यी अवैध कारोबार ढाकछोप गर्न सक्छन् ढकालले ?अख्तियारदेखी सम्पत्ति सुद्धिकरणसम्म चलखेल
काठमाडौं । विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन–२०२१ ले नेपालीलाई विदेशमा कुनै पनि प्रकारको लगानी गर्न निषेध गरेको छ । तर, त्यस विपरीत ५५ नेपालीले विदेशमा लगानी गरेको भन्दै खोज पत्रकारिता केन्द्र (खोपके)ले सार्वजनिक गरेको नेपाललिक्समा आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालको पनि नाम जोडिएपछि आत्तिएर पत्रकार सम्मेलन गर्दै उनले ट्याक्स हेभन (कर छली) मुलुकबाट लगानी नभित्र्याएको दावी गरे । तर, उनको दाबी झुटो रहेको खोपकेका विवरणहरुबाट प्रस्ट हुन्छ ।
खोपकेका अनुसार ढकालले बेलायतको कम्पनी रजिष्ट्रारको कार्यालय ‘कम्पनिज हाउस’ मा सन् २००२ अगष्ट ९ मा सनवर्ड कम्प्युटर कन्सल्ट्यान्टस लिमिटेड खरीद गरेको देखिन्छ । आईसीआईजेको सहयोगमा प्राप्त कागजात अनुसार, उनले खरीद गरेको १२औं दिनमा कम्पनीको नाम परिवर्तन गरी इन्टरनेशनल मनी एक्सप्रेस (आईएमई) युके लिमिटेड बनाएका थिए । यसमा ढकाल, उनका भाइ हेमराज, दुुई बेलायती र दुुई गैरआवासीय नेपालीले लगानी गरेका छन् ।
गैर आवासीय नेपालीहरूमा बेलायत बस्ने अनिलकुमार लामिछाने र कमल पौडेल छन् । २१ अगस्ट २००२ मा बेलायतको कम्पनी रजिष्ट्रारको कार्यालयलाई लेखेको पत्रमा ढकालले भनेका छन्, ‘नेपाल र मलेशिया दुवैमा हामी लिमिटेड कम्पनी हौं । कम्पनीको नाम इन्टरनेशनल मनी एक्सप्रेस (आईएमई) लिमिटेड हो ।’ हेमराज ढकालको लगानी रहेको अर्को कम्पनी आईएमई होल्डिङ लिमिटेड पनि बेलायतमा दर्ता छ । कम्पनिज हाउसले उपलब्ध गराएको विवरण अनुसार, चन्द्र ढकालको नेपालको ठेगाना महाराजगञ्ज–४ काठमाडौं र बेलायतको ठेगाना पेन्ट्याक्स हाउस, साउथ ह्यारो मिडिल सेक्स इङ्गल्यान्ड उल्लेख छ । हेमराजको ठेगाना चाहिं बेलायतको पेन्ट्याक्स हाउस, साउथ ह्यारो मिडिल सेक्स इङ्गल्यान्ड लेखिएको छ ।
यी तथ्य बाहिरिएपछि ढकालले गलत भन्ने प्रतिकृया बाहेक कुनै प्रमाण पेश गर्न सकेका छैनन् । त्यसो त शुरुमा ढकाल हुण्डीबाट रातारात करोडपति बनेका व्यक्ति हुन । ग्लोबल आईएमई बैंकले हुण्डी र अबैध कारोबार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बिशेष अनुसन्धान महाशाखाले २०७३ माघ १८ गते छानविन थालेको थियो । तर, अख्तियारका विभिन्न व्यक्तिलाई प्रभावमा पारी ढकालले उक्त अनुसन्धान नै तुहाएको उनीमाथि आरोप छ ।
विगतमा सिंगापुर र मलेसियामा समेत कम्पनी खोलेर अबैध हुण्डीदेखि डलरको कारोबार गरेको आरोप उनीमाथि लागेको थियो । आईएमई ग्रुपका अध्यक्ष ढकालमाथि सम्पत्ति सुद्धिकरण विभागदेखि नेपाल प्रहरीको केन्द्रिय अनुसन्धा ब्यूरो (सिआईवी)मा समेत केही वर्ष अघि मुद्दा परेको थियो । चन्द्रागिरी हिल्सले जंगल फडानी गरेको भन्दै परेको मुद्दा त उनले तुहाइसकेका छन् । सिआईबीले ढकालको शंकास्पद कारोबारमाथि अनुसन्धान गरेको थियो ।
रेमिट्यान्सको कम्पनीको नाममा अवैध हुण्डी र डलरको कारोबार गरेको भन्दै उनीमाथि छानविन भएको थियो । तर, कांग्रेस सरकारको पालामा गृहमन्त्री रहेका कृष्णप्रसाद सिटौलाको दबाबमा उनको मुद्दा सल्टाइएको थियो । मलेसियामा सञ्चालनमा आएको आईएमई २ वर्ष पहिला नै ढकालले अमेरिकन कम्पनीलाई मलेसियाको ब्राण्ड बेचेर त्यसबाट आएको रकम समेत विदेशमा नै लगानी गरेको स्रोतको भनाई छ । ढकालले मलेसियाको आईएमई १ अर्ब रुपैयाँमा बेचेको र उक्त रकम नेपाल नपठाई विदेशमा नै लगानी गरेको बताइएको छ ।
ढकालको बारेमा सम्पत्ति शुद्धिकरण विभाग र नेपाल राष्ट्र बैंक मौन रहे पनि बिगतमा उनले उनले अवैध तरिकाले मलेसियमा ‘आइटेल’ नामक कम्पनी खोलेर अवैध रकमको कारोबार गरेको सम्पत्ति शुद्धिकरण विभाग र सिआईबीको अनुसन्धानका क्रममा खुलेको थियो । अनुसन्धानका क्रममा आइटेल नामक कम्पनी खोल्न र लगानी गर्न नेपालबाट स्वीकृति नलिए पनि नेपाल राष्ट्र बैंक मौन बस्दा ढकालका गैरकानुनी कारोबारहरु फस्टाएको खुलेको थियो । ढकालले शुरुमा आइटेलसँगै मलेसियालाई रेमिट्यान्स हवसमेत बनाएका थिए ।
अन्य देशबाट नेपाली युवाले कमाएर पठाएको पैसा अबैध रुपमा मलेसिया हुँदै आउने व्यवस्था ढकालले मिलाएर मलेसियालाई रेमिट्यान्स हवको रुपमा विकास गरे पनि नेपाल राष्ट्र बैंक मौन रहेको थियो । मलेसिया लगायतका देशबाट नेपाल फर्कने युवालाई आईएमईले विदेशमै नेपाली रुपैयाँ सटहीको सुविधा उपलब्ध गराएको उजुरी पनि राष्ट्र बैंकमा परेको थियो ।
ढकालले कुन बाटोबाट विदेशमा नेपाली रुपैयाँ लैजान पाएका हुन्, त्यस बारेमा राष्ट्र बैंकले ढकालको पहुँचका कारण छानविन नै नगरेको स्रोत बताउँछ । ढकालले मलेसिया लगायत खाडीका साथै जापान र अमेरिकामा बसेका नेपालीहरुलाई पनि चाहेको खण्डमा जति पनि नेपाली रुपैयाँ उपलब्ध गराउने गरेका छन् ।
खासगरी नेपाल फर्कने युवाहरुलाई विदेशस्थित आईएमईका काउन्टरहरुले नेपाली मुद्रा दिने गरेको छ । काठमाडौंमा उत्रिएपछि विमानस्थलबाट बाहिर निस्कन तथा मुद्रा सटही गर्न झन्झट हुने भन्दै आईएमईले विदेशमै नेपाली रुपैयाँको सटही सुविधा उपलब्ध गराउँदै आएको छ । साना व्यवसायीलाई सम्पत्ति शुद्धिकरणको कारबाही सुरु भए पनि रातारात ठूला व्यपारी बनेका आईएमई ग्रुपका अध्यक्ष ढकालका सन्दर्भमा भने ‘अरुलाई ऐन, चन्द्रलाई चैन’ भनेजस्तो देखिएको छ ।
एनसेलको ८० प्रतिशत सेयर होल्डर मलेसियन एक्जिएटा कम्पनी नेपाल भित्रने क्रममा ढकालले २० प्रतिशत सेयर खरिद गर्न खोजेका थिए । तर, अख्तियारका निलम्वित प्रमुख लोकमानसिंह कार्कीले सतिशलाल आचार्यको पक्षमा उभिएर ढकाललाई धम्की दिएका कारण उनको एनसेलमा प्रवेश गर्ने योजना तुहिएको थियो । तर, लोकमान अख्तियारमै छँदा ढकालले आफ्नो अवैध कारोबारको मुद्दा भने मिलाएका थिए ।
किन टिक्दैनन सिइओ ?
ग्लोबल आईएमई बैंकमा जनक शर्मा पौडेलले राजिनामा दिएपछि महेशप्रसाद ढकालले कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका छन् । जनक शर्मा पौडेलले राजिना पत्र इमेलबाट पठाएपछि ढकालले बैंकको प्रमुखको जिम्मेवारी पाएका हुन ।
ढकाल टुरिज्जम डेभलपमेन्ट बैंक मेगासँग मर्ज भएपछि ३ महिनाअघि मात्र ग्लोबल आईएमई बैंकमा डेपुटी प्रमुख कार्यकारी अधिकृतका रुपमा प्रवेश गरेका थिए ।
शर्माले बैंकबाट किन राजिनामा दिएको भन्ने विषयमा धेरै नखोलेपनि बैंकका अध्यक्ष ढकालसँग केहि दिन अघिमात्र सार्वजनिक भएको आईएमई समूहको विवादास्पद विदेशी लगानीका विषयमा विवाद भएपछि अध्यक्षको प्रेसरमा राजिनामा दिएको बुझिएको छ । ग्लोबल बैंक हुँदा नै सुमन न्यौपानेले चन्द्रप्रसाद ढकालसँगको मनमुटावका कारण बैंक छोडेका थिए । (यूनाइटेड पोस्ट साप्ताहिक)
प्रतिक्रिया