भ्रष्टाचार गरे अख्तियारका कर्मचारीलाई पनि छाडिदैन: सञ्चार मन्त्री बाँस्कोटा

gokul

 बनेपा । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भ्रष्टाचारी विकास विरोधी भएको वताएका छन् । बनेपा नगरपालिका–११ को कार्यालय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले भने , ‘भ्रष्टाचारी विकास विरोधी हो, सरकारसँग भ्रष्टाचारमा सहनशीलता रहन्न, जोसुकैले भ्रष्टाचार गरोस्, कदापि मोलमोलाइ र छुट हुन्न ।’

 उनले भ्रष्टाचारीलाई कानूनी दायरामा ल्याउँदा मुलुकमा भ्रष्टाचार बढ्यो भनेर गलत प्रचार गर्नु दुःखद रहेको बताए । मन्त्री बाँस्कोटाले भने , ‘भ्रष्टाचारीलाई कानूनी दायरामा ल्याउँदा बढ्ने हैन, न्यूनीकरण हुँदै जान्छ, यसबाट भ्रष्टाचारोन्मुख व्यक्ति वा सचेत रहन्छ, भ्रष्टाचारीलाई सजायँ गर्दा भ्रष्टाचार न्यून हुँदै जान्छ ।’

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारी समेतलाई भ्रष्टाचार आरोप नछाडिएको र अन्यका हकमा पनि शंका गर्नु नपर्ने स्पष्ट पारे । मन्त्री बाँस्कोटाले एक वर्षमा सरकारको उपलब्धि ‘शून्य’ भन्नेको हेर्ने, देख्ने, बुझ्ने र व्यक्त गर्नेमा नै शून्यता रहेको बताए ।

 मन्त्री बाँस्कोटाले काभ्रेपलाञ्चोकको बनेपा नपा–११ नागीडाँडामा प्रस्ताव गर्न खोजिएको विमानस्थल बनाउन आन्तरिक गृहकार्य भइरहेको बताउँदै भने , ‘नागीडाँडामा एयरपोर्ट बनाउने विषयमा सम्बन्धित निकायमा दबाब दिइरहेका छौँ, यहाँ नभए अन्यत्र विकल्प खोज्नेछौँ ।’
(रासस)

प्रतिक्रिया

सम्बन्धित