आहा रारा गोल्डकपमा १० टिम
विजय नेपाल /
पोखरा। सहारा क्लब पोखराको आयोजनामा विहीवारदेखि पोखरा रंगशालामा १७ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिता हुँदैछ । यसपालि मात्र १० टिमले सहभागिता जनाउने प्रतियोगितामा आयोजकले पुरस्कार राशिमा भने वृद्धि गरेको छ । विजेताले ८ लाख १ हजार र उपविजेताले ४ लाख १ हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन् ।
क्लबले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा क्लब अध्यक्ष केशवबहादुर थापाले मोफसलको सबैभन्दा चर्चित सो फुटबल प्रतियोगितालाई अझ महत्व दिन पुरस्कार राशि वृद्धि गर्दैआएको जानकारी दिए । गत संस्करणमा विजेताले ७ लाख १ हजार र उपविजेताले ३ लाख ५१ हजार पाएका थिए ।
निर्माणाधीन पोखरा रंगशालामा अस्थायी प्यारापिट बनाएरै भए पनि प्रतियोगितालाई निरन्तरता दिँदै क्लबले विगतको साख जोगाइराख्ने पक्षमा रहेको क्लबका पूर्व अध्यक्ष वीरभद्र आचार्य बताउँछन् ।
भोली ९ गतेबाट १८ फागुनसम्म हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा मनाङ मस्र्याङ्दी क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब, धरान फुटबल क्लब, भारतको युनाइटेड सिक्किम फुटबल क्लब, थ्रीस्टार क्लब, आयोजक सहारा क्लब पोखरा, क्यामरुनको डफिन्स फेमिली टिम फुटबल क्लब र हिमालयन शेर्पा क्लबले सहभागिता जनाउने क्लब महासचिव विश्वराज बरालले बताए ।
उद्घाटन खेल आयोजक सहारा क्लब र एपीएफबीच हुने प्रतियोगिता संयोजक हरेराम गुरुङ सुरजले बताए ।
प्रतियोगिताबाट १ करोड ३० लाख आम्दानी हुने र खर्च कटाइ ३२ लाख २ हजार बचत गरिने क्लबको लक्ष्य रहेको आयोजकले जनाएको छ ।
सर्वोत्कृष्ट खेलाडीलाई स्कूटर, वेष्ट अफ फाइभ विधातर्फ जनही १५ हजार र ट्रफी दिइनेछ ।
यस्तै सर्वाधिक गोलकर्ता खेलाडीले २५ हजार साथमा ट्रफी पाउनेछ ।
आयोजकलाई एक जनालाई सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मानवापत ३५ हजार रुपैयाँ प्रदान गर्ने तयारी समेत गरेको छ ।
प्रतिनिधिसभा सदस्य एवं हिमश्री फुड्स प्रालि कार्यकारी अध्यक्ष सूर्यबहादुर केसीले आहारारा फुटबलले मोफसलको फुटबल विकासमा सघाउ पु-याएको बताए ।
मोफसलको प्रतिष्ठित सहारा क्लब पोखराले पोखरा १७ दोबिल्लामा सहारा एकेडेमी संचालन गरी १६ जिल्लाका विपन्न तथा कठिन परिस्थितिका २८ जना बालकलाई फुटबल सिकाउँदै आवासीय सुविधा दिएको छ । आहा रारा १७ औं संस्करण भए पनि क्लबले सुरुवातमा क्याराभानसहित आयोजना गरेको यो १८ औं संस्करण हो ।
प्रतिक्रिया