एमालेको दाेहाेराे चरित्रले विदेशी हस्तक्षेप

सञ्जयकुमार श्रेष्ठ

२ नं. प्रदेशको स्थानीय तहको निर्वाचनले एमालेको राष्ट्रवादी घमण्डलाई चकनाचुर बनाई दिएको छ । एमालेले दुई चरणका निर्वाचनमा जसरी नेपाली कांग्रेस र भारतको नाम जोडेर आफ्नो पक्षमा मतदातालाई झुकाउन सफल भएको थियो त्यो जादुले एमालेलाई २ नं. प्रदेशमा खासै करातम गर्न सकेन । तराईमा बसोबास गर्ने कालो वर्णका मधेसी जनतालाई सधै भारतीय र बिहारी देख्ने एमालेलाई राष्ट्रियताको परिभाषा परिवर्तन गर्न दवाव परेको छ । तराईका जिल्लामा भारतीय आएको देख्ने तर, चीनतिरको सीमानामा चिनियाँहरू प्रवेश गरेको कहिल्यै नदेख्ने एमालेको दुई चरित्रको राष्ट्रवादी चरित्रको मुखुण्डो बाहिरिएको छ । चीनको सधै पक्ष लिने तर, भारतको विरोध गर्ने एमालेको नीति राष्ट्रघाति हो । चीनसँगको लम्पसारवादी चरित्र हो । चीनका लागि गुप्तचरी गर्ने एमाले नेताहरूलाई ५१ प्रतिशतभन्दा धेरै जनसंख्या रहेको तराईले प्रदेश र संसदको निर्वाचनमा पनि पाठ सिकाउनै पर्छ । होइन भने एमाले र त्यसका नेताहरूले नेपालमा चीनको हस्तक्षेप निम्त्याउने छन् । चीनको हस्तक्षेप निम्त्याउनु भनेको नेपाललाई सधैका लागि गरिव र अशिक्षित बनाउनु हो । बरु भारत नेपालप्रति लचक छ । चीन एक इञ्च पनि लचक भएको पाइँदैन । भारतले नेपालमा नाकाबन्दी लगाउँदा चीनले कहिल्यै पनि नेपाललाई साथ दिएन । बरु विभिन्न बहाना बनाएर टाढिने प्रयास ग-यो । चीनका लागि नेपालभन्दा पनि ठूलो बजार र प्रतिस्पर्धी देश भनेको भारत हो । यदि चीनलाई कसैसँग खतरा छ भने भारतसँग मात्रै छ । भारतले चीनलाई टक्कर दिने क्षमता राख्छ । यस्तो जान्दा जान्दै चीनको पक्षमा फेस समातेर एमालेका नेताहरूले जसरी हस्तक्षेप बढाउँदै छन्, त्यसले नेपाल र नेपालीका लागि हानिकारक हुनेछ । एमालेका नेता र पत्रकारहरूले अहिले नेपालीहरूलाई प्रत्येक हप्ता चीन लगेर घुमाउने गरेका छन् । चीनले पनि एमालेलाई प्रयोग गरेर नेपालीहरूलाई चीन विरोध भावना नेपालमा नबढोस् भनेर यस्तो गरेको हुनुपर्छ । यो भनेको चीनको नेपालमाथिको ठाडो हस्तक्षेप हो । चीनले नेपालबाट नेपालीहरूलाई प्रत्येक हप्ता घुमाउन लैजाने कार्य तत्काल बन्द गर्नुपर्छ । नेपाल सरकारले पनि छिटोभन्दा छिटो यस्तो कार्यलाई बन्द गर्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित