अनुहार हेरेर मूल्यांकन गर्न सकिने स्थिति छैन : प्रचण्ड
काठमाडौं । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच भएको पार्टी एकताको एक वर्ष पुग्नै लाग्दा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का जिल्ला कमिटीहरुको एकीकरण टुंगो लगाउने प्रयास भइरहेको छ । भोली अर्थात ९ गते सोमबार कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर जिल्ला अध्यक्ष र सचिवका साथै पोलिटव्यूरो सदस्यहरुको नाम सार्वजनिक गर्ने तयारी भएको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड’ले बताएका छन् ।
पार्टी एकता प्रक्रिया टुंगोमा पुग्दैन कि भनेर आशंका नगर्न आग्रह गर्दै उनले भने–‘पार्टी एकता प्रक्रिया टुंगोमा पुगेको औपचारिक घोषणा सोमबार हुन्छ ।’
नेकपा स्थापनाको ७० औं दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने–‘एउटा प्रिन्सिपलमा आधारित भएर, किनकि मान्छेको अनुहार हेरेर मूल्यांकन गर्न सकिने स्थिति छैन । एउटा सिद्धान्तमा टेकेर एकता गरौं भन्ने नीतिगत निर्णय हामीले गरिसकेका छौं ।’
कार्यक्रममा सहभागी हुन आउनुअघि आफूले बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग एकताबारे छलफल गरेको जानकारी पनि प्रचण्डले दिए । सो छलफलमा आइतबार दिनभर गृहकार्य गरेर टुंगो लगाउने जिम्मा दुई जना नेतालाई दिएको पनि उनले बताए ।
नेकपाका नेता माधव नेपाल र महासचिव विष्णु पौडेललाई एकता प्रक्रियाको प्रस्ताव तयार पार्ने जिम्मा र सो प्रस्तावलाई आइतबार साँझ ६ बजे ओली र प्रचण्डसहित सचिवालय बैठक बसेर टुंगो लगाउने नेकपाको तयारी छ ।
प्रचण्डले भने–‘३ महिनाभित्रै एकताको काम सक्ने भनेका थियौं, अहिले झण्डै १२ महिना भइसकेको छ । अब एकता टुंगियो । यसमा कुनै शंका नलिन अपिल गर्दछु ।’
प्रतिक्रिया