नेपालमा नै पहिलो पटक नयाँ प्रविधि भित्र्याएर फोहोरमैला व्यवस्थापना गरिरहेका छौं

madan sundar

    आर्थिक रुपमा सवल र सक्षम नगरपालिकाको रुपमा आपूmलाई स्थापित गरेको मध्यपुर थिमी नगरपालिकाले पर्यटन प्रवद्र्धनका लागि नविनतम् प्रयास गरिरहेको छ । नगरपालिकाले लाईभ संग्राहलयको विकासदेखि सांस्कृतिक सम्पदाहरुको पुनर्निर्माण, सडकको स्तरोन्नती, नेपालमै पहिलो पटक नयाँ प्रविधिको प्रयोग गरी फोहोरलाई मोहोरमा परिवर्तन, शैक्षिक गुणस्तर बृद्धि, लोप भइसकेका मौलिक सांस्कृतिक पर्वहरुको जगेर्ना, करको दर भन्दा पनि दायरा बढाउने विषयमालाई प्राथमिकतमा राखेर काम गरिरहेको छ । नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठ नगरपालिकाको विकासका लागि आफू कटिबद्ध रहेको बताउनु हुन्छ । नगरपालिकाले भ्रष्टाचारमा शुन्य सहनसीलता अपनाएको बताउँदै नगरप्रमुख श्रेष्ठ नगरबासीहरुको हितका लागि नगरपालिकाले सञ्चालन गरिरहेको नेपाल–कोरियामैत्री नगरपालिका अस्पताललाई पनि विवादमा ल्याउन विभिन्न बाह्य शक्ति सक्रिय भएको बताउनु हुन्छ । नगर प्रमुख श्रेष्ठसँग समग्र नगरपालिको विषयमा mynewsnepal का लागि कुमार भण्डारीले गरेको कुराकानी :

० तपाई मध्यपुर थिमी नगरपालिकाको प्रमुख भएसँगै के–कस्ता कामहरु गर्नुभयो ?
– झण्डै दुई दशक लामो समयपछि भएको स्थानिय तहको निर्वाचनमा विजयी भएर आएसँगै जनताले पनि हामीसँग धेरै अपेक्षा राख्नु भएको छ । निर्वाचनपछिको दुई वर्षे कार्यकालमा जनताको चाहना अनुसार नै काम गरिरहेको छु । म मेयर भएसँगै धेरै परिवर्तनहरु भएको छन् । सबैभन्दा पहिले हामीले प्रशासनिक सुधार गरेका छौं । मध्यपुर एकमात्र यस्तो नगरपालिका हो, जसले प्रत्येक वडामा अधिकृत स्तरको कर्मचारी खटाएर जनतालाई सेवा प्रदान गरिरहेको छ । भक्तपुरमा भएका सांस्कृतिक सम्पदा र संस्कृतिलाई जोगाउन पनि हामीले अभियान नै सञ्चालन गरिरहेका छौं । विगत १२ वर्षदेखि लोप भइसकेको संस्कृतिहरुलाई जोगाउन पनि हामी सफल भएका छौं । यसको पछिल्लो उदाहरण नवदुर्गा नाच हो, जुन सफल रुपमा सम्पन्न पनि भइसकेको छ । त्यसैगरी सांस्कृतिक सम्पदाका जिर्णोद्धारका कामहरु पनि भइरहेका छन् ।

अर्को महत्वपूर्ण कुरा हामीले फोहोर व्यवस्थापनमा उल्लेखनिय काम गरिरहेका छौं । नेपालमा नै पहिलो पटक जापनीज प्रवृधि भित्र्याएर कम्पोष्ट मल बनाउने शुरुवात गरेका थियौं । जसको सफल परिक्षण भइसकेको छ । खानेपानीको व्यवस्थापनको लागि पनि हामीले काम गरिरहेका छौं । १८ करोडको यो योजनाको लागभग ५० प्रतिशत काम सम्पन्न भइसकेको छ । त्यसैगरी विकास निर्माणका काममा सामुदायिक भवन निर्माण, पार्क निर्माण, सडकको स्तरोन्नती, ढल व्यवस्थापनलगायतका कामहरु पनि अगाडि बढिरहेका छन् । नेपाल–कोरियामैत्री नगरपालिका अस्पताललाई पनि अपग्रेड गरी सुचारु रुपमा सञ्चालन गरिरहेका छौं । नगरबासीहरुलाई दिने सेवा र सुविधा पनि बढाएका छौं । नक्सा पासका लागि झन्झटिलो प्रक्रिया हटाएर सहज र सुलभ तरिकाले नक्सा पासको व्यवस्था गरेको छौं ।

