देशभर मौसम बदली, वर्षा र हिमपात हुने संभावना
काठमाडौं ।आज देशभरको मौसम सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको प्रभावका कारण अबको तीन दिन देशभरकै मौसम सामान्य बदली भई पानी पर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिएका छन् ।
मौसमविद् प्रधानाङ्गका अनुसार काठमाण्डौसहित देशका धेरैजसो ठाउँमा आइतबार दिउँसो पानी पर्ने सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको समेत सम्भावना छ ।
सोमबार र मंगलबार पनि देशको धेरैजसो ठाउँको मौसम बद्ली भई पानी पर्ने सम्भावना रहेको छ, तर ठूलो पानी पर्ने अथवा लगातार पानी पर्ने सम्भावना भने नरहेको मौसमविद् प्रधानाङ्गले बताएका छन् ।
यो वर्ष पश्चिमी वायु लगातार रुपमा नेपाल भित्रिइरहेको छ । यसैको प्रभावले केही दिनमा नै मौसम बदलिरहेको छ । लगातार रुपमा भित्रिरहेको पश्चिमी वायुका कारण धेरै लामो समयसम्म घाम लाग्न सकेको छैन । महाशाखाका अनुसार यो वर्ष हिउँदे वर्षा पनि औसतभन्दा बढी भएको छ ।
यो वर्ष गएको पुस २३ गते काठमाण्डौ उपत्यकामा पहिलो पटक हिउँदे वर्षा भएको थियो । त्यसपछि भने लगातार रुपमा पश्चिमी वायु भित्रिरहेको छ ।
प्रतिक्रिया