछौं ।’ ठेकेदारले दुई वर्षभित्रै निर्माण सक्ने उनले विश्वास व्यक्त गरे ।

पहिलेको धरहरा चढ्न ज्येष्ठ नागरिकहरुलाई अप्ठ्यारो हुने भए पनि अब बन्ने धरहरा सजिलै चढ्न सक्ने बन्ने उनले बताए । एकपटक आफू धरहरा चढ्दा गाह्रो भएको स्मरण गर्दै उनले भने–‘यसपल्ट धरहराको टुप्पामा जवानहरु मात्र चढ्नसक्ने होइन बुढापाकाहरु पनि चढ्न सक्नेछन् ।’

ओलीले भने–‘२०७२ फागुन ४ गते यसै ठाउँमा आएर मैले मै बनाउँछु मेरो धरहरा भन्ने हरेक नेपालीको मनको भावना र संकल्प व्यक्त गरेको थिएँ, त्यसले तीव्रता नपाए पनि एउटा फरक ढंगले नयाँ संकल्पलाई अगाडि बढाएका छौं ।’ धरहराको पुनर्निर्माणमा आ–आफ्नो क्षेत्रबाट योगदान गर्ने उनले प्रतिवद्धता व्यक्त गरे ।

शिलान्यास कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड┌, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोख्रेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, पर्यटनमन्त्री रविन्द्र अधिकारी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओ सुशील ज्ञवाली काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलगायतको उपस्थित थियो ।

प्रतिक्रिया

सम्बन्धित