राम्रो र स्मरण योग्य काम गरेर देखाउँछु

सार्वजनिक लेखा समितिको सभापति भएका बेला विभिन्न मन्त्रालय र सरकारी कार्यालयहरूमा भएका भ्रष्टाचार तथा अनियमिताहरू रोक्न ठूलो भूमिका खेल्नु भएका रामकृष्ण यादवले अहिले कृषि मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ । कुनै समय सोही मन्त्रालयभित्र भएका अनियमितताका विषयमा यादव आफैले लेखा समिति बोलाई छलफल गराएर कारबाहीदेखि अनुशासित रुपमा काम गर्न निर्देशन दिएका थिए । कृषिलाई सरकारले हरेक वर्ष पहिलो प्राथमिकतामा राख्ने गरेको थियो । अहिले आएर सरकारले कृषिलाई ध्यान नदिएको हो कि भन्ने प्रश्न उब्जिएको छ । यसै सन्दर्भमा कृषि विकासमन्त्री यादवसँग गरिएको कुराकानी :

रामकृष्ण यादव - कृषि विकासमन्त्री

० कृषि विकास मन्त्रालयमा धेरै अनियमितता र भ्रष्टाचार छ भन्छन्, रोक्ने प्रयास गर्नुभएको छैन ? – मैले पनि सुनेको छु । अहिले त्यस्तो केही भएको थाहा पाएको छैन । यदि त्यस्तो अनियमितता भएको रहेछ भने म चुपलागेर बस्दिन । सिधै एक्सनमा जान्छु । संसदको सार्वजनिक लेखा समितिको सभापति भइसकेको व्यक्ति हुँ । दायाँ–बायाँ गर्न जानेको छैन । ० लेखा समिति चलाउन सजिलो कि मन्त्रालय चलाउन सजिलो ?

– हेर्नुस् काम भनेको इमान्दारिता र लगनशीलताले गर्नुपर्छ । सजिलो वा गाह्रो भन्ने हुँदैन । लेखा समिति पनि जिम्मेवार भएर चलाएको थिएँ । मन्त्रालय पनि राम्रोसँग चलाउँछु ।

० कृषि विकास मन्त्रालयमा तपाईले नयाँ कार्यक्रम केही ल्याउनु भएको छ ? – नयाँ कार्यक्रम भन्दा पनि कृषि मन्त्रालयका योजनाहरूलाई तीन भागमा विभाजन गरिएको छ । अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाहरू बनाउन लगाएको छु । अल्पकालीन कार्यक्रमहरू लागू भइसकेका छन् । मध्यकालीन र दीर्धकालीन कार्यक्रमहरू लागू हुने बेला तराईमा बाढीले डुबान बनायो । अहिले रोकिएको छ । फेरि पनि हामीले कार्यक्रम बनाएर कृषकहरूलाई राहत दिनेछौं ।

० कृषि मन्त्रालयको बजेट कार्यान्वयन नहुने समस्या छ भन्छन् नि ? – हो यो समस्या कृषि मन्त्रालयको मात्रै होइन । अरु मन्त्रालयमा पनि छ । बजेट समयमा खर्च गर्नुपर्छ । कार्यक्रमहरू समयमा पूरा गर्नुपर्छ । मेरो प्राथमिकता बजेट खर्चमा पनि छ । कार्यक्रमहरू समयमा सम्पन्न गरेर जनतालाई त्यसको प्रतिफल दिनुपर्छ । मन्त्रालय र विभाज तथा मातहतलाई बजेट कार्यान्वयन र योजनाहरूका विषयमा ध्यान केन्द्रित गर्न निर्देशन दिएको छ । म पनि बेलाबेला अनुगमनमा निस्कनेछु ।

० दुधको भाउ त ह्वतै बढ्यो नि, किन हो ? – मेरो ध्यान यतातिर पनि गएको छ । कृषकले दुःख गरेर उत्पादन गरेको दुधलाई सस्तोमा पनि किन्नु हुँदैन भन्ने मान्यता मेरो छ । तर, मूल्य बढेर गरिव जनताले दुध खानै नपाउने अवस्था हुनुहुँदैन भन्ने कुरा मैले राखेको छु । मूल्यलाई कसरी समायोजन गर्ने हो त्यसतर्फ पनि ध्यान दिने छु । सरोकारवाला निकायसँग सरसल्लाह भइरहेको छ ।

० बाढी तथा डुबानमा परेका किसानलाई राहत दिने विषयमा केही सोच्नु भएको छ ? – राहत दिने पूरा तयारी गरेका छौं । सरसल्लाह भइरहेको छ । किसानहरूलाई राहत दिने तयारी गरेका छौं । राहतका कार्यक्रम घोषणा हुन्छ । सरकारले जनतालाई राहत दिन्छ । हामी जनताका लागि काम गर्न बसेका हौं ।

० सुख्खाग्रस्तले गर्दा बालिनालीमा नोक्सानी भएको गुनासोहरू आएका छन्, त्यतातिर सरकारको ध्यान गएको जस्तो लाग्दैन नि ? – किन नजानु ध्यान गएको छ । मैले पहिला पनि भनिसकेको छु । किसानलाई राहत दिने गरेर कार्यक्रम आउँदै छ । छिट्टै ती कार्यक्रमहरूका बारेमा तपाईले थाहा पाउनु हुनेछ ।

० त्यसो भए अब किसानहरूले राहतको प्याकेज पाउँछन् ? – निश्चित पनि उनीहरूलाई राहत दिइनेछ । त्यसमा दुईमत छैन । कृषिमा राहतका प्याकेज कार्यक्रम बनिरहेका छन् ।

० कृषिमा अनुदान लिएर जिम्मेवारी अनुसार काम नगर्ने, पैसा घोटाला भएका थुप्रै उदाहरण पनि छ भन्छन् के हो ? – हो अनुदामन लगेर कृषि क्षेत्रमा भनेअनुसारको काम नगर्ने परम्परा रहेको मैले पनि सुनेको छ । मैले त्यस्ता क्रियाकलापहरूलाई निरुत्साहित गर्नेछु । कसैले त्यस्तो गरेको रहेछ भने कानूनी दायरमा ल्याइनेछ । जे कामका लागि अनुदान लगिएको हो त्यो अनुदान सोही काममा खर्च हुनुपर्छ । प्रगति विवरण बुझाउनु पर्छ । मन्त्रालय, मन्त्री या कर्मचारी मात्रै यसमा दोषी छैनन् । यसमा अनुदान लैजाने व्यक्ति वा किसान पनि जिम्मेवार बन्नुपर्छ ।

० सधै रासायनिक मलको अभाव भइरहन्छ किन हो ? – हामीसँग आधुनिक रासायनिक मलको उद्योग छैन । बाहिरबाट रासायनिक मल खरिद गर्नुपर्ने बाध्यता छ । त्यसकारले पनि समस्या भएको हो । रासायनिक मलको उद्योग स्थापना गर्ने विषयमा पनि मेरो सोच छ । तर, त्यसका केही प्राविधिक र प्रशासनिक झन्झट छन् भन्ने सुनेको छु । यदि सहज रुपमा उद्योग स्थापना गर्न सकियो भने नेपालका किसानलाई सहज हुनेछ । मेरो कार्यकालमा कम्तिमा यस्तै एउटा राम्रो र स्मरण योग्य काम गर्न पाए हुन्थ्या भनेरे सोच बनाएको छ । सबैको साथले मात्रै म सफल हुने हो ।

० तपाईलाई मन्त्रालयका कर्मचारीहरूबाट कत्तिको सहयोग भएको छ ? – म आएदेखि सहयोग नै भएको छ । हामी सबै अहिले बाढीले नोक्सानी गरेको खेतीबारीलाई कसरी फेरि पहिलाकै अवस्थामा ल्याउन सकिन्छ भनेर छलफल गरेका छौं ।

प्रतिक्रिया

सम्बन्धित