सरिताले चार विकेट लिंदा नेपालको शानदार जित
काठमाडौं । थाइल्याण्डमा जारी थाइल्याण्ड महिला टी –ट्वान्टी स्म्यास क्रिकेटमा नेपालले शानदार जित हात पारेको छ । आज भएको आफ्नो दोस्रो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो। मलेसियाले दिएको ६२ रनको लक्ष्य नोपालले १६ दशमलव २ ओभरमा चार विकेट गुमाएर लक्ष्य भेट्टायो।
नेपालका लागि सर्वाधिक रोमा थापाले अविजित २० रन बनाइन भने सिता रानामगरले १६ रनको योगदान गरिन। यसअघि टस जितेर पहिले व्याटिङ गरेको मलेसियाले १९ ओभर ३ बलमा अलआउट हुँदै ६१ रनमा समेटियो। मलेसियाका लागि सर्वाधिक १२ रन सियो तिजिनले बनाउँदा युर्सरिना याकुबले ११ रन बनाएकी थिइन् । ती बाहेक अन्य कुनै व्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन्। मलेसियाको इनिङलाई सस्तैमा समेटन सरिता राना मगर एक्लैले ४ विकेट लिईन्। त्यस्तै कविता कुँवर, इन्दु बर्मा र नेरी थापाले समान एक एक विकेट लिए।
थाइल्याण्ड क्रिकेट एसोसियसनको आयोजनामा जारी प्रतियोगिताको समूह ए मा रहेको नेपालले तेस्रो खेलमा भोली युएई र बुधबार थाईल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ।
यस अघि भएको खेलमा नेपालले चीनलाई १० विकेटले पराजित गरेको थियो । चीनले दिएको ४९ रनको सामान्य लक्ष्य नेपालले आठ ओभर ४ बलमा बिनाविकेटको क्षतिमा पूरा गर्यो। नेपालको जितमा सीता रानामगरले नटआउट २३ तथा काजल श्रेष्ठले १४ रन जोडे। सीताले २५ बल खेल्दै तीन चौका प्रहार गरिन्। यस्तै काजलले एक चौका प्रहार गरिन्। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चीनले निर्धारित २० ओभरमा छ विकेट गुमाएर ४८ रन बनाएको थियो। चीनका लागि ओपनर झाङ चानले सर्वाधिक १३ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अङ्कको रन बनाउन सकेनन्। चीनलाई ४८ रनमा समेट्ने क्रममा नेपालकी नेरी थापाले दुई र करुणा भण्डारीले तीन विकेट लिइन्। नेपालका लागि करुणाले चार ओभरमा नौ रन खर्चेर तीन विकेट लिइन्। नेरीले चार ओभरमा दुई ओभर मेडन राख्दै छ रन मात्र दिएर दुई विकेट लिइन्।
नेपाली टोलीमा १४ सदस्यीय खेलाडीसहित मुख्य प्रशिक्षक विनोद दास, म्यानेजर अमृता पौडेल र फिजियो सकुना डानी थाइल्यान्ड गएका छन्। नेपाली टोलीमा रुविना क्षेत्री (वेलवासे)को कप्तानीमा रहेको नेपाली टोलीमा सीता राना मगर (उप–कप्तान), करुणा भण्डारी, सरिता मगर, नेरी थापा, इन्दु बर्मा, सोनु खड्का, आरती विडारी, काजल श्रेष्ठ, रोमा थापा, कविता कुँवर, डोली भट्ट, ममताकुमारी चौधरी र विन्दु रावल तथा वैकल्पिक खेलाडीमा रितुकुमारी कनोजिया, सुमन विष्ट र सब्नम राई रहेका छन्।
प्रतिक्रिया