० नगरपालिका भित्रको शैक्षिक अवस्था कस्तो छ ?
– शैक्षिक गुणस्तरका लागि पनि हामीले पृथक प्रयास गरिरहेका छौं । मध्यपुर थिमी नगरपालिकाले नेपालमा नै पहिलो पटक सामुदायिक र संस्थागत विद्यालयहरुलाई समानान्तर रुपमा सँगै लिएर जाने अभियान नै सञ्चालन गरेका छौं । सरकारी विद्यालयहरुमा नगर शिक्षा निरीक्षक नै खटाएर शैक्षिक सुधार गरिरहेका छौं । निजी विद्यालयहरुले १० प्रतिशत छात्रबृत्ति दिर्नु मोडालिटीलाई हामीले कार्यान्वयनमा ल्याएका छौं । जसमा पाँच प्रतिशत छात्रबृत्तिको स्वामित्व नगरपालिकाले ग्रहण गर्ने गरी मेरिट लिष्ट तयार गरी सबै विद्यालयहरुलाई छात्रबृत्तिका लागि सिफारिस गरेर पठाउने काम भइरहेको छ । शिक्षाको गुणस्तर अभिवृद्धि गर्नका लागि सारकारी तथा सामुदायिक विद्यालयहरुको सुधार कार्यक्रम, पूर्वाधारको विकास, भौतिक संरचनको विकास गरिरहेका छौं भने नगरपालिका अन्तर्गत रहेका विद्यालयहरुमा इलेक्ट्रोनिक हाजिर सिस्टमको विकास गरेका छौं । जसको निरीक्षण भने नगरपालिकाले नै गर्दै आएको छ ।

० सांस्कृतिक सम्पदाले सम्पन्न मध्यपुरले पर्यटन प्रवद्र्धनका लागि के–कस्ता कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ?
– सस्कृतिको जगर्नाै गर्ने विषयमा हामी सचेत भइरहँदा संस्कृतीको प्रवद्र्धन एवम् सम्वद्र्धनमा लागेको व्यक्तिहरुको पनि उचित सम्मान हुनपर्छ भन्ने हाम्रो बुझाई हो । त्यसैले नगरपालिका भित्र उपलब्ध सांस्कृतिक धरोहरहरुको उचित व्यवस्थापनका साथसाथै त्यसको दिगो विकासका लागि नगरपालिकाले योजना नै बनाएर अगाडि बढिरहेको छ । त्यसका लागि हामीले नमुनाको रुपमा चपाचो क्षेत्रलाई लिएका छौं । जहाँ हामीले जीवीत सांस्कृतिक संग्राहलय बनाउनका लागि उपभोक्त समितिमार्फत बजेट विनियोजन गरिसकेका छौं ।

जसमा समग्र मध्यपुर थिमी नगरपालिका भित्र उपलब्ध ऐतिहासिक एवम् सांस्कृतिक महत्वका मठ मन्दिरहरुको पहिचान झल्कने खालको कार्ययोजना बनाएर अगाडि बढ्दै छौं । हाम्रो नगरपालिकामा आन्तरिक एवम् बाह्य पर्यटकहरु आउँदा गल्ली–गल्लीमा कतै तान लगाएर कपडा बुनिरहेका, कतै तरकारीका मुठा बनाइरहेका, डवलीहरुमा नेवारी संस्कृति झल्कने गरी सांगितिक कार्यक्रमय भइरहेको, नेवारी खानाका परिकारहरु बनिरहेका त कतै माटोका भाँडा बनाइरहेको दृष्य अवलोकन गर्न सकुन् । जुन पर्यटकहरुका लागि लाइभ म्युजियम भ्रमण गरे सरह हुनेछ । जसले गर्दा पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने हामीले विश्वास लिएका छौं ।

० सास्कृतिक सम्पदाहरुको पुनर्निर्माणका कामहरु चाहिं कसरी अगाडि बढाइरहनु भएको छ ?
– २०७२ सालको महाभूकम्पलै क्षतीग्रस्त भएका नगरपालिका भित्रका सांस्कृतिक सम्पादाहरुको पुनर्निर्माणका काम पूर्णरुपमा नगरपालिकाले नै गर्दै आइरहेको छ । पुनर्निर्माण प्राधिकरणको भूमिका हाम्रो नगरपालिका भित्रको हकमा गोष्टि र सेमिनारमा नै सिमिति रहेको छ । मध्यपुरको प्रसिद्ध सिद्धिकाली मन्दिरको पुनर्निर्माणको जिम्मा लिएको प्राधिकरणले बजेट अभावको कारण देखाउँदै ऐतिहासिक मन्दिरमा जस्तापाताको छानो राख्न लाग्दा हामीले हाम्रो सम्पदा हामी आफै निर्माण गर्छौं भनेर टिन प्रयोग गर्न दिएनौं र बाँकी काम नगरपालिकाले नै सम्पन्न ग¥यो ।

