कलाकारका लागि धन्दा बन्यो अवार्ड

award

    काठमाडौं । नेपाली कलाक्षेत्रमा विकृति रहेको धेरै पहिलादेखि नै कुरा चल्दै आएको छ । अश्लीलता होस् वा झै–झगडा या विदेश पलायन हुने कुरा यी सबै नेपाली कलाकारिताका विशेष बनिसकेका छन् । नायिक, नायिका, गायक, गायिका, संगीतकार, रचनाकार, निर्देशक, निर्माता, मोडल, चरित्र अभिनेता, अभिनेत्री आदि सबै विदेश जानका लागि कति मरिहत्ते गर्छन् भन्ने कुराको विदेश पालयन भएका कलाकारहरूको लामो सूचीले प्रष्ट पारेको छ ।

विशेष गरेर अमेरिका, अष्ट्रेलिया, क्यानडा, जापान, लण्डन, युरोपका देशहरूमा पलायन हुन चाहने कलाकारहरूको दौडधुपले कलाक्षेत्रलाई बद्नाम गराएको छ । ती देशहरूले भिषा दिनका लागि सबैभन्दा बलियो प्रमाण पत्रपत्रिकामा आएका समाचारहरूलाई मान्ने गरेपछि पत्रपत्रिकामा समाचार छपाएर विदेश छिर्न खोज्ने कलाकारहरूको राजधानीमा लामै सूची छ ।

त्यति मात्रै होइन पत्रपत्रिकाको समाचारको कटिङ देखाएर सैयौँ कलाकारहरू विदेश पलायन भएका छन् । नेपालमा सानोतिनो काम गर्न लाजमा मान्ने ती कलाकारहरू अमेरिका, युरोपसहितका देशमा पलायन भएर ‘क्लिनर’को काम गर्ने गरेको धेरैले बताउँछन् । नेपाललाई गाली गर्ने ती ढोँगी कलाकारहरूले अमेरिका, युरोप लगायतका देश प्रवेश गर्नेवित्तिकै राष्ट्र प्रेमका ठूलाठूला गफ पनि दिने गर्छन् ।

पछिल्लो समय अवार्ड अर्थात् पुरस्कारलाई अमेरिका, युरोपसहितका देशहरूले विशेष ध्यान दिने गरेकाले कलाकारहरूले सेटिङमा पुरस्कार लिने गरेका छन् । कलाकारितामा वितरण हुने अधिकांश पुरस्कारहरू निष्पक्ष छैनन् । ती पुरस्कारहरू कि त विक्री गरिन्छ । कि त आफ्ना निकटका कलाकारहरूलाई दिने गरिएको छ । अवार्डहरूलाई मागी खाने भाँडो बनाएको फिल्म निर्देशक देवेन्द्र पाण्डेले बताए । ‘नेपाली कलाकारितामा विभिन्न संघ संस्थाले वितरण गर्ने पुरस्कार कामको मूल्यांकन गरेर दिइँदैन’, उनले भने, ‘सबै सेटिङमा वितरण हुन्छ ।’

ती अवार्डहरूमध्ये नेपालभन्दा बाहिर गएर विदेशी भूमिमा गरिने अवार्डको मूल्य बढी छ । केही संघ संस्थाले ५–७ जना कलाकारलाई विदेश लगेर सेटिङमा कोठाभित्र पुरस्कार वितरण गरेर स्वदेश फिर्ता हुने गरेका छन् । ‘विदेश जानका लागि प्रमाणका रुपमा पेश गर्न पनि पुरस्कारहरू किन्ने परम्परा बढेको छ’, एकजना गायकले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘म पनि अमेरिका जान प्रयास गरिरहेको छु । पुरस्कार र पत्रपत्रिकामा आएका समाचारहरूलाई प्रमाणका रुपमा एम्बेसीमा पेस गर्दै छु ।’ विदेशमा गरिने अवार्ड कार्यक्रमलाई अन्तर्राष्ट्रिय पुरस्कारको रुपमा एम्बेसीमा प्रमाणका रुपमा पेश गर्दा विश्वास धेरै हुने ती गायकले बताए ।

नेपाली कलाक्षेत्रमा पछिल्लो समय अवार्डको धन्दा नै बनेको छ । हालसम्म वितरण भएका राम्रा अवार्ड लिएका अधिकांश कलाकारहरूविदेश पलायन भैसकेका छन् । नाम चलेका र राम्रा कलाकारलाई सेटिङका पुरस्कार आवश्यक्ता पर्दैन । तर, जोडबल र चाकडीबाट कलाकार बनेकाहरूले पुरस्कार किनेर लिने परम्परा बसालेर विकृति भित्र्याएको धेरैको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित