भारतबिरुद्ध पाकिस्तानको उजुरी
काठमाडौं । भारतले खेलभावना विपरीत खेलमा राजनीति घुसाएको भन्दै पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)मा उजुरी दिएको छ ।
अस्ट्रेलियासँगको तेस्रो एकदिवसीय खेलमा भारतीय क्रिकेटरले आर्मीले लगाउने क्याप लगाएर खेल्नु खेलको भावना विपरीत भएको र त्यसले क्रिकेटमा नकारात्मक असर पार्ने भन्दै पीसीबीले भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) विरुद्ध उजुरी दिएको हो ।
अस्ट्रेलियासँगको तेस्रो एकदिवसीय खेलअघि भारतीय स्थल सेनाका मानार्थ लेफ्टिनेन्ट कर्नेल महेन्द्रसिंह धोनीले खेलाडीहरुलाई आर्मी क्याप दिएका थिए । जसलाई पुलवामा आक्रमणमा निधन भएका सैनिक जवानप्रतिको सम्मानका रुपमा बीसीसीआईले अथ्र्याएको थियो । त्यसबारे बीसीसीआईले आईसीसीलाई पूर्व जानकारी दिएर अनुमित लिएको बताइएको छ ।
उक्त घटनाले क्रिकेट जगतमा भारतको साख गिरेको भन्दै पीसीबीका अध्यक्ष एहसान मणिले भनेका छन्, ‘हामीले बलियो रुपमा उक्त कामलाई आईसीसीमा उठाएका छौं । भारत र पाकिस्तानको अवस्थाका बारेमा आईसीसीलाई राम्रोसँग जानकारी छ । हामी मान्छौँ खेललाई राजनीतिका लागि प्रयोग गर्नुहुँदैन, त्यही कुरा स्पष्ट रुपमा भनेका छौँ ।’
भारतीय टिमका कप्तान विराट कोहलीले तेस्रो एकदिवसीयमा आर्मी क्याप लगाउनुको मतलब टसका बेला बताएका थिए । उनले सेनाको सम्मान र शहीद परिवारलाई केही सहयोग होस् भन्ने हेतुले आफूहरुले उक्त क्याप लगाएको बताएका थिए ।
‘हामीले पुलवामा आक्रमणमा शहीद भएका जवान र उनीहरुको परिवारको सम्मानमा यस्तो गरेका हौं । हामी सबै खेलाडीले यो खेलको ‘म्याच फी’मा आएको रकम पनि नेसनल डिफेन्स फण्डमा दिने छौँ । जसले शहीद परिवारको सन्तानको शिक्षादीक्षामा सहयोग पुग्ने आश गरेका छौं’ कोहलीले भनेका थिए ।
पीसीबीका अध्यक्ष एहसानले भने यस्तो कामको विरुद्ध आईसीसीले कडा कदम चाल्नुपर्ने बताएका छन् । उनले यसअघि पनि आईसीसीले यस्तै कदमका विरुद्ध कारबाही अपनाएको उदाहरण रहेको पनि बताए ।
इंग्ल्याण्डका अलराउण्डर मोइन अलिले २०१४ मा भारतसँगको टेष्टका दौरान ‘सेभ गाजा’, ‘फ्री प्यालेस्टाइन’ लेखेको ब्याण्ड हातमा लगाउँदा उनलाई प्रतिबन्धमा पारिएको थियो । जसमा इंग्ल्याण्ड क्रिकेट बोर्डले मोइनले राजनीतिक कारणबाट नभई मानवतावादका लागि उक्त ब्याण्ड लगाएको भन्दै उनको बचाउ गरेको थियो । तर म्याच रेफ्री डेभिड बुनले मोइनले आईसीसीको ड्रेस र उपकरणसम्बन्धी नियम उल्लंघन गरेको बताएका थिए ।
यस्तै दक्षिण अफ्रिकाका लेग स्पिनर इमरान ताहिरलाई २०१७ मा श्रीलंकाविरुद्धको खेलमा खेलभावना विपरीत सेलिब्रेसन गरेको भन्दै आईसीसीले चेतावनी दिएको थियो । श्रीलंकाविरुद्धको टी ट्वान्टीमा विकेट लिएपछि ताहिरले जर्सीभित्र रहेको पाकिस्तानी पप आइकन जुनेद जमसेदको फोटो भएको टिसर्ट देखाएका थिए । जुनेद धार्मिक प्रवचकसमेत रहेका जुनेदको प्लेन दुर्घटनामा निधन भएको थियो ।
यसैले पीसीबीका अध्यक्ष एहसानले उस्तै खाले घटनामा कारबाही गरेको उदाहरण रहेकाले बीसीसीआईलाई उम्काउन नहुने बताएका छन् । त्यसका लागि आफूहरुले १२ घण्टाको फरकमा आईसीसीमा दुई पत्र पठाइसकेको पनि उनले बताए ।
प्रतिक्रिया