पुनर्निर्माणका नाममा प्राधिकरणले विद्यालयहरुको रेक्टोफिटिङको काम बाहेक अन्य स्मरणगर्न लायय केही पनि काम गरेको छैन । ठेक्का पट्टाले गर्दा सांस्कृतिक सम्पदाको निर्माण भन्दा पनि त्यसको सांस्कृतिक महत्व अपभ्रंस हुने हुँदा बजेट व्यवस्थापन भएको खण्डमा नगरपालिकाले नै त्यस्ता सम्पदाहरुको पुनर्निर्माण गर्ने हाम्रो अडान रहेको छ ।

० स्थानिय सरकार करको विषयमा स्वेच्छाचारी ढंगले अगाडि बढिरहेको जनगुनासा पनि आइरहेका छन् नि ?
– यस विषयमा मध्यपुर थिमी नगरपालिकाको अलि भिन्न किसिमको बुझाई रहँदै आइरहेको छ । मलाई के लाग्छ भने करको विषयमा प्रायोजित र नियोजित रुपमा प्रपोगाण्डा गरिएको छ । कुनै एकाध नगरपालिका वा गाउँपालिकाले गरेका निर्णयलाई लिएर सम्पूर्ण नगरपालिकाहरुलाई नै लन्छाना लगाउने काम भएको छ, जुन लोक कल्याणकाली व्यवस्थाअनुसार ल्याइएको संघीयतालाई नै असफल पार्ने उद्देश्यबाट प्रेरित भएको जस्तो देखिन्छ । मध्यपुरको हकमा भन्नुपर्दा करको विषयमा कुनै पनि समस्या देखिएको छैन । करको दायरालाई हामीले व्यवहारिक र बैज्ञानिक बनाएका छौं ।

० नगरपालिकाको आर्थिक अवस्था कस्तो छ ?
– पछिल्लो समय नगरपालिका अर्थिक अवस्थामा सवल रहेको छ । विगतमा २१ करोड बजेट रहेको यो नगरपालिकामा म निर्वाचन भएर आएसँगै १ अर्व १८ करोड बजेट पुगिसकेको छ । आन्तरिक राजश्व बृद्धि गरी २१ करोड प्रक्षेपण गरिएको अवस्थामा त्यसको झण्डै ६० प्रतिशत रकम संकलन गरिसकेका छौं । राजश्व संकलनको विषयमा हामीले शुन्य सहनशिलताको अवधारणा अपनाएका छौं । हामी राजश्वको दर भन्दा पनि दायरा विस्तार गर्ने कुरामा केन्द्रीत छौं । जुन नगरपालिकाको पूर्वाधार विकासका लागि आधार सिद्ध भएको छ ।

० नगरपालिकाले नयाँ प्रविधि भित्र्याएर कसरी फोहोरमैला व्यवस्थापन गरिरहेको छ ?
– फोरहमैला व्यवस्थापनको कुरामा हामी आफै सक्षम बन्ने प्रयासमा छौं । हामी ओखरपौवा र बञ्चरे डाँडाको स्थलगत अवलोकन गर्दा फोहोर व्यवस्थापनमा नगरपालीका आफै आत्म निर्भर हुनुपर्ने रहेछ भन्ने निष्कर्षमा पुग्यौं । त्यसैले हामी नगरपालिका भित्रबाट निस्कन फोहोर मैलाको व्यवस्थापन नगरपालिकाले नै गर्ने अभियानमा लागिरहेका छौं । जसका लागि हामीले फोहोरमैला व्यवस्थापनका लागि स्वदेश र विदेशमा भएका नविनतम विकासका बारेमा अवलोकन गरी त्यसमा पनि सामान्य र उत्कृष्ट प्रविधिलाई प्रयोगमा ल्याएका छौं । मैले अघि पनि भने हामीले नेपालमा नै पहिलो पटक जापानीज प्रविधिको प्रयोगबाट फोहोर व्यवस्थापनको काम गरिरहेका छौं, जसको सफल परिक्षण पनि भइसकेको छ ।

