स्वर्ण पदक जितेर उत्कृष्ट कौशल देखाउनु भयो ; अध्यक्ष प्रचण्ड

 

maharjan-prachanda-848x478_FwAmkUnq9z

  काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शारीरिक सुगठनको विश्वस्तरीय प्रतिस्पर्धामा स्वर्ण पदक विजेता महेश्वर महर्जनले नेपालको शीर उँचो बनाएको भन्दै बधाई दिएका छन्। आफ्नै निवास खुमलटारमा अध्यक्ष प्रचण्डले महर्जनलाई आइतबार भेटेर प्रतियोगितामा प्राप्त सफलताले देशको गौरव उँचो पार्न सहयोग गरेको बताएका थिए। उनले भने, 'तपाईंले उत्कृष्ट कौशल देखाउनु भयो। यसबाट नेपाल र नेपालीको शीर गौरवले उँचो भएको छ।' प्रचण्डले थपे, 'विश्वस्तरको प्रतियोगितामा नेपालका तर्फबाट तपाईंको प्रस्तुतीले नेपाली पनि अवसर पाए कम छैनन् भन्ने स्पष्ट पारेको छ।' अध्यक्ष प्रचण्डले आफूले खेल क्षेत्रलाई प्राथमिकतामा राखेको बताएका थिए। उनले नेपालको समृद्धि र विकासमा खेल क्षेत्र र खेलाडीहरूको भूमिका महत्वपूर्ण रहने बताएका थिए। राष्ट्रिय एकता तथा विश्वका अगाडि नेपाललाई चिनाउन खेल क्षेत्रको ठूलो भूमिका रहेको भन्दै अध्यक्ष प्रचण्डले पार्टी र सरकारका तर्फबाट शारीरिक सुगठनलगायत नेपालको खेल क्षेत्रलाई अझ विकास गर्नसमेत भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गरे। स्वर्ण पदक विजेता खेलाडी महर्जनजले व्यक्तिगत लगानी र प्रयासमा ७५ किलो तौल समूहमा स्वर्ण पदक जितेपनि यसक्षेत्रमा राज्यले नै सहयोगी वातावरण बनाइदिन आग्रह गरेका थिए। उनले मिस्टर युनिभर्समा सहभागी हुने इच्छा रहेको अध्यक्ष प्रचण्डलाई जानकारी दिएका थिए। अध्यक्ष प्रचण्डले सरकार र पार्टीका तर्फबाट उनको खेल जीवनलाई अझै विकास गर्न आवश्यक सहयोगका लागि पहल गर्ने प्रतिवद्धता जनाएका थिए।

प्रतिक्रिया

सम्बन्धित