चार पटक भरिया बनेर सगरमाथा चढेँ, अब आफै विश्व रेकर्ड बनाउँछु : लिलावहादुर बस्नेत
दोलखा जिल्लाको बिगु गाउँपालिका वडा नम्बर १, लामाबरका लीलाबहादुर बस्नेतले चार पटकसम्म विश्वकै सर्वोच्च शिखर सगरमाथाको चुचुरो चुमी सकेका छन् । उनले सगरमाथाको चुचुरो चुमेको चार पटक हुँदा पनि उनी गुमनाम छन् । तर, उनले सगरमाथाको चुचुरो चुमेको भरियाको रुपमा हो ।
यस पटक बस्नेतले आफ्नै हैसियतमा सगरमाथाको चुचुरो चुम्ने तयारी गरेका छन् । उनले काठमाडौंबाट सगरमाथाको चुचुरोमा सात दिनको लक्ष्य राखेका छन् । काठमाडौंबाट यात्रा सुरु गरी सातौं दिनमा सगरमाथाको चुचुरो चढेर काठमाडौं आइपुगेर विश्व रेकर्ड राख्ने बस्नेतको योजना छ ।
साना ठूला गरी बस्नेतले भरियाका रुपमा सगरमाथासहित आधा दर्जन बढी हिमालको आरोहण गरेका छन् । बस्नेतले चीनको तिब्बतमा रहेका दुई वटा हिमाल पनि चढेका छन् । ‘हिमाल चढ्ने पर्यटकको भारी बोक्ने मेरो पेसा हो । पढाइ भएन’, उनले भने, ‘हिमाल चढ्ने पर्यटकको भारी बोक्न शुरू गरे ।’ यस पटक उनले विश्व रेकर्डको लागि सगरमाथाको चुचुरो चुम्न लागेका हुन् ।
‘सगरमाथाको चुचुरोसम्म चार पटक चढेको छु । शिखरसम्मै पुगेको छु । नेपाल सरकारले भरियाको सर्टिफिकेट दिएको छ । सन् २००८, ९, १० र ११ मा सगरमाथा चढेको हुँ । कामदारको हैसियतले चढेको हुँ’, बस्नेतले भने, ‘हाइअल्टिच्युड पोर्टरको रुपमा सगरमाथा गएको हो ।
तर, अहिले रेकर्डको रुपमा म सगरमाथा चढ्न जान लागेको छु ।’ उनलाई सेभेन समिट कम्पनीले साथ र सहयोग गरेको छ । सेभेन समिटका निर्देशक मिङ्मा शेर्पाको समूहले १४ वटा हिमाल चढिसकेको छ ।
बस्नेतले तिब्बतको छोयु (८२०१ मिटर) हिमाल, तिब्बतकै सिसिपाङमा (८ हजारभन्दा माथि), आमादब्ला, मनास्लु, ६ हजार जति उचाइँ भएका मेरापिक, लघु पिक, पोबल्दे जस्ता हिमाल चढिसकेको बताए । ‘हामी कामदारको रुपमा गएका हौं । अफिसको रेकर्डमा हामीले हिमाल चढेको उल्लेख छ’, उनले अनुभव सुनाउँदै भने, ‘नेपालमा धेरै हिमाल छन् । धेरै नेपालीलाई आफ्नै देशको हिमालका बारेमा थाहा छैन । विदेशीहरू घुम्न आउँछन् । सगरमाथा चढ्छन् ।’
सगरमाथा चढ्नका लागि नेपाल सरकारसँग ६० देखि ७५ दिनको अनुमति लिइएको हुन्छ । सोही अनुसारको परमिट लिएर सगरमाथाको चुचुरोसम्म पुग्ने हो ।
‘सगरमाथाको चुचुरोमा पुग्न ३५ देखि ४० दिनसम्मको समय लाग्छ’, उनले भने, ‘काठमाडौंबाट लुक्ला फ्लाइटमा जान्छौँ । लुक्लाबाट बेशक्याम्प जान्छौँ । बेशक्याम्पमा जाँदा दुई ठाउँमा रेष्ट हुन्छ । सात क्याम्पपछि मात्रै बेश क्याम्पमा पुग्छौं । बेश क्याम्प पाँच हजार तीन सयको उचाइँमा रहेको छ । खुम्बु क्षेत्रको बेश क्याम्पलाई एभरेष्ट भन्छन् ।’