हामीले जापनीज(तोकोजाई) प्रविधिको प्रयोग गरेर कुहिने फोहोरहरुबाट कम्पोष्ट मल बनाउने प्रविधीको प्रयोग गरिरहेका छौं । नगरपालिकाले प्रत्येक घर–घरमा भुस र पातसहित बाल्टिन उपलब्ध गराएर फोहोरलाई स्रोतमै वर्गिकरण गरी उक्त फोहोर संकलन गरेर त्यसलाई कम्पोष्ट मलमा परिवर्तन गराई रहेका छौं । जुन प्रविधि प्रयोग गर्दा एक साता सम्म पनि त्यसको गन्ध नआउने हँुदा यो प्रविधि प्रयोगमा नगरबासीहरु सन्तुष्ट हुनुहुन्छ । हामीले यो प्रविधि अहिले चार नम्बर वडामा मात्र गरिरहेका छौं भने अब चाँडै नै सम्पूर्ण नगरपालिका भित्र प्रयोगमा ल्याउने गृहकार्य थालेका छौं ।

० नगरपालिकाले सञ्चालन गरिरहेको नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालमा किन विवाद बढेको हो ?
– तत्कालिन स्थानीय विकास मन्त्रालय मातहत रहेको अस्पताललाई संघीय व्यवस्था अनुसार नगरपालिकाको स्वामित्वमा ल्याउँदा पुनः प्रदेशको मातहतमा लैजान खोज्ने तत्व, कोरिया–नेपालमैत्री अस्पताललाई नेपाल–कोरियामैत्री नगरपालिका अस्पताल बनाउँदा दुखेसो पोख्ने हाम्रा केही साथीहरुले अनावश्यक प्रपोगाण्डा गर्नुभएको हो । नगरबासीहरुले अस्पतालको बारेमा विवाद गर्नु भएजस्तो मलाई लाग्दैन ।

अस्पताल नगरपालिका मातहतमा आउनु अघि अस्पतालबाट आर्थिक लाभ लिइरहेकाहरुको स्रोत नष्ट हुँदा उहाँहरुले बद्नियत पूर्वक ढंगले अस्पतालमा विवाद छ भनेर गलत हल्ला फैलाउनु भएको हो । विगतमा मासिक रुपमा चार/पाँच सय विरामी आईरहेको अवस्था थियो भने अहिले अस्पतालको स्तरोन्नतीसँगै दैनिक पाँच÷छ सय जना विरामीले सेवा लिइरहनु भएको छ । अब तपाई आफै भन्नुस् अस्पतालमा कसरी भयो नगरपालिकाको हस्तक्षेप ? नेपाल सरकारले लागू गरेको राष्ट्रिय स्वास्थ्य विमा कार्यक्रम अन्तर्गत भक्तपुरमा रहेका अधिकांश विमितहरुले सेवा लिइरहनु भएको छ ।

अर्को कुरा अस्पतालले फार्मेसी सञ्चालन गरेको विषयलाई पनि विवदामा तानिएको छ । जुन कानुनसंगत सञ्चालन भइरहेको छ । अस्पतालले आफ्नै नाममा फार्मेसी सञ्चालन गर्दा स्वीकृती नै लिनु पर्दैन तर, पत्रकार साथीहरु त्यसैलाई विवादित् भनिरहनु भएको छ । विगतमा वार्षिक १५ लाख तिरेर फार्मेसी सञ्चालन भइरहेको अवस्थामा अहिले अस्पताल आफैले चलाउँदा वार्षिक झण्डै दुई करोड नाफा भएको अवस्था छ । र, पनि किन विवाद हो ? त्यसैले फार्मेसीबाट लाखौं आर्थिक लाभ लिइरहेकाहरुले नै अहिले यो विवाद निकाल्नु भएको हो भन्ने हाम्रो बुझाई हो । हामीले भोलेन्टियर रुपमा बरिष्ठ डाक्टर ज्ञानकृष्ण कायस्थलाई यहाँ ल्याएर काम गराइरहेका छौं । हामी एक पैसा भ्रष्टाचार गर्दैनौं र गर्न पनि दिंदैनौं । त्यसैले यो विवाद बढेको हो । आर्थिक पारदर्शितामा हामी एकदमै सचेत छौं ।

० आफ्ना नगरबासीहरुलाई के भन्नुहुन्छ ?
– जसरी तपाईहरुले हामीलाई आस्था र विश्वासका साथ निर्वाचित गराएर पठाउनु भयो, हामी सोही अनुरुप काम गरिरहेका छौं । हामी कसैको पनि दबाब र प्रभावमा तथा आर्थिक प्रलोभनमा नपरी निश्वार्थ रुपमा नगरबासीको हक हितका लागि विकास निर्माणका कामहरुलाई अगाडि बढाउँछौं । म नगरबासीलाई के विश्वास गराउन चाहन्छु भने मेरो कार्यकालमा नगर विकासको आधार तयार गरेर काम गर्नेछु । त्यसैले नगरपालिकाको काममा सहयोग गरिदिनुहुन नगरबासीहरुलाई आग्रह गर्न चाहन्छु ।

प्रतिक्रिया

सम्बन्धित