द्वन्द्व निम्त्याउने वातावरण नबनोस्

pm office

  दुई तिहाईको वर्तमान सरकारले अघिल्लो सरकारले गरेका राम्रा निर्णय र कामहरूलाई उल्ट्याउने श्रृंखलालाई छाड्न सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस नेतृत्वको सरकारले गरेका सबै निर्णयहरूलाई रद्दिको टोकरीमा मिल्क्याएर आफू अनुकूलका निर्णय गर्दै जाने योजना बनाएका छन् ।

दुई तिहाईको बुहमुत आउने वित्तिकै प्रमुख विपक्षी दल नेपाली कांग्रेसलाई हेपाह प्रवृत्ति देखाउँदै आएका ओलीले त्यो प्रवृत्तिमा सुधार गर्न सकेका छैनन् । सत्तारुढ नेकपाका नेताहरूले नै मेलमिलाप र सहकार्यको नीतिलाई अवलम्बन गर्न सार्वजनिक रुपमा आग्रह गरिरहेका बेला ओली सरकारको क्रियाकलापले प्रमुख विपक्षी दल नेपाली कांग्रेस रिसाएको छ ।

ओलीले सोमबारको मन्त्रिपरिषदको बैठकमा उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई समेत जानकारी नदिएर गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खोलिएका दुई अस्पतालहरू खारेज गर्ने निर्णयले ठूलो उथलपुथल ल्याइदिएको छ । नेपाली कांग्रेसले अस्पताल खारेज गर्ने ओली सरकारको प्रस्तावलाई यत्तिकै अगाडि बढ्न नदिने बताएको छ । ओलीले पनि यो विषयलाई जुँगाको लडाइँ ठानेका छन् । कांग्रेसले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा तनहुँ र बाँकेमा खोलिएका अस्पताललाई कुनै पनि हालतमा स्थापित गराइ छाड्ने पक्षमा पुगेको छ ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सिंहदरबारमा गत आइतबार आकस्मिक रुपमा पत्रकार सम्मेलन गरेर सरकारको निर्णयको कठोर भाषामा विरोध जनाइसकेका छन् । पौडेलले यो विषयमा ओलीसँग भेटेरै विरोध गर्न चाहेका थिए । तर, ओलीले कांग्रेसको माग र विरोधलाई सुनुवाई गरेका छैनन् ।

ओली सरकारको दुई तिहाईको दम्भ र कांग्रेसले भन्दै आएको अधिनायकवादले जरा गाडेको हो कि भनेर धेरैले आशंका गर्न थालेका छन् । कांग्रेसले अब ओली सरकारबाट यस्तै व्यवहार दोहोरी रहने हो भने कडा कदम उठाउने संकेत गरेको छ । यदि ओली सरकारविरुद्ध कांग्रेस सडकमा गयो भने ठूलो समस्या उत्पन्न गर्नेछ ।

त्यस कारण पनि ओली सरकारले प्रमुख विपक्षी दल नेपाली कांग्रेसलाई विश्वासमा लिएर अगाडि बढ्दा नै उचित हुन्छ । कांग्रेसले आफैले बनाएको संविधान कार्यान्वयन होस् भन्ने चाहन्छ । अहिले नै संविधानलाई असहयोग हुने गरेर कुनै पनि कदम उठाउने पक्षमा कांग्रेस नभएको कांग्रेसका नेताहरु नै बताउँछन् । कांग्रेसको यही विषयलाई कमजोरी ठानेमा मुलुकमा ठूलै द्वन्द्व निम्ताउने आशंका गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित