समुदायसँग मिलेर शान्ति सुव्यवस्था कायम गर्न प्रहरी प्रतिबद्ध  छ  : आईजीपी खनाल

IGP

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले रौतहटमामा जडान गरिएको उच्च गुणस्तरको वायरलेस सिसीटीभी क्यामेराको उद्घाटन गरेका छन् । गौर नगरपालिकाको सहयोगमा जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय गरुडामा जडान भएका पिटिजेट क्यामेराको आईजीपी खनालले आज उद्घाटन गरेका हुन् ।

समुदाय–प्रहरी अभियान अन्तर्गत जडान गरिएको क्यामेरा उद्घाटन गर्दै आईजीपी खनालले अपराधिले प्रविधिको प्रयोग गरेर टाढैबाट विभिन्न किसिमको घटना गराउने भएकाले प्रहरीलाई पनि प्रविधियुक्त बनाउनुपर्ने बताए । अनुसन्धान, अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न प्रविधिको अभावमा कठिन भएको बताउँदै आईजीपी खनालले नेपाल प्रहरीलाई पनि प्रविधीमैत्री बनाउदै लैजानु पर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै आईजीपी खनालले केही प्रहरी कर्मचारीको बदमासीका कारण सिङ्गो संगठनलाई बदनाम हुन नदिन त्यस्ता खराब कर्मचारीलाई हटाउने कार्य पनि अघि बढेको बताए । उनले समुदायसँग मिलेर शान्ति सुव्यवस्था कायम गर्न प्रहरी प्रतिबद्ध भएर लागिरहेको पनि बताए ।

रौतहटको सदरमुकाम गौरमा निगरानीका लागि विभिन्न दश स्थानमा उच्च प्रविधिको सीसीटीभी क्यामेरा जडान गरिएको छ । सदरमुकाममा अत्यधिक भीडभाड रहने स्थान तथा सडकहरुमा सरल निगरानीका लागि ती क्यामेराहरु जडान गरिएको जिल्ला प्रहरीका प्रवक्ता महेन्द्र मरासिनीले बताए ।

गौर नगरपालिकाको सहयोगमा तीस लाखको लगानीमा क्यामेराहरु जडान भएको हो । जडान भएका क्यामराको कन्ट्रोलोल र निगरानी जिल्ला प्रहरी कार्यालय गौरमा रहेको छ । अत्याधुनिक सिस्टमबाट जडान गरिएका क्यामरा नाइट भिजन भएकोले राति हुन सक्ने आपराधिक गतिविधिलाई न्यून गर्न सहज हुने प्रहरीको भनार्इ छ ।

 

प्रतिक्रिया

सम्बन्धित