हिमाल चढ्ने साथीहरूसहित जाँदा लुक्लाबाट बेश क्याम्पसम्म पुग्न सात दिन लाग्छ । ‘नेपाली भरिया मात्रै जाने हो भने चार दिनमा पुग्छौँ । म विश्व रेकर्डको लागि काठमाडौंबाट समय तोकेर जाने हो । म दुई दिनमा लुक्लाबाट बेशक्याम्प पुग्नुपर्छ’, उनले भने, ‘सात दिनमा सगरमाथा चुचुरोमा पुगेर फर्कने हो ।’ उनले मौसम बिग्रियो भने नाम्चे, ट्याम्पुचेबाट अलिअलि हिउ पर्ने गरेको बताए ।
‘नत्र हिँउ परेको हुँदैन । बेश क्याम्पदेखि माथि पूरै हिँउ परेको हुन्छ । हिउँमा खुट्टा गाडीदैन । हामीलाई क्लाइम्बिङ जुत्ता दिइएको हुन्छ । सोही अनुसारको कपडा हुन्छ । जुत्तामा फ्रेमवम (काँडा) हुन्छ । त्यसले गर्दा चिप्लने सम्भावना हुँदैन’, उनले भने, ‘भरियाले बेश क्याम्पदेखि बेशक्याम्प दुईसम्म १५ किलो भारी बोकेको हुन्छ । कम्पनीअनुसार १० किलोदेखि भारि बनाएका हुन्छन् ।’
बस्नेतले भने, ‘त्यहाँ पुगेपछि पैसाको लोभ हुन्छ । माथि पुगेर भारी बोक्ने भनेको बोनस क्यारी हुन्छ । डबल भारी बोकियो भने एक सय ८० डलर दिने गरिन्छ । सोहीअनुसार पैसा पाउँछन् । भरियाले ५० किलोसम्म बोक्छन् । बेश क्याम्पमा खाने कुरा सकिदैन ।’
उनका अनुसार सपोर्टिङ शेर्पा दुई जना हुन्छन् । बेशक्याम्पसम्म भारी पु¥याउने भरिया छुट्टै हुन्छ । बेशक्याम्पसम्म हामी कसैले भारी बोक्नु पर्दैन । हामी बेश क्याम्पदेखि माथिको लागि सपोर्टर हो । सगरमाथा चुचुरोसम्म सबै गर्ने हामीले हो । बेशक्याम्पदेखि एक, दुई, तीन र चार गरी चार वटा बेश क्याम्प हुन्छ । अन्तिम बेश क्याम्पको उचाइँ सात हजार ९ सय मिटरमा रहेको छ । हामी क्याम्प वानमा बस्दैनौं ।
‘हामी दुई नम्बर बेश क्याम्पमा गएर बस्छौं । क्याम्प वानबाट क्याम्प दुईमा पुग्न दुई घण्टा लाग्छ । खुम्बो आइपोल डक्टरले बाटो बनाउँछन् । बाटो बनाउने टोली छुट्टै हुन्छ’, उनले भने, ‘मे १ सम्म सरकारी कर्मचारी नै बसेका हुन्छ । क्याम्प चारबाट चुचुरोसम्म पुग्न कहाली लाग्दो हुन्छ ।’
राति आठ बजेदेखि हिँडेको बिहान चार बजेसम्म सगरमाथाको चुचुरोसम्म पुग्नुपर्छ । दिउँसो सम्म एभरेष्टको चुचुरोमा भयौं भनेसकुशल फर्कने सम्भावना निकै कम हुने गरेको उनले बताए । ‘सगरमाथा चढ्नेहरूको सेफ्टीका लागि डोरी राखिएको हुन्छ । तलदेखि माथिसम्म नै फिक्स डोरी हुन्छ ।
डोरी विश्वासिलो हुन्छ’, उनले भने, ‘सगरमाथाको चुचुरोमा दश मिनेटसम्म बसेको छु । अक्सिजन बोकेर जाने हो । केही पनि सामान बोकेर हिँड्न सकिँदैन । हिमाल चढ्ने सदस्यको हामीले नै सबै हेरचाह गर्नुपर्छ ।’
उनले भने, ‘अक्सिजनदेखि पानीको बोतलसबै हामीले हेर्नुपर्छ । पानीको बोतल मात्रै चार किलो हुन्छ । अक्सिजन सक्कियो भने लाइफ सक्कियो । मेरो टिमको मान्छे मरेको छैन । तर, बाटोमा शवहरू थुप्रै हुन्छन् । आफ्नो ज्यानलाई माथिबाट तल ल्याउन समस्या भएको बेला शव ल्याउन समस्या पर्छ ।’
पर्यटक र भरियाले क्याम्प दुईसम्म दालभात नै खान्छन् । ‘त्योभन्दा माथि ड्राइफुट खान्छौँ । दिशा पिसाव प्लाष्टिकमा गरेर फाल्ने हो कसैले आफै बोकेर ल्याउँछ । बेश क्याम्पमा दिसा पिसाब राख्ने ठाउँ हुन्छ’, उनले भने, ‘दिसा पिसाव र फोहर बोक्नको लागि प्रतिकिलो एक सय ८० डलरसम्म लाग्छ । सगरमाथा चढ्न म मे १८ तारिख (जेठ ४ गते) जाँदैछु ।’
‘म र मेरो सर्पोटिङमा एक जना हुन्छ । सगरमाथा चढ्न मलाई १६ लाख जति खर्च लाग्छ । दोलखाको मेरै बिगु गाउँपालिकाले चार लाख ८९ हजार चार सय ७७ रुपियाँ सहयोग गरेको छ । प्यारगन स्कुलबाट साढे दुई लाख रुपियाँ र प्यारागन स्कुलमा कार्यरत एकजना अमेरिकन नागरिकले साढे दुई लाख रुपियाँ सहयोग गर्नुभएको छ’, उनले भने, ‘बेश क्याम्पमा नेट चलाउन पाइन्छ ।
एभरेष्ट लिङ्क कार्ड पाइन्छ । यो कार्डबाट रिचार्ज गर्न पाइन्छ । फेसबुकमा एक–दुई वटा फोटो पोस्ट गर्ने हो भने पाँच सय रुपियाँ जान्छ । चुचुरोमा नेट चल्दैन । सबैसँग सञ्चार सेट पनि हुन्छ । सञ्चार सेटबाट जाने हो ।’
उनका अनुसार सगरमाथाको चुचुरोमा बुद्धको मूर्ति राखिएको छ । सन् २००७ मा छिरिङ दोर्जे शेर्पाले बुद्ध जयन्तीका अवसरमा बुद्धको मूर्ति राखेका हुन् । दोलखा रोल्वालिङका पेम्बा दोर्जे शेर्पाले पनि बुद्धको मूर्ति राखेका छन् । म दश दिनभित्र सगरमाथा चढेर आउँछु । तर, यस पटक विश्व रेकर्ड राख्नु छ । सात दिनभित्र सगरमाथा चढेर काठमाडौं आइपुग्छु । यसअघि म पाँच दिनमा गन्तब्यमा पुगेको थिएँ ।’
अहिलेसम्म बेश क्याम्पबाट सबैभन्दा छिटो चढ्नेमा पेम्बा दोर्जेको नाम छ । उनी १२ घण्टामा चुचुरोमा पुगेका थिए । नेपाल सरकारले कर्मचारी राखेको हुन्छ । त्यो प्रमाण ल्याएर पर्यटन मन्त्रालयबाट प्रमाण पत्र बुझ्ने हो । काठमाडौंबाट सुरु गरेर एक हप्ताभित्र सगरमाथा चुचुरोमा पुगेर काठमाडौंमा आइपुग्छु । विश्व रेकर्ड राख्छु ।
भारी बोक्ने प्रसंग जोड्दै उनी भन्छन्–‘आफूले जति बोक्न सक्यो त्यति कमाइ हुन्छ’, कम्पनीले दिने भनेको दैनिक एक हजार रुपैयाँ हो । माथि पुगेपछि जति भारी बोक्न सक्यो त्यति कमाइ हुन्छ । हामी तीन गुणासम्म भारी बोक्छौं । अर्थात चार सय पचास डलर दिनमा कमाइ हुन्छ । नेपाली रुपियाँ ४५ हजारसम्म कमाइ हुन्छ ।’ (बस्नेतसँग गरिएकाे कुराकानीमान आधारित)
प्रतिक्रिया