आज अन्तर्राष्ट्रिय महिला दिवस : महिलाको प्रतिनिधित्व बढेकोप्रति प्रधानमन्त्रीद्धारा खुसी व्यक्त
काठमाडौं । १०९ औं अन्तर्राष्ट्रिय महिला दिवस विश्वभर विविध कार्यक्रम गरी आज मनाइँदैछ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ ।
यस वर्षको महिला दिवसको नारा ‘लैंगिक समानताका लागि समान सोच र व्यवहार समृद्धिको आधार’ दिइएको छ । १०९ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले शासकीय पद्धतिमा भएको परिवर्तनसँगै संघीय संरचनामा महिलाहरुको प्रतिनिधित्व बढेको बताउँदै राजनीतिक, आर्थिक एवम् सामाजिक क्षेत्रमा महिलाको प्रतिनिधित्व बढेकोमा खुशी व्यक्त गरेका छन्।
प्रधानमन्त्री ओलीको शुभकामना सन्देशमा भनिएको छ–‘महिलाको कूल साक्षरता दरमा वृद्धि, मातृ मृत्युदरमा सुधार तथा उनीहरुको आर्थिक सशक्तिकरण भइरहेको तथ्याङ्कहरूले देखाएका छन्। पैतृक सम्पत्तिमा समान हक, सामाजिक सुरक्षा र सामाजिक न्यायका लागि भएका नीतिगत र कानूनी व्यवस्थाका कारण सुधारका लक्षणहरू देखिएका छन्।’
अब विलम्व नगरी विभेद र कुरीतिको अन्त्य गर्दै न्याय र समानतामा आधारित सभ्य समाज निर्माण गर्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भनेको छन्–‘हाम्रो समाजमा बोक्सीको नाममा हुने ज्यादती, दाइजो प्रथा, छाउपडीजस्ता कुरीतिका साथै यौन दुव्यर्वहार र हिंसाका घटनाले नारीको सम्मान गर्ने हाम्रो मौलिक सभ्यतालाई चुनौती दिएको छ ।’
महिला दिवसको इतिहास
सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनबाट क्लारा जेट्किन सेक्रेटरी भइन् । त्यसपछि १९०८ मार्च ८ को दिन अमेरिकाको सिकागो सहरमा समान अधिकारको माग अघि सारेर महिलाहरूले हड्ताल र विशाल जुलुस प्रदर्शन गरे ।
महिला हक अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिनका रुपमा ८ मार्चलाई लिने गरिन्छ ।
जर्मनीकी मार्क्सवादी नेतृ क्लारा जेट्किनले सन् १९१० मा कोपेनहेगेनमा आयोजित महिलाहरुको द्वितीय अन्तर्राष्ट्रिय सम्मेलनमा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा प्रस्ताव गरेकी थिइन् । जसलाई सम्मेलनले पारित गर्यो र सन् १९११ देखि महिला दिवस मनाउने थिति बसालियो । जुन अद्यपि कायमै छ ।
प्रतिक्रिया