क्रिकेट मैदान निर्माणका लागि आर्थिक सङ्कलन अभियान
काठमाडौं । गौतम बुद्व अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको घोषणा गरेको धर्मुस सुन्तली फाउण्डेशनले आर्थिक सङ्कलन अभियानलाई तीव्र बनाएको छ ।
चितवनमा गौतमबुद्व अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउने घोषणा गरेका अभियान्ता सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे(सुन्तली) अहिले विश्वका विभिन्न देशमा कार्यक्रमको आयोजना गर्दै रकम सङ्कलन गरिरहेका छन् । उनीहरुले यसै साता क्रिकेट मैदान निर्माणका लागि मलेसियाका तीनवटा शहरमा ‘धुर्मुस सुन्तली साँझ’ कार्यक्रमको आयोजना गरी रु ३५ लाख सङ्कलन गरेका छन् ।
फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेलले सामाजिक सञ्जालमार्फत मलेसियाको तीनवटा शहर क्वालालामपुर, जोहोरबाहु र पेनाङमा भएको मनोरञ्जनात्मक कार्यक्रममार्फत रु ३५ लाखभन्दा बढी रकम सङ्कलन भएको जानकारी दिनुभयो ।
रङ्गशाला निर्माणको घोषणापछि सहयोग जुटाउन अहिले उहाँहरु मलेसियामा हुनुहुन्छ । कट्टेलका अनुसार नेपाली समुदायबाट रु २० लाख ७१ हजार र कार्यक्रम आयोजक सिटी एक्सप्रेसबाट रु १५ लाख गरी रु ३५ लाख ७१ हजार सङ्कलन भएको हो ।
अभियान्ता कट्टेलले मलेसियामा रहेका नेपालीले देखाएको उत्साह र सहयोगले निकै हौसला मिलेको बताउँदै अझै धेरै सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । रङ्गशाला निर्माणको सहयोगार्थ सिटी एक्सप्रेसले ‘धुर्मुस सुन्तली साँझ’को आयोजना गरेको थियो ।
मलेसियापछि अन्य मुलुकमा पनि यस्तै कार्यक्रम गर्नेबारे छलफल भइरहेको बताउँदै कट्टेलले रङ्गशाला निर्माणका लागि आवश्यक रु दुई अर्ब रकम फाउण्डेशन आफैँले मात्र जुटाउन कठिन हुने भन्दै सबैसँग सहयोगको आग्रह गर्नुभएको छ । “रङ्गशाला निर्माणको सहयोगार्थ जुन उद्देश्य लिएर हामी मलेसिया आएका थियौँ । मलेसियामा रहनुभएका नेपाली दिदीबहिनी दाजुभाइबाट हामीले सोँचेभन्दा पनि राम्रो साथ सहयोग र सद्भाव पाएका छौं । (रासस)
प्रतिक्